शिक्षा योजनाको समिक्षा गर्दै कार्ययोजना निर्माण

सल्यान, ८ असोज ।
सल्यानको तीन वटा स्थानीय तहको शिक्षा योजना पहिलो पटक समिक्षा गरिएको छ । सिद्ध कुमाख, त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाको दश वर्षे शिक्षा योजनाको समिक्षासहित कार्य योजना समेत निर्माण गरिएको छ ।
युरोपियन यूनियनको सहयोगमा सञ्चालित एक्सेस परियोजनामार्फत स्थानीय शिक्षा योजनाको समिक्षा गर्दै कार्ययोजना निर्माण गरिएको हो । स्थानीय सरकार, विद्यालय तथा समुदायका सरोकारवालाहरु बिच समावेशी शिक्षाका लागि पालिकाका प्राथमिकताहरु पहिचान गरेर स्पष्ट भूमिका र जिम्मेवारी निर्धारण गर्न योजना समिक्षा गरिएको हो । यसैगरी चालु शैक्षिक वर्षमा सञ्चालन गर्न सकिने कार्यहरु तयार गरेर कार्यान्वयनका गर्न पनि उक्त कार्यक्रम गरिएको त्रिवेणी गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत गणेशप्रसाद आचार्यले जानकारी दिए ।
सम्बन्धित पालिकाहरुमै फरक फरक मितिमा गरिएको कार्यक्रमहरुमा एक्सेस परियोजना अन्तर्गत सञ्चालित र अनुदान प्राप्त नागरिक समाज संस्था दलित विकास समाजमार्फत भईरहेका कार्यक्रमहरुको जानकारी गराईएको थियो । यस क्रममा पालिकाको दश वर्षे शिक्षा योजनामा रहेका समावेशी शिक्षाका प्राथमिकताहरु बारेमा शिक्षा शाखाले जानकारी गराएका थिए ।
कार्यक्रममा पालिकाहरुले शैक्षिक प्राथमिकताहरु तथा बजेट विनियोजनको अवस्था, समावेशी शिक्षाको वर्तमान अवस्था, तथ्याङ्क व्यवस्थापनको अवस्था, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान तथा पुनःभर्नाको अवस्था, अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक पहिचान तथा स्क्रिनिङ, समावेशी शिक्षासम्बन्धी सञ्चालित कार्यक्रम तथा पहलहरु र बालिका तथा समावेशी शिक्षा सञ्जालको कार्ययोजनाको प्रगति तथा कार्यान्वयनको अवस्था जानकारी गराएका थिए ।
शारदा नगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत संगीता बुढाले शिक्षा योजना कार्यान्वयका चुनौती र समाधानका उपायहरु बारेमा पनि छलफल गरिएको बताउनुभयो । समिक्षा पछि कार्य योजना समेत तयार गरिएको उनले जानकारी दिए । सिद्ध कुमाख गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत प्रतिभा ओलीले शिक्षा योजनाका सबल र सुधार गर्नुपर्ने पक्षहरु राखेर समिक्षा गरिएको जानकारी दिए ।
उनले दश वर्षे शिक्षा योजना निर्माण भएको दुई वर्षपछि पहिलो पटक समिक्षा गरिएको बताइन । शिक्षा योजनालाई विद्यालय शिक्षा क्षेत्र योजना, समावेशिता, समानता तथा नागरिक सहभागिता दृष्टिकोणले समिक्षा गरिएको थियो । स्थानीय तहका शिक्षा कार्ययोजनाहरुलाई समता, समावेशिता, लैङ्गिक समानता, नागरिक सहभागिता तथा बालिका तथा समावेशी शिक्षा सञ्जालका प्रतिबद्धताहरूको आधारमा समीक्षा गरिएको थियो । जसका लागि एक्सेस परियोजनाले छ वटा विषयगत क्षेत्रअन्तर्गत २९ सूचकहरू समेटिएको एकीकृत ढाँचा तयार गरेको थियो ।
पालिकाले प्रस्तुत गरेको समावेशी शिक्षा क्षेत्रका प्राथमिकता तथा चुनौती र समिक्षामा उल्लेख गरिएका सुधारका उपायहरुमा केन्द्रित भएर कार्य योजना निर्माण गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले कार्ययोजनामा उल्लेख गरिएका गतिविधिहरु सम्बन्धित जिम्मेवार शाखा तथा निकायमार्फत कार्यान्वयन गर्ने बताए ।
विज्ञहरुको सहभागीतामा तयार भएका योजनाहरु कायर्यान्वयनको लागि सबै पक्ष एकै ठाउँमा उभिन आवश्यक रहेको उनले उल्लेख गरे । कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको लागि पालिका प्रतिबद्ध रहेको उनको भनाइ छ । कार्य योजनामा स्थानीय सरकार, विद्यालय तह, नागरिक समाज संस्था र समुदाय तथा सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन गर्न सकिने योजनाहरु तय गरिएको छ ।
एक्सेस परियोजना सबैका लागि शिक्षाको सुनिश्चिततामा नागरिक समाजको भूमिकालाई तिब्र बनाउन कर्णालीको जाजरकोट र सल्यानका पाँच वटा पालिकामा कार्यान्वयनमा रहेको छ । शिक्षा क्षेत्रमा पहुँच, समावेशीता र गुणस्तर अभिबृद्धि गर्न एक्सेस परियोजना सञ्चालित छ । यो परियोजना युरोपियन युनियनको सहयोग, पिपुल इन निडको नेतृत्वमा एकान्टेबिलिटी ल्याब, नेपाल अपाङग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा सञ्चालित छ ।






