कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्ने तयारी

बाँके, ७ साउन ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई खारेज नगरी पुनर्संरचना गरेर बढीमा छ महिनाभित्र पुनः सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । पुनर्संरचनामार्फत बैंकलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएपछि निक्षेपकर्ताले जारी आन्दोलन स्थगित गरेका छन् ।

नेपालगन्जस्थित बैंकको केन्द्रीय कार्यालयअघि बचत रकम फिर्ताको माग गर्दै बाँके, बर्दिया, दाङलगायत जिल्लाबाट आएका निक्षेपकर्ताले केही दिनदेखि आन्दोलन गरिरहेका थिए । आन्दोलनरत निक्षेपकर्तासँग नेपाल राष्ट्र बैंकका प्रतिनिधिले छलफल गर्दै बैंकलाई लिक्विडेसनमा नलगी पुनर्संरचना गरी सञ्चालनमा ल्याइने आश्वासन दिएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट खटिएको विशेष सञ्चालक समितिका संयोजक तथा उपनिर्देशक टीकाराम खतिवडाले बैंकलाई लिक्विडेसनमा लैजाँदा निक्षेपकर्ताको थप क्षति हुने र समग्र बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर हुने भएकाले पुनर्संरचनाको विकल्प रोजिएको बताए ।

उनका अनुसार हालका सेयरधनीबाट पुँजी वृद्धि गराउने, आवश्यक परे नयाँ लगानीकर्ता भित्र्याउने तथा बैंकलाई राष्ट्रियस्तरको विकास बैंकका रूपमा पुनः सञ्चालन गर्ने योजना अघि बढाइएको छ । पुनर्संरचनापछि बैंकको नाम, सञ्चालक समिति तथा व्यवस्थापनसमेत परिवर्तन हुन सक्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले निक्षेपकर्तालाई तत्काल केही राहत उपलब्ध गराउने उपायबारे समेत छलफल भइरहेको जनाएको छ । आगामी दुईदेखि तीन महिनाभित्र पुनर्संरचनाको प्रक्रिया स्पष्ट रूपमा देखिने गरी आवश्यक सूचना सार्वजनिक गरिने र त्यसपछि निक्षेप फिर्ताको प्रक्रिया क्रमिक रूपमा अघि बढाइने खतिवडाले बताए ।

यसैबीच, कर्णाली डेभलपमेन्ट बैंकसँग सम्बन्धित वित्तीय अनियमितताको मुद्दा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा विचाराधीन रहेको छ । उक्त मुद्दामा १०९ जनाविरुद्ध अभियोग दर्ता गरिएको छ भने हालसम्म ३५ जना प्रतिवादी अदालतमा उपस्थित भइसकेका छन् ।

करिब ३ अर्ब २० करोड रुपैयाँ बराबरको वित्तीय अनियमितताको आरोप सार्वजनिक भएपछि बैंक लामो समयदेखि समस्यामा परेको छ । त्यसयता हजारौं निक्षेपकर्ता आफ्नो बचत रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । 

राष्ट्र बैंकको पछिल्लो निर्णयले निक्षेपकर्तामा केही आशा जागेको भए पनि पुनर्संरचनाको प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन भई बचत रकम फिर्ता हुने विषयलाई उनीहरूले चासोका साथ हेरिरहेका छन् । राष्ट्र बैंकले पुनर्संरचना प्रक्रिया समयमै सम्पन्न गरी बैंकलाई सुरक्षित र दिगो रूपमा सञ्चालनमा ल्याउने तथा निक्षेपकर्ताको हितलाई प्राथमिकतामा राखेर आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्ने तयारी

सुशासन, असल शासनको अभ्यास

कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्ने तयारी

सौर्य ऊर्जा र विद्युत् भण्डारणलाई हुवावेका नयाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *