बाँकेमा कडा कुपोषणका बिरामी बढ्दै, तथ्याङ्कले देखायो गम्भीर अवस्था
सरला सुवेदी
बाँके, ३ बैशाख ।
बाँकेमा बालबालिकामा कुपोषणको समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षका विवरणले कडा तथा मध्यम कुपोषणका बिरामी निरन्तर बढ्दै गएको संकेत दिएका छन् । स्वास्थ्यकर्मीले विशेषगरी किशोरी अवस्थादेखि नै पोषणमा ध्यान नदिए समस्या अझ जटिल बन्दै जाने चेतावनी दिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४४२ बालबालिकामा कडा कुपोषण देखिएको थियो भने २०८१/८२ मा यो संख्या बढेर ५५८ पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनामै ३२८ बालबालिकामा कडा कुपोषण पुष्टि भइसकेको छ । त्यस्तै मध्यम तथा कडा कुपोषणका बिरामी पनि बढ्दो क्रममा छन् । २०८०/८१ मा १०६, २०८१/८२ मा २१३ र चालु वर्षको ८ महिनामै ८९६ बालबालिकामा यस्तो समस्या देखिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लका अनुसार किशोरी अवस्थादेखि नै पोषणको कमी हुनु कुपोषणको मुख्य कारण बनेको छ । कम उमेरमै गर्भधारण गर्नु, कम तौल र रक्तअल्पताबाट ग्रसित किशोरीबाट जन्मिने शिशुमा कुपोषणको जोखिम उच्च हुने गरेको उनले बताइन् ।
नेपालगञ्जस्थित भेरी अस्पतालको कुपोषण पुनःस्थापना केन्द्रमा बाँकेसँगै बर्दिया, सुर्खेत, जाजरकोट र दाङबाट समेत कुपोषित बालबालिका उपचारका लागि आउने गरेका छन् । अस्पतालका अनुसार नेपालगञ्ज उपमहानगरपालिका भन्दा गाउँपालिकाहरूमा कुपोषणको समस्या बढी देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाकी टीका केसी आफ्नी ६ महिनाकी छोरीको कम तौलका कारण उक्त केन्द्रमा उपचार गराइरहेकी छन् । उपचारपछि छोरीको तौल केही बढे पनि अझै केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको उनले बताइन् । त्यस्तै, बाँकेको बनकटवाकी निर्मला यादव पनि आफ्नी ७ महिनाकी छोरीको उपचारका लागि केन्द्रमा पुगेकी छन् ।
किशोरीमा देखिएको रक्तअल्पता पनि कुपोषणको प्रमुख कारणका रूपमा देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म गरिएको परीक्षणअनुसार ०.४ प्रतिशत किशोरीमा ८ पिन्टभन्दा कम रगत पाइएको छ भने १९ प्रतिशत किशोरीमा ८ देखि ११ पिन्ट मात्रै रगत देखिएको छ, जबकि सामान्यतया १२ पिन्ट हुनुपर्ने मानिन्छ ।
भेरी अस्पताल बाँकेकी स्टाफ नर्स सरस्वती शर्माका अनुसार देशभरका ७७ जिल्लामध्ये बाँकेमा कडा कुपोषणका बिरामीको संख्या उच्च रहेको छ । उनले कुपोषण न्यूनीकरणका लागि बालबालिकासँगै आमाको पोषण र स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
कुपोषण नियन्त्रणका लागि स्वास्थ्य निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ । सानै उमेरदेखि पोषणयुक्त आहार, स्वास्थ्य सचेतना र नियमित निगरानीमा ध्यान दिन सके मात्र दीर्घकालीन रूपमा यो समस्या समाधान गर्न सकिने देखिन्छ ।





