कर्णाली स्वास्थ्य प्रतिष्ठानमा सर्वपक्षीय सुझाव: सेवा सुधार र गुणस्तरमै केन्द्रित बहस
गाेल्डेन बुढा
जुम्ला,११ चैत ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले संस्थागत समृद्धि र दिगो विकासको खाका तयार पार्न सर्वपक्षीय सुझाव संकलन गरेको छ । राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र सरोकारवाला निकायको सहभागितामा आयोजित कार्यक्रममा प्रतिष्ठानको उपलब्धि र चुनौती दुवैलाई एकैसाथ केलाइएको छ ।सरोकारवालाले दुर्गम कर्णालीमा स्थापना भई अल्प समयमा नै उल्लेखनीय प्रगति हासिल गर्नु गर्वको विषय भएको भन्दै चिकित्सा शिक्षाको गुणस्तर जोगाउँदै सेवा प्रवाहतर्फ समान रूपमा ध्यान दिनुपर्ने औंल्याएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पाँच वर्षको यात्रामा यस्तो सर्वदलीय संवाद प्रभावकारी भएको भन्दै निरन्तरताको आवश्यकता औंल्याए । पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठान स्थापनामा योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा प्रस्तुत प्रतिवेदनले प्रतिष्ठानको प्रगति, उपलब्धि र चुनौतीको यथार्थ चित्र प्रस्तुत गरेको थियो । शिक्षाध्यक्ष डा. डबलसिंह धामीले शैक्षिक गतिविधि र उपलब्धि प्रस्तुत गर्दा नर्सिङ निर्देशक सविना थापाले सेवा प्रवाह, सुधारका प्रयास, चुनौती र सम्भावनाबारे विस्तृत जानकारी दिइन् ।सेवा सुधारलाई केन्द्रमा राखेर गरिएको छलफलमा उठेका अधिकांश सुझाव स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र विश्वसनीयतासँग सम्बन्धित थिए । प्रतिष्ठानका रजिष्ट्रार लक्ष्मी महतका अनुसार प्राप्त सुझावका आधारमा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।छलफलमा नेपाली कांग्रेस जुम्लाका पार्टी सभापति कर्णबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टीका नेता विष्णबहादुर (महत) गौरव लगायतले प्रतिष्ठानलाई ‘रेफरल सेन्टर’को सीमित भूमिकाबाट मुक्त गर्नुपर्नेमा जोड दिए । उनीहरूले स्थानीयस्तरमै प्रभावकारी उपचार सुनिश्चित गरी बिरामीलाई बाहिर पठाउने बाध्यता घटाउन आग्रह गरे ।सर्वपक्षीय छलफलमा सहभागीहरूले सेवा विश्वसनीय, छरितो र सर्वसुलभ हुनुपर्नेमा जोड दिँदै ओपिडी भीड व्यवस्थापन, औषधिको नियमित आपूर्ति, अस्पताल परिसरको फोहोर व्यवस्थापन तथा सेवाग्राहीमैत्री वातावरण निर्माण अपरिहार्य रहेको बताएका थिए । अस्पतालमै औषधि नपाइने अवस्था अन्त्य गर्नुपर्ने उनीहरूको साझा धारणा थियो ।कोरोना महामारीका बेला प्रतिष्ठानले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि संकट व्यवस्थापनमा त्यही तत्परता कायम राख्नुपर्ने सुझाव दिइयो । उपकुलपति डा. पुजन कुमार रोकायाले प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विगत तीन वर्षमा सामाजिक सेवा इकाइमार्फत २९ लाख ९० हजार १ सय ३९ रुपैयाँ बराबरको सेवा प्रदान गरिएको जानकारी दिए, जसले विपन्न र असहाय बिरामीलाई राहत पुगेको स्मरण गरायो ।प्रतिष्ठानमा हाल ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने शिक्षक र कर्मचारी गरी १ सय २० जना चिकित्सकले सेवा दिइरहेका छन् । दीक्षान्त समारोहमार्फत ५८ भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् ।
कक्षाकोठाबाट समुदायसम्म विस्तार गरिएका शैक्षिक कार्यक्रम र काउन्सिल परीक्षामा सतप्रतिशत नतिजाले शैक्षिक पक्ष सुदृढ रहेको संकेत गर्छ ।यद्यपि, सहभागीहरूले चिकित्सक दीर्घकालीन रूपमा टिकाउने वातावरण निर्माण, बीमा सेवामा अपूर्णता, फार्मेसीमा औषधि अभाव, कर्मचारी व्यवस्थापनमा पारदर्शिता अभाव जस्ता चुनौती तुरुन्त समाधान गर्नुपर्ने धारणा राखे । प्रतिष्ठान कर्मचारी भर्ती केन्द्रजस्तो देखिन थालेको टिप्पणी गर्दै समायोजन र व्यवस्थापन सुधार आवश्यक भएको उल्लेख भए।अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य, ओपिडी सेवा विस्तार, बिरामी तथा कुरुवाको सुरक्षा प्रत्याभूति, सेवा प्रवाहमा समानता, जनगुनासो सम्बोधन र आकस्मिक सेवाको प्रभावकारिता बढाउनुपर्नेमा विशेष जोड दिइएको छ । साथै, संस्थागत सुशासन, पारदर्शिता, कर्मचारी अनुशासन र विद्यार्थीका लागि सुरक्षित आवास व्यवस्था सुनिश्चित गर्नुपर्ने सुझाव राखिएका थिए।छलफलमा उठेका यी मुद्दा कार्यान्वयनमा आएमा कर्णालीमा स्वास्थ्य सेवाको स्वरूपमै गुणात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । प्रतिष्ठानमा चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ कार्यक्रम सञ्चालनमा छन् । स्कुल अफ मेडिसिनअन्तर्गत एमबीबीएस, एमडी र एमएस; स्कुल अफ फार्मेसीअन्तर्गत ब्याचलर इन फार्मेसी र मास्टर इन फार्मेसी; स्कुल अफ नर्सिङअन्तर्गत बीएस्सी नर्सिङ, ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ मिडवाइफरी साइन्स; स्कुल अफ पब्लिक हेल्थअन्तर्गत ब्याचलर अफ पब्लिक हेल्थ र मास्टर इन पब्लिक हेल्थ सञ्चालनमा छन् ।हाल एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएनएसमा २०, बीपीएचमा २०, बीएस्सी नर्सिङमा २० र बीफर्मामा २० जना अध्ययनरत छन् । प्रतिष्ठानले ग्रामीण स्वास्थ्य, जनस्वास्थ्य र फार्मेसीमा पीएचडी तहका कार्यक्रम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेको छ ।





