नेपालगञ्जमा २२ हजार क्विन्टल चामल मौज्दात, मूल्य घटेपछि बजार माग बढ्यो

बाँके,४ बैशाख ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयमा हाल २२ हजार क्विन्टल चामल र ९ हजार ८ सय क्विन्टल धान मौज्दात रहेको छ। कार्यालयका अनुसार पर्याप्त स्टकसँगै माग अनुसार आपूर्ति व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ।
कार्यालय प्रमुख रामसरण लामिछानेका अनुसार गोदाममा स्टीम जिरा मसिनो ६ हजार, अरुवा मसिनो ५ हजार र अरुवा मोटो ११ हजार क्विन्टल चामल उपलब्ध रहेको छ। त्यस्तै, ४ हजार ८ सय क्विन्टल अरुवा मोटो र ५ हजार क्विन्टल अरुवा मसिनो धान कुटानका लागि बाँकी अवस्थामा मौज्दात रहेको जानकारी दिइएको छ।
कम्पनीले गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्दै आएको छ भने माग अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने तयारी समेत गरिएको जनाएको छ। खाद्य आपूर्ति सहज बनाउन आवश्यकतानुसार ढुवानी व्यवस्थापन मिलाइने पनि कार्यालयले जनाएको छ।
यस वर्ष चामलको मूल्य समायोजन भई प्रतिक्विन्टल ५ सयदेखि ६ सय रुपैयाँसम्म घटेपछि बजारमा माग उल्लेखनीय रूपमा बढेको कम्पनीको भनाइ छ। साथै, न्यूनतम खाद्य सुरक्षा मौज्दात कायम राख्नुपर्ने सरकारी नीतिका कारण पनि स्टक बढेको बताइएको छ।
कर्णाली प्रदेशका विभिन्न डिपोहरूमा चामल पर्याप्त भए पनि मूल्य महँगो भएको गुनासो आएपछि कम्पनीले अरुवा मोटो चामलमा प्रतिक्विन्टल ५ सय रुपैयाँ छुट दिएको छ। नयाँ वर्षको अवसर पारेर उक्त छुट योजना लागू गरिएको हो।
कम्पनीका अनुसार चालु आर्थिक वर्षमा बाँके जिल्लाबाट २० हजार क्विन्टल धान खरिद गरिएको छ। सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान ३ हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ। यसले किसानलाई उचित मूल्य सुनिश्चित गर्नुका साथै बजार आपूर्ति सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालगञ्जमा २२ हजार क्विन्टल चामल मौज्दात, मूल्य घटेपछि बजार माग बढ्यो

ट्राउट माछापालनबाट आत्मनिर्भर बन्दै जुम्लाका युवा

नेपालगञ्जमा २२ हजार क्विन्टल चामल मौज्दात, मूल्य घटेपछि बजार माग बढ्यो

सामाजिक परिचालक र सुपरभाइजरका लागि जीवन उपयोगी

Leave a comment

Your email address will not be published. Required fields are marked *