भेरी अस्पतालमा ६५७ एचआईभी सङ्क्रमित एआरटी सेवामा

बाँके, १८ साउन  ।

भेरी अस्पताल नेपालगञ्जबाट आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ६५७ जना एचआईभी सङ्क्रमितले निःशुल्क एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन्। अस्पतालको १३६ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘स्मारिका’ मा समावेश तथ्याङ्कले एआरटी सेवामा रहेका सेवाग्राही मध्ये वयस्क पुरुषको संख्या सबैभन्दा बढी रहेको देखाएको छ ।

प्रकाशित तथ्याङ्कअनुसार एआरटी सेवा लिइरहेका ६५७ जनामध्ये ३३४ जना वयस्क पुरुष, २८१ जना वयस्क महिला, १० जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, १५ जना बालिका तथा १७ जना बालक रहेका छन् । यसले एचआईभी सङ्क्रमणको उपचारका लागि अस्पतालमा नियमित रूपमा सेवाग्राहीको पहुँच बढ्दै गएको संकेत गरेको छ ।

अस्पतालका अनुसार एआरटी सेवा लिइरहेका सङ्क्रमितमध्ये आर्थिक वर्षभरिमा ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ जना महिला र ४ जना पुरुष रहेका छन् । त्यसैगरी २८ जना उपचारबाट सम्पर्कविहीन भएका छन्, जसमा २१ जना पुरुष र ७ जना महिला छन् । उपचारको निरन्तरता कायम राख्न २६ जनालाई अन्य एआरटी केन्द्रमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण हुनेमा ११ जना वयस्क महिला, १० जना वयस्क पुरुष, २ जना बालिका र ३ जना बालक रहेका छन् ।

भेरी अस्पतालले एचआईभी सङ्क्रमितलाई नियमित एआरटी सेवा, स्वास्थ्य परामर्श, औषधी वितरण, प्रयोगशाला परीक्षण, मनोसामाजिक परामर्श तथा उपचारको निरन्तर अनुगमन गर्दै आएको जनाएको छ । 

अस्पतालका अनुसार समयमै परीक्षण गरी नियमित रूपमा एआरटी औषधी सेवन गर्ने व्यक्तिको स्वास्थ्य अवस्था सुधार हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने तथा संक्रमणको जोखिम उल्लेखनीय रूपमा घट्ने भएकाले उपचारलाई निरन्तरता दिन अत्यन्त आवश्यक छ ।

अस्पतालका चिकित्सकहरूका अनुसार एचआईभी अहिले दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सकिने स्वास्थ्य अवस्था बनेको छ । नियमित औषधि सेवन, चिकित्सकीय निगरानी र स्वस्थ जीवनशैली अपनाउने हो भने सङ्क्रमित व्यक्तिले पनि सामान्य जीवनयापन गर्न सक्ने अवस्था रहेको उनीहरूको भनाई छ । साथै, एचआईभीका बारेमा रहेका भ्रम र सामाजिक विभेद अन्त्य गर्दै समयमै परीक्षण तथा उपचारमा जोडिन सबैलाई आग्रह गरिएको छ ।

नेपाल सरकारले राष्ट्रिय एचआईभी नियन्त्रण कार्यक्रम अन्तर्गत देशभरका तोकिएका एआरटी केन्द्रमार्फत सङ्क्रमितलाई निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ । भेरी अस्पताल लुम्बिनी प्रदेशकै प्रमुख एआरटी सेवा केन्द्रमध्ये एक भएकाले बाँकेसहित बर्दिया, दाङ, सुर्खेत तथा आसपासका जिल्लाका सेवाग्राहीले समेत यहाँबाट नियमित उपचार सेवा लिइरहेका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार एचआईभी नियन्त्रणमा सबैभन्दा प्रभावकारी उपाय समयमै परीक्षण, नियमित उपचार, सुरक्षित व्यवहार तथा समाजमा चेतना अभिवृद्धि गर्नु हो । यसका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, समुदाय तथा सरोकारवाला सबैको साझा प्रयास आवश्यक रहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालमा ६५७ एचआईभी सङ्क्रमित एआरटी सेवामा

घोषणामा मात्र ‘मेडिकल कलेज’

भेरी अस्पतालमा ६५७ एचआईभी सङ्क्रमित एआरटी सेवामा

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न

Leave a comment

Your email address will not be published. Required fields are marked *