अझै टुङ्गिएन इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान
ओम शाही
सुर्खेत, ५ चैत ।
गएको २३ फागुनमा रहस्यमय तवरबाट मृत्यु भएकी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, की इनिशा विक प्रकरणको प्रहरी अनुसन्धान अझै सकिएको छैन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रनगर–१, स्थायी ठेगाना भएकी १६ वर्षीया इनिशाको बलात्कारपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको थियो । विद्यालयमा प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी इनिशा अचेत भेटिएको घटनास्थलबाट प्रहरीले १६ वर्षीय एक किशोरलाई समेत नियन्त्रणमा लिएको थियो ।
प्रहरीले यस प्रकरणमा अन्य तीन बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । घटनाको सुर्खेत प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुक्ष्म अध्ययन जारी राखेको जनाइएको छ । प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ परेका बालकहरू उपर अनुसन्धानका विभिन्न कोणबाट बयान लिने काम जारी छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले अबको केही दिनमा अनुन्धान सक्ने तयारी छ । उनका अनुसार मृतक इनिशा र आरोपित बालकहरूका मोबाइललगायत विद्युतीय सामग्री, इनिशाको भजाइनल स्वाबलगायतका प्राप्त प्रमाणहरू केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ । त्यो रिपोर्ट आएपछि मात्रै इनिशाको मृत्युको रहस्य खुल्ने बुढथापाले बताए ।
घटनास्थलबाट पक्राउ परेका १६ वर्षे किशोरले इनिशासँग शारीरिक सम्बन्ध राखेको र बेहोस भएपछि आत्तिएर तीन जना साथीहरुलाई फोन गरेको बयान दिएका छन् । ति बालकले प्रहरीसँगको बयानमा भने अनुसार फागुन २३ गते शनिबार बिहान ७ बजे इनिशा र उनी सल्लाह गरेर वीरेन्द्रनगरमा रहेको सहिद पार्क नजिकै जंगल गएका थिए ।
इनिशाका लागि काटा चुरा लगायत विभिन्न गिफ्ट उनले ल्याइदिएका थिए । यता पीडित बालिकाका आफन्तहरूले चारै जनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै इनिशाको शव बुझ्न मानिरहेका छैनन् । उनको शव १२ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र छ । २३ फागुनमा इनिशा बिहान ६ बजे स्कुल जान्छु भन्दै निस्किएकी थिइन ।
वीरेन्द्रनगरकै उषा बालबाटिका माविमा कक्षा ११ मा पढ्ने इनिशाले भन्छिन्, ‘सरहरुले नि बोलाउनु भएको हो क्या आज स्कुलमा प्राक्टिकल क्लास छ दुई घण्टामा आइहाल्छु नि ।’ त्यो बिहान इनिशासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तश्राप भएको र आतिएर अरु तीन जनालाई बोलाएको बयान ति किशोरले प्रहरी समक्ष दिएका छन् ।
यो कुरा इनिशाको परिवार मान्न तयार छैन । उनीहरुलाई यो बयान पत्कार लागेको छैन र प्रहरीले ति किशोरसहित अरु तीन जनालाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ । घटनाको पर्सिपल्ट २५ फागुनमा पिडित परिवारले पक्राउ परेका चारै जना विरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए ।
परिवारको जाहेरी पछि भेरी अस्पताल बाकेका फरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पतालमा पुगेर इनिशाको सब परिक्षण गरेको थियो । त्यो परिक्षणबाट जबर्जस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राप भइ उनको मृत्यु भएको उल्लेख छ ।
अस्पतालको यस्तो रिपोर्ट पीडित परिवारलाई अपत्यारिलो लागिरहेको छ । संवेदनशील अङ्ग पनि छेद बिछेत भएको अवस्थामा भेटिएकाले यसलाई उनीहरुले क्रुर सामुहिक बलात्कार र हत्या मानेका छन् । दोषीहरुले हदैसम्मको सजाय पाउन भन्ने उनीहरुको माग छ । घटनाको १२ दिनसम्म पनि वास्तविक तथ्य बाहिर नल्याएको भन्दै परिवारले इनिशाको शव बुझ्न मानिरहेको छैनन् ।
सामुहिक बलात्कार पछि हत्या भएको घटनामा मृत्युको कारण रक्तश्राप देखाएर दोषीलाई उम्काउन खोजिएको उनीहरुको आशंका वा आरोप छ, होइन भने प्रहरीले यस्तो भएको हो भन्ने विश्वासिलो आधार देखाउनु पर्ने उनीहरुको माग छ । अहिले उनीहरु आन्दोलित बनेका छन् ।
इनिसाको सबले कर्णाली प्रदेश अस्पतालको सवगृहमा न्याय कुरिरहेको छ । इनिशाको सामुहिक बलात्कार पछि हत्या भएको भन्दै नागरिक समाज र अधिकारकर्मीहरुले न्यायको आवाज उठाएपछि दबाबमा परेको सुर्खेत प्रहरीले घटनाबारी अनुसन्धान गर्ने जिम्मा अब सीआइबीलाई लगाएको छ । अर्थात सीआइबीको सहयोग पनि लिएको छ ।
इनिसाको न्यायका लागि काठमाडौँमा समेत अधिकारकर्मीहरुले आवाज उठाइरहेका छन् । त्यो दिन स्कुल जान भनेर हिडेकी छोरीलाई कुरेकी आमा तिला अब क्रुर ढंगले मारिएकी छोरीका लागि न्याय कुरिरहेकी छन् । पीडित परिवारले घटनाको अनुसन्धान निर्मला पन्तको जस्तो अधुरो रहने आशंका व्यक्त गरिरहेका छन् ।





