सिक्टा सिँचाइको पानीले बाँकेका किसानलाई राहत

बाँके, १२ साउन ।
मनसुन कमजोर बन्दा बाँकेमा पर्याप्त वर्षा हुन सकेको छैन । आकाशबाट पानी नपरेपछि धान रोपाइँ प्रभावित हुने चिन्ता बढिरहेका बेला राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नहरबाट खेतसम्म पुगेको पानी भने किसानका लागि ठूलो सहारा बनेको छ । नहरमा समयमै पानी प्रवाह भएपछि किसानले ढिलो हुने चिन्ता त्याग्दै धमाधम धान रोपाइँ सुरु गरेका छन् ।
सिक्टा सिँचाइ आयोजनाको नहरबाट पानी पुगेपछि कोहलपुर, खजुरा, जानकी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाका केही वडाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । पर्याप्त वर्षा नहुँदा खेती प्रभावित हुने अवस्था रहे पनि नहरको पानीले किसानलाई समयमै रोपाइँ गर्न सहज भएको छ ।
राप्तीसोनारी गाउँपालिकाका कृषक चित्रा बिष्ट र अभिषेक थापाले नहरको पानीका कारण वर्षाको भरमा मात्रै बस्नुपर्ने अवस्था हटेको बताए । उनीहरूका अनुसार समयमै सिँचाइ सुविधा उपलब्ध हुँदा खेती गर्न सहज भएको छ भने उत्पादन बढ्ने आशा पनि पलाएको छ ।
सिक्टा सिँचाइ आयोजनाले बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। आयोजनाका अनुसार हालसम्म करिब २२ हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा विस्तार भएको छ ।
निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप क्षेत्रका किसानले पनि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ । तर आयोजनाको मूल नहर निर्माणमा कमजोर गुणस्तरको काम तथा भ्रष्टाचार भएको भन्दै परेको मुद्दा र कानुनी प्रक्रियाका कारण राष्ट्रिय गौरवको यो आयोजना पूर्ण रूपमा सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ । सिक्टा सिँचाइ आयोजना बाँकेका इन्जिनियर विकास बिष्टले बाँकी संरचना निर्माण सम्पन्न भएसँगै थप क्षेत्रफलमा सिँचाइ सेवा विस्तार हुने बताए ।
पर्याप्त वर्षा नभए पनि समयमा नहरमा पानी पुगेकाले किसान उत्साहित भएका छन् । सिँचाइ सुविधा विस्तारसँगै यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरिएको छ । कृषि उत्पादनको मुख्य आधार मानिने सिँचाइ व्यवस्थाले किसानको उत्पादन लागत घटाउनुका साथै उत्पादन र आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यद्यपि, सिक्टा सिँचाइ आयोजना आफ्नो लक्ष्यअनुसार पूर्ण रूपमा सम्पन्न हुन अझै बाँकी रहेकाले किसानले आयोजना छिटो सम्पन्न गरी बाँकेका सबै खेतीयोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन ्। आयोजना समयमै सम्पन्न हुन सके बाँकेलाई कृषि उत्पादनमा थप आत्मनिर्भर बनाउने र किसानको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।






