घर–घरमै मतदाता शिक्षा अभियान : नरैनापुरमा बदर मत न्यून गर्ने लक्ष्य

बाँके ,१२ फाल्गुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नरैनापुर गाउँपालिका मा मतदाता शिक्षा अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र व्यवस्थित बनाउन तथा बदर मत न्यून गर्न गाउँपालिकाभर स्वयंसेवकहरू गाउँ–बस्ती तथा घर–घरमै पुगेर मतदातालाई सचेत गराइरहेका छन्।
गाउँपालिकाको समन्वयमा फागुन ३ गतेदेखि सुरु गरिएको अभियान अन्तर्गत प्रारम्भिक चरणमा बस्ती–बस्तीमा सामूहिक रूपमा मतदाता शिक्षा प्रदान गरिएको थियो। हाल भने स्वयंसेवकहरू घरदैलो अभियानमार्फत प्रत्येक मतदातासम्म पुगेर मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका, मत बदर हुने अवस्था र त्यसबाट जोगिने उपायबारे जानकारी गराइरहेका छन्।

नरैनापुर गाउँपालिका–१ की मतदाता रिना यादवले स्वयंसेवकहरू समयमै गाउँमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी भएपछि यसपटक आफ्नो मत बदर नहुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।
“मत कसरी बदर हुन्छ, मतपत्रमा सही तरिकाले कसरी मतदान गर्ने र आफ्नो मत आफैं कसरी खसाल्ने भन्ने कुरा स्पष्ट रूपमा बुझ्न पाएँ,” यादवले भन्नुभयो, “पहिला अलि अन्योल थियो, तर अहिले ढुक्क छु।”
मतदाता शिक्षा कार्यक्रमको अनुगमन गरिरहनुभएकी गाउँपालिकाकी सूचना प्रविधि अधिकृत तथा मतदाता शिक्षा अनुगमनकर्ता जुना शाहीका अनुसार अभियानलाई चरणबद्ध रूपमा सञ्चालन गरिएको छ। “सुरुमा सामूहिक रूपमा कक्षा सञ्चालन गर्यौं। अहिले घर–घरमै पुगेर प्रत्यक्ष रूपमा मतदातालाई जानकारी दिइरहेका छौं,” उहाँले भन्नुभयो।
उहाँका अनुसार मतदाता शिक्षाका लागि तयार पारिएका पाठ्यसामग्री, नमुना मतपत्र र व्यवहारिक अभ्यासमार्फत मतदातालाई मतदान प्रक्रिया सिकाइँदै आएको छ। “मतपत्रमा कसरी छाप लगाउने, एकभन्दा बढी स्थानमा छाप लगाए के हुन्छ, मतपत्र च्यातिए वा चिन्ह बिग्रिए के हुन्छ भन्ने विषयमा स्पष्ट जानकारी दिइरहेका छौं,” शाहीले बताउनुभयो।
अघिल्ला निर्वाचनमा देखिएको बदर मतको अवस्थालाई मध्यनजर गर्दै यसपटक विशेष रूपमा सचेतना अभियानलाई तीव्र बनाइएको गाउँपालिकाले जनाएको छ। मतदाताले विषयवस्तु राम्रोसँग बुझेको देखिएकाले यस अभियानले बदर मत उल्लेख्य रूपमा घटाउने विश्वास लिइएको छ।
गाउँबस्तीका मतदाताले उत्साहपूर्वक समय दिएर कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा गाउँपालिकाले सन्तुष्टि जनाएको छ। अभियान फागुन १७ गतेसम्म निरन्तर सञ्चालन हुने र सो अवधिसम्म सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिने लक्ष्य राखिएको छ।
स्थानीय तहको सक्रियता, स्वयंसेवकहरूको लगनशीलता र मतदाताको सहभागिताले नरैनापुरमा यसपटक मतदान प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। घर–घरमै पुगेको मतदाता शिक्षा अभियानले मतदातामा आत्मविश्वास बढाउनुका साथै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।






