ग्यास अभावले जुम्लामा पहिलोपटक लाइन, ट्रकबाटै वितरण
गाेल्डेन बुढा
जुम्ला ,३० फाल्गुन ।
कर्णाली राजमार्ग सञ्चालनमा आएपछि तुलनात्मक रूपमा सहज मानिँदै आएको एलपी ग्यास आपूर्ति प्रणाली जुम्लामा यसपटक भने असहज बनेको छ। जिल्लामा ग्यास अभाव बढेपछि पहिलोपटक उपभोक्ताहरूले सडकमा लाइनमा बसेर ग्यास लिनुपर्ने अवस्था सिर्जना भएको छ।जुम्ला सदरमुकाम खलंगास्थित बसपार्क आसपासको सडक शनिबार बिहानैदेखि ग्यास लिन आउने उपभोक्ताको भीडले भरिएको थियो। उपभोक्ताहरू हातमा सिलिन्डर बोकेर लामो लाइनमा उभिएका थिए। दिउँसो १२ बजेदेखि वितरण सुरु गरिएको ग्यास बोकेको ट्रकबाटै उपभोक्तालाई सिधै वितरण गरिएको हो।पहिलो दिन पाँच सय सिलिन्डर ग्यास वितरण गरिएको लगन स्टोर एन्ड सप्लायर्सका सञ्चालक पृथ्वीबहादुर शाहीले बताए। उनका अनुसार जिल्लामा बढ्दो मागका कारण सीमित आपूर्तिले बजारमा अभाव देखिएको हो।जिल्लामा ग्यास अभाव बढ्दै गएपछि उपभोक्ता ठगिने सम्भावना कम गर्न सिधै डिलरबाट लाइनमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
प्रशासनका अनुसार यसरी खुला रूपमा वितरण गर्दा कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ।निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलका अनुसार आइतबार थप तीन सय सिलिन्डर ग्यास वितरण गरिने तयारी गरिएको छ। यस्तै सदरमुकाममा रहेको बुढा जनरल स्टोरले पनि ग्यास बोकेको गाडी पठाइसकेको जानकारी प्रशासनलाई दिएको छ।जिल्ला प्रशासन कार्यालयका अनुसार जुम्ला सदरमुकाम खलंगामा मात्र मासिक करिब दुई हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेको छ। तर आपूर्ति अनियमित हुँदा कहिलेकाहीँ बजारमा अभाव देखिने गरेको छ।हाल डिलरहरूबाट प्रति सिलिन्डर दुई हजार दुई सय रुपैयाँमा ग्यास वितरण भइरहेको छ भने आधा भरिएको सिलिन्डरको मूल्य एक हजार दुई सय रुपैयाँ तोकिएको छ। बजारमा भने कतिपय स्थानमा मूल्य अझै बढाएर बेच्ने गुनासोसमेत उपभोक्ताबाट आउने गरेको प्रशासनले जनाएको छ।ग्यास वितरण स्थलमा सम्भावित भीड र अव्यवस्था नियन्त्रण गर्न बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो।यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लामा निमित्त प्रमुख जिल्ला अधिकारी रावलको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले एलपी ग्यासको अभाव हुन नदिन अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने निर्णय गरेको थियो।प्रशासनले बजार नियमन कडा पार्दै ग्यास डिलरहरूलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। बैठकले ग्यासको आपूर्ति व्यवस्थापनलाई पारदर्शी बनाउने र कृत्रिम अभाव हुन नदिने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।‘जिल्लामा ग्यासको कृत्रिम अभाव देखिन थालेको गुनासो आएको छ। यसलाई नियन्त्रण गर्न डिलरहरूले ग्यास किनेको र बेचेको स्पष्ट अभिलेख राख्न भनिएको छ,’ निमित्त प्रमुख जिल्ला अधिकारी रावलले भने।अब डिलरहरूले ग्यास जिल्ला भित्र्याएदेखि उपभोक्तासम्म बिक्री भएको प्रत्येक सिलिन्डरको विवरण राख्नुपर्नेछ।
डिलरबाट कति सिलिन्डर आयो, कसलाई कति वितरण भयो भन्ने विवरणसमेत प्रशासनलाई उपलब्ध गराउनुपर्ने निर्णय बैठकले गरेको छ।‘ग्यास जिल्ला भित्रिएकोदेखि उपभोक्तासम्म पुगेको विवरणसम्मको अभिलेख प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ,’ रावलले भने।हाल जुम्लाको सदरमुकाम खलंगामा प्रतिग्यास सिलिन्डर २ हजार २ सयदेखि २ हजार २ सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ।यता सिंजा गाउँपालिका–६ का हिरबहादुर रोकायाले ग्यास अभावको असर सबैभन्दा बढी बजारमा भाडामा बस्ने, विद्यार्थी, कर्मचारी र होटल व्यवसायीहरूलाई परेको बताए। उनका अनुसार नियमित आपूर्ति नहुँदा दैनिक उपभोगमा समस्या बढ्दै गएको छ।‘ग्यास नपाउँदा होटल चलाउन, खाना पकाउन र दैनिक जीवन धान्नै गाह्रो भएको छ,’ उनले भने, ‘सबैभन्दा बढी मार भाडामा बस्ने, विद्यार्थी र साना व्यवसायीहरूलाई परेको हो।





