रास्कोट घटनाप्रति कालीकोटमा सामाजिक संस्थाद्वारा ज्ञापनपत्र

कालीकोट, ७ चैत ।
जिल्लाको रास्कोट नगरपालिकामा १२ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) घटनालाई मध्यनजर गर्दै कालिकोटमा क्रियाशील नागरिक समाज तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा १० बुँदे ज्ञापनपत्र पेश गरेका छन् ।
ज्ञापनपत्रमार्फत पीडित बालिकाको निःशुल्क उपचार, सुरक्षित आवास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापनाको पूर्ण व्यवस्था गर्नुपर्ने, पीडितलाई राज्यबाट उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । साथै, पीडित र उनका परिवारको सुरक्षा सुनिश्चित गर्दै कुनै पनि प्रकारको धम्की वा दबाबबाट जोगाउनुपर्ने तथा यस्ता घटनाहरू पुनः नदोहोरिन बालबालिका तथा महिला सुरक्षा सम्बन्धी विशेष कार्यक्रम र निगरानी प्रणाली लागू गर्नुपर्ने माग राखिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले घटनाको जाहेरी दर्ता भएलगत्तै दोषीलाई कानूनी दायरामा ल्याउन गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । उनले कानूनअनुसार कसैलाई पनि उन्मुक्ति नदिने गरी कारबाही भइरहेको बताए ।
त्यसैगरी, प्रहरी नायव उपरीक्षक हेमराज खत्रीले पनि पीडित बालिकाको न्यायका लागि प्रहरी सक्रिय रूपमा लागिरहेको जानकारी दिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कालीकोट तथा जिल्लामा क्रियाशील विभिन्न विकास साझेदार संस्थाहरू—सादा नेपाल, किर्डाक नेपाल, हुरेण्डेक नेपाल, नेपाल मानव अधिकार संगठन, नागरिक समाज सञ्जाल, इन्सेक प्रतिनिधि लगायतको उपस्थिति थियो ।






