बालिका शिक्षा कार्यक्रमका कर्मचारीहरुको लागि जिवनोपयोगी सीप तथा मेन्टोरिङ्ग तालिम संचालन

कपिलवस्तु, ४ बैशाख ।
बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमअन्तर्गत

बालिका शिक्षा कार्यक्रमका कर्मचारीहरुको लागि जिवनोपयोगी सीप तथा मेन्टोरिङ्ग तालिम सञ्चालन गरिएको छ। रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा पिस नेपालको आयोजनामा सञ्चालन भएको उक्त तालिमले सहभागीहरूमा व्यवहारिक ज्ञान र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको बताइएको छ।


तालिममा जीवन उपयोगी सीपका १० वटा मुख्य तत्त्वबारे विस्तृत छलफल गर्नुका साथै विद्यालयमा समस्या भोगिरहेका बालबालिकालाई कसरी प्रभावकारी रूपमा मेन्टरिङ गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने छ। तालिमको सहजीकरण रूम टु रिडका कार्यक्रम अधिकृत निरोज कोइरालाले गरिरहनुभएको छ।

सहभागी सामाजिक परिचालकहरूले तालिमबाट आफूमा समेत सकारात्मक परिवर्तन आएको र त्यसले विद्यालयमा बालबालिकासँग काम गर्न सहज हुने बताएका छन्।
कार्यक्रम कपिलवस्तु जिल्लाका तीन पालिकाका १५ विद्यालयमा सञ्चालन भइरहेको छ। यस कार्यक्रमले बालबालिकामा, विशेषगरी छात्राहरूमा आत्मविश्वास, उत्साह र साहस अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।


पिस नेपालका सचिव शुभाकान्त भुषालले जीवन उपयोगी सीप शिक्षाले बालबालिकाको आत्मबल बढाउनुका साथै उनीहरूलाई भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन सहयोग गर्ने बताउनुभयो। उहाँका अनुसार सामाजिक परिचालकहरू स्वयं रोल मोडेलका रूपमा प्रस्तुत हुनुपर्ने भएकाले जीवन उपयोगी सीपका तत्त्वहरूलाई व्यवहारमा लागू गर्नु अपरिहार्य छ। “हामी आफैंमा सकारात्मक परिवर्तन ल्याउन सक्यौँ भने मात्र बालबालिकामा प्रभावकारी रूपमा परिवर्तन ल्याउन सक्छौँ,” उहाँले भन्नुभयो।


कार्यक्रममार्फत बालबालिकालाई जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्दै आत्मविश्वास अभिवृद्धि गर्ने विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। बालबालिकाहरुलाई आफ्ना अधिकारबारे सचेत बनाउने, भविष्यको पेशा छनोटमा मार्गदर्शन गर्ने, यौनजन्य हिंसा तथा दुर्व्यवहार रोकथामबारे जानकारी दिने, चिनेजानेकाबाट हुन सक्ने हिंसाका जोखिमबारे सचेत गराउने, व्यक्तिगत शैक्षिक योजना निर्माण गर्न सिकाउने जस्ता विषयमा विशेष जोड दिइने छ।
तालिममा सहभागी सामाजिक परिचालकहरूले म्यानुअलअनुसार जीवन उपयोगी सीप सत्र सञ्चालन गरी विद्यालयका बालबालिकामा व्यवहारिक तथा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन्।


कार्यक्रमको सञ्चालन पिस नेपालका कार्यक्रम अधिकृत महेश हिताङ्गले गर्नुभएको थियो भने अध्यक्षता सचिव शुभाकान्त भुषालले गर्नुभएको थियो। कार्यक्रममा कार्यक्रम व्यवस्थापक नारायण पौडेल, कार्यक्रम अधिकृत शैब्या पण्डित , कान्ति भट्ट लगायत तीनै पालिकाका सामाजिक परिचालकहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले सामाजिक परिचालक सङ्गसङ्गै विद्यालयका बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बालिका शिक्षा कार्यक्रमका कर्मचारीहरुको लागि जिवनोपयोगी सीप तथा मेन्टोरिङ्ग तालिम संचालन

नेपालगञ्जमा २२ हजार क्विन्टल चामल मौज्दात, मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *