लुम्बिनीमा पर्यटक सूचना बोर्ड स्थापना
रुपन्देही ,११ चैत ।
बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा पर्यटक सूचना बोर्ड राखिएको छ ।
सूचना बोर्डको मङ्गलवार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरूलाई लुम्बिनीको इतिहास र महत्वको बारेमा जानकारी दिने उद्देश्यले सूचना बोर्ड राखिएको विकास कोषले जनाएको छ ।
सूचना बोर्ड उद्घाटन अघि नेपाल पर्यटन बोर्ड मार्फत कार्यान्वयन तथा अनुगमन हुने युएनडिपीको दिगो विकास परियोजनाको कार्यक्रमहरूको बारेमा छलफल भएको थियो ।
छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा, सदस्य सचिव दिपक श्रेष्ठ, कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बे, युएनडिपी नेपालका उप(आवासीय प्रतिनिधि जुलियन सेभिया, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी, कोकाकोला कम्पनी भारतका निर्देशक आदित्य पान्डा र लुम्बिनी विकास कोषका अधिकारीहरूको सहभागिता रहेको थियो ।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी गुरुयोजनाभित्र गर्न सकिने सम्भावित विकास परियोजनाहरूको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हल परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।




