मध्यपूर्व युद्धको प्रभावको आशंका : पेट्रोल पम्पमा प्रशासनको कडा निगरानी, ३४ पम्पमा अनुगमन
बाँके, २ चैत ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको आपूर्तिमा सम्भावित असर पर्न सक्ने आशंकापछि बाँकेमा स्थानीय प्रशासनले पेट्रोल पम्पहरूमा निगरानी बढाउँदै अनुगमन सुरु गरेको छ । सम्भावित अभावको हल्ला फैलिन नदिन र कृत्रिम अभाव रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा संयुक्त टोलीले शनिबार विभिन्न पेट्रोल पम्पहरूको अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा प्रहरी प्रशासन र नेपाल आयल निगमका प्रतिनिधि सम्मिलित टोलीले जिल्लाभरका पेट्रोल पम्पहरूको मौज्दात तथा भण्डारण अवस्था बारे स्थलगत निरीक्षण गरेको हो । अनुगमनका क्रममा पेट्रोल, डिजेल तथा अन्य पेट्रोलियम पदार्थको उपलब्धता, दैनिक बिक्री तथा आपूर्तिको अवस्था बारे विस्तृत जानकारी संकलन गरिएको प्रशासनले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीका अनुसार जिल्लामा रहेका ४१ पेट्रोल पम्पमध्ये शनिबार मात्र ३४ वटा पम्पमा अनुगमन गरिएको छ । बाँकी पम्पहरूमा पनि क्रमशः अनुगमन गरिने उनले जानकारी दिए ।
उनका अनुसार पेट्रोलियम पदार्थको मौज्दात अवस्थालाई स्पष्ट रूपमा ट्र्याक गर्न प्रशासनले ‘इन्भेन्टरी मनिटरिङ तथा रेकर्ड किपिङ’ प्रणाली लागू गरेको छ । यस प्रणालीमार्फत प्रत्येक पेट्रोल पम्पमा कति इन्धन मौज्दात छ, कति बिक्री भइरहेको छ र थप कति आपूर्ति आवश्यक छ भन्ने विवरण नियमित रूपमा अभिलेख राखिने व्यवस्था गरिएको उनले बताए ।
“इन्भेन्टरी रेकर्ड सुरु गरिएको छ । जिल्लाका सबै पेट्रोल पम्पमा कति इन्धन मौज्दात छ, कति बिक्री भयो र कति थप आवश्यक छ भन्ने विवरण दैनिक रूपमा संकलन गरेर अभिलेख राखिने व्यवस्था गरिएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले भने ।
अनुगमन टोलीले प्रत्येक पेट्रोल पम्पबाट उपलब्ध इन्धनको मात्रा, दैनिक बिक्री र आपूर्तिको अवस्थासम्बन्धी तथ्यांक संकलन गरेको छ । यसबाट बजारमा इन्धनको वास्तविक माग र आपूर्तिको अवस्था बुझ्न, आवश्यक समन्वय गर्न तथा अनावश्यक भण्डारण वा कृत्रिम अभाव हुन नदिन सहयोग पुग्ने प्रशासनको विश्वास छ ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएपछि उपभोक्तामा अभावको त्रास फैलिन सक्ने भन्दै प्रशासनले समयमै निगरानी तीव्र बनाएको हो । प्रशासनका अनुसार बजारमा कुनै पनि किसिमको कृत्रिम अभाव सिर्जना हुन नदिन नियमित अनुगमनलाई निरन्तरता दिइनेछ ।
त्यसैबीच नेपाल आयल निगमले पनि शनिबार विज्ञप्ति जारी गर्दै मुलुकमा पेट्रोलियम पदार्थको आपूर्ति नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ । निगमले उपभोक्तालाई हल्ला वा त्रासका आधारमा अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ ।
एलपी ग्याँस बारे निगमको पाँच बुँदे निर्देशन
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याँसको अनावश्यक भण्डारण नगर्न विक्रेता तथा उपभोक्तालाई आग्रह गरेको छ । निगमका अनुसार हाल आपूर्ति व्यवस्थालाई व्यवस्थित राख्न केही समयका लागि आधा सिलिन्डर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
निगमले अर्को व्यवस्था नभएसम्म उद्योगहरूले ७.१ केजी ग्यास ९५५ रुपैयाँमा बिक्री गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ । यसले बजारमा ग्यासको समान वितरण सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी देशभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा दैनिक बिक्रीको मात्रा हरेक दिन बिहान १० बजेसम्म सार्वजनिक गरी निगमलाई जानकारी गराउन निर्देशन दिइएको छ ।
निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न पनि आग्रह गरेको छ । औद्योगिक तथा व्यावसायिक प्रयोगका लागि ग्यास वितरण गर्दा पनि घरायसी उपभोक्ताको आवश्यकतालाई प्राथमिकता दिन भनिएको छ । “आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई पुनः अनुरोध गर्दछौँ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।





