साउनमा भित्रियो २ खर्ब १५ अर्ब बढी रेमिट्यान्स

काठमाडौँ, ४ असोज ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.२ प्रतिशत (३७ अर्ब ६४ करोड) ले वृद्धि भई भएको हो। गत वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो ।
गत वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो । यस वर्षको साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २५ प्रतिशतले बढेको थियो ।
यस वर्षको साउनमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब २९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रहेको थियो । साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो ।
भदौ महिनामा ५ अर्ब ९ करोड रुपैयाँको विद्युत् निर्यात
नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख रुपियाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो ।
प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् ३ अर्ब ६४ करोड रुपियाँभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट १ अर्ब ४४ करोड ९९ लाख रुपियाँ आम्दानी भएको छ ।
भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ । अन्य आयोजनाबाट बंगलादेशतर्फ निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिएको छ ।





