विदेशबाट फर्किएका युवालाई गाउँमै उद्यमी बनाउने जुम्लाका दुई स्थानीय तहको पहल

गाेल्डेन बुढा

जुम्ला ,४ चैत।
जुम्लाका केही स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउन सुरु गरेका छन् । उनीहरूलाई पहिलोपटक उद्यमशीलता तालिम प्रदान गर्न थालिएको हो । जुम्लाको तातोपानी र सिंजा गाउँपालिकाले वैदेशिक रोजगारीमा लामो समय बिताएका युवाहरूको अनुभव र सीपलाई स्वदेशमा लागू गर्न उद्यमशीलता तालिम दिन थालेका हुन् ।यो पहल केवल तालिममा सीमित छैन, बरु वर्षौँदेखि “विदेशिनु नै विकल्प” भन्ने स्थापित मान्यतालाई चुनौती दिने प्रयासका रूपमा पनि हेरिएको छ । श्रम बजारमा अवसर अभावका कारण बाध्य भएर बाहिरिएका युवालाई अब आफ्नै गाउँमा सम्भावना देखाउने प्रयास सुरु भएको छ ।यता सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘केही युवाहरूले लामो समय विदेशमै बिताए । उनीहरूले सिकेको सीप स्वदेशमै प्रयोग गर्न उद्यमशील बनाउन खोजिएको छ । यसले उनीहरूलाई गाउँमै रोजगार बन्ने अवसर प्रदान गर्नेछ ।’ उनका अनुसार, विदेशमा सिकिएको व्यवहारिक ज्ञान,चाहे त्यो निर्माण, सेवा, व्यवस्थापन वा साना व्यवसाय सञ्चालनसम्बन्धी किन नहोस्।अब स्थानीय अर्थतन्त्रसँग जोडिने आधार तयार पारिँदैछ ।पहिलो चरणमा सिंजाले २० र तातोपानीले २० जना युवालाई उद्यमशील बनाउन लागेका हुन् ।

यो संख्या सानो देखिए पनि स्थानीय तहले यसलाई ‘पाइलट मोडेल’ का रूपमा अघि सारेका छन्, जसको सफलताले आगामी दिनमा थप युवालाई समेट्ने अपेक्षा गरिएको छ ।स्थानीय उत्पादनमा आधारित साना उद्योग तथा व्यवसाय सञ्चालन गरी आयआर्जन वृद्धि गर्न उनीहरूलाई परिचालन गर्न लागिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनले भने, ‘युवाजति बेरोजगार छन् भन्ने भाष्य छ । अब विदेशको सीप स्वदेशमा प्रयोग गरेर युवा उद्यमी बनाउने अभियान सुरु भएको छ ।’उनका अनुसार, जुम्लामा कृषिजन्य उत्पादन, जडीबुटी, पर्यटन र घरेलु उद्योगका क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसलाई व्यावसायिक रूपमा विस्तार गर्न सीप र लगानीको अभाव थियो । विदेशबाट फर्किएका युवामा दुवै पक्षको आधार भएकाले उनीहरूलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो ।दुवै स्थानीय तहले ७ दिनभित्र पालिकामा सम्पर्कमा आइसक्नुपर्ने जनाएका छन् । यसलाई समयसीमा तोकेर अघि बढाउनुको उद्देश्य कार्यक्रमलाई छिटो कार्यान्वयनमा लैजानु रहेको जनाइएको छ ।‘विदेशबाट फर्किएकाहरूको सीप र अनुभव खेर जान दिदैनौं,’ तातोपानीका अध्यक्ष चौलागाईंले भने, ‘अब गाउँमै रोजगारी सिर्जना गरेर फेरि पनि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने योजना छ ।’ उनका अनुसार, यो पहल सफल भएमा वैदेशिक रोजगारीबाट फर्किने युवाको लहरलाई गाउँमै रोक्न सकिने विश्वास गरिएको छ ।वैदेशिक रोजगारीको अनुभव स्थानीय स्तरमा लागू गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि रहेको उनले सुनाए । अनुभव नभएर पनि केही गर्न नसकेका युवाको हौसला बन्दै उद्यमशीलतामा आकर्षित गर्न तालिमको व्यवस्था गरिएको उनले बताए । यसले केवल फर्किएका युवामात्र होइन, गाउँमै रहेका अन्य युवालाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।जसका लागि सरकारी तथा गैरसरकारी निकायसँग लागत साझेदारीको लागि समन्वय भइरहेको छ । नवीनतम ज्ञान र सीपमा आधारित व्यवसाय स्थापना र सञ्चालनका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई अनुदान र सहुलियत ब्याजदरमा उद्यमी कर्जा प्रवाह गर्ने नीति पनि स्थानीय तहले लिएका छन् । यसले उद्यम सुरु गर्दा देखिने प्रारम्भिक वित्तीय जोखिम घटाउने विश्वास गरिएको छ ।उद्यमशीलता तालिममा सहभागी हुने युवाले आवेदन फारम, नेपाली नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगारीबाट फर्किएको प्रमाणस्वरूप पासपोर्ट, भिसा र श्रम स्वीकृति आदि मध्ये कुनै एकको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो लगायतका कागजात पेस गर्नुपर्ने छ ।छनोट भएका युवालाई पालिका र संघसंस्थासँग समन्वय गरी बिनाब्याज ऋणसमेत उपलब्ध गराइनेछ ।

पालिकाको अन्य विकास निर्माण तथा रोजगार प्रवर्द्धनका कार्यक्रममा तालिम लिएका युवालाई प्राथमिकता दिइने समेत जनाइएको छ ।यस कार्यक्रमलाई ग्रामीण अर्थतन्त्र पुनर्जीवनसँग पनि जोडेर हेरिएको छ । यदि विदेशबाट फर्किएका युवाको सीप गाउँमै उपयोग हुन थाल्यो भने, त्यसले केवल व्यक्तिगत आय मात्र होइन, समग्र स्थानीय बजार, उत्पादन प्रणाली र रोजगारी संरचनामा समेत दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

विदेशबाट फर्किएका युवालाई गाउँमै उद्यमी बनाउने जुम्लाका दुई स्थानीय तहको पहल

जुम्लामा एचपीभि खोप अभियान संचालन हुदै, १२७७

विदेशबाट फर्किएका युवालाई गाउँमै उद्यमी बनाउने जुम्लाका दुई स्थानीय तहको पहल

कुलतमा डुबेका सुवास, आज उद्धारका सहारा बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *