जुम्लामा ज्येष्ठ महिलाको रहस्यमय मृत्यु

गाेल्डेन बुढा
जुम्ला,८ चैत ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडामा एक ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।उनलाई उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको भए पनि शनिबार बेलुका ९:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पताल स्रोतका अनुसार उनलाई बेलुका ८:१० बजे अस्पताल ल्याइएको थियो।प्रहरी निरीक्षक निर्देश बरालका अनुसार सुनारको टाउको तथा आँखामा चोटपटक लागेको अवस्थामा अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो।
घटनाबारे प्रारम्भिक अनुसन्धानमा उनको शरीरमा धारिलो हतियार प्रयोग भएको आशंका गरिएको छ।मृतकका आफन्त धिरबहादुर वडका अनुसार उनलाई घरमै गम्भीर घाइते अवस्थामा सुताएर राखिएको थियो, र छिमेकीले घटना थाहा पाएपछि मात्रै अस्पताल लगिएको हो। “टाउको मात्र नभई आँखामा समेत प्रहार गरिएको देखिन्छ,” उनले भने।चैत ७ गते भएको उक्त घटनालाई शंकास्पद भन्दै परिवारले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। यता प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली घटनास्थलतर्फ खटाइएको जानकारी दिए। “घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ,” उनले भने।






