जुम्लामा मौरीपालनतर्फ किसानको आकर्षण, तर संरक्षण नीति छैन

गाेल्डेेन बुढा

जुम्ला ,१ चैत ।
जुम्लामा पछिल्ला वर्षहरूमा मौरीपालन किसानका लागि आम्दानीको महत्वपूर्ण आधार बन्दै गएको छ। सीमित खेतीयोग्य जमिन, कमजोर औद्योगिक अवसर र रोजगारीको अभावबीच ग्रामीण किसानहरूले मौरीपालनलाई वैकल्पिक आयस्रोतका रूपमा अंगाल्न थालेका छन्। महको मूल्य निरन्तर बढ्दै जाँदा किसानहरूमा यो व्यवसायप्रति आकर्षण बढिरहेको छ।अहिले जुम्लामै महको मूल्य प्रतिकेजी २ हजार ५ सय रुपैयाँ पुगेको छ। उत्पादन धेरै नभए पनि उच्च मूल्यका कारण मौरीपालनले किसानलाई नगद आम्दानी दिलाउने माध्यम बनिरहेको छ। तर सम्भावना र उत्साहबीच सरकारी नीति, प्राविधिक सहयोग र संरक्षण कार्यक्रमको अभावले यो क्षेत्र अझै व्यवस्थित रूपमा विस्तार हुन सकेको छैन।जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका नारायण चौलागाईँ मौरीपालनबाट जीविकोपार्जन गरिरहेका किसानमध्ये एक हुन्। उनका १६ वटा मौरीघार छन्। उनी हरेक वर्ष एक घारबाट एकदेखि पाँच केजीसम्म मह निकाल्छन्।

यसरी वर्षेनी करिब ८० केजी मह उत्पादन हुने गरेको छ। उत्पादन भएको महमध्ये केही घरायसी प्रयोगका लागि राखिन्छ,भने केही स्थानीय बजारमा बिक्री गरिन्छ।चौलागाईँले मह बिक्रीबाट मात्रै वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।तर उनको काम केवल मह उत्पादनमा सीमित छैन। उनी मौरीपालनसम्बन्धी प्रशिक्षक पनि हुन्। गाउँ–गाउँ पुगेर मौरीपालनको अवस्था बुझ्ने, मौरीमा देखिएका समस्या पहिचान गर्ने र किसानलाई आवश्यक जानकारी दिने काममा उनी सक्रिय छन्।“मौरीपालन केवल मह उत्पादन गर्ने काम मात्र होइन, यसले किसानलाई सीप र धैर्य पनि सिकाउँछ,” चौलागाईँ भन्छन्, “यदि सही तरिकाले व्यवस्थापन गरियो भने जुम्लामा यो ठूलो व्यवसाय बन्न सक्छ।”यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ लेपकर गाउँका धनजीत बुढा अहिले चन्दननाथ नगरपालिका–३ मा बस्दै आएका छन्। उनीसँग २० वटा मौरीघार छन्। ती घारबाट उनी न्यूनतम एक क्विन्टल मह उत्पादन गर्छन्। मह बिक्रीबाट उनले वार्षिक करिब दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।धनजीतका अनुसार जुम्लामा मुख्यतः ‘एपि सेराना सेराना’ जातको मौरीपालन गरिन्छ। यो जात हिमाली वातावरणमा अनुकूल हुने भएकाले यहाँको जलवायुमा राम्रोसँग टिक्ने गरेको छ।उनले जुम्लाको महलाई अस्ट्रेलिया लगायत युरोपेली देशहरूमा काेसेली ‘नासो’का रूपमा पठाएको अनुभव पनि सुनाए। नेपालगञ्ज, काठमाडौं, पोखरा र सुर्खेतमा हुने कृषि प्रदर्शनीहरूमा पनि जुम्लाको मह राखिने गरेको उनले बताए।“पहिले भीर–पहरामा घार राख्ने चलन थियो,” उनले भने, “अहिले घर वरिपरि नै व्यवस्थित रूपमा मौरीपालन गर्ने अभ्यास बढ्दै गएको छ।”जुम्लामा मौरीपालनको सम्भावना निकै ठूलो भए पनि यो व्यवसाय अझै पूर्ण रूपमा व्यावसायिक हुन सकेको छैन। केही वर्षअघि मौरीमा रोगको संक्रमण ठूलो समस्या थियो। अहिले त्यो अवस्था क्रमशः घट्दै गएको किसानहरू बताउँछन्।यहाँ परम्परागत घारभन्दा ‘न्युटन घार’ बढी उपयुक्त हुने अनुभव किसानहरूले गरेका छन्। यसले उत्पादन बढाउने र व्यवस्थापन सजिलो हुने उनीहरूको भनाइ छ।तर मौरीपालनको विस्तारमा प्राकृतिक वातावरणसँग जोडिएका चुनौतीहरू पनि बढिरहेका छन्।

पछिल्लो समय जलवायु परिवर्तनका कारण खडेरीको समस्या बढ्दै गएको छ। फूल फुल्ने भए पनि तिनमा पर्याप्त रस नहुने अवस्था देखिन थालेको किसानहरू बताउँछन्।“फूलहरू फुल्छन्, तर रस भरिएको हुँदैन,” धनजीत बुढाले भने, “यसका कारण मौरीलाई कृत्रिम आहार दिनुपर्ने बाध्यता बढ्दै गएको छ।”जिल्लास्थित मौरीपालन सहकारीको तथ्यांक अनुसार जुम्लामा पाँच सयभन्दा बढी किसान मौरीपालनमा संलग्न छन्। उनीहरूसँग न्यूनतम पाँच घारदेखि अधिकतम ६० घारसम्म मौरीपालन भइरहेको छ। जिल्लाभर अहिले करिब एक हजार ६ सय घार मौरी रहेको अनुमान छ।ती घारबाट बर्सेनी न्यूनतम दुई करोड रुपैयाँ बराबरको मह उत्पादन हुने गरेको किसानहरू बताउँछन्।किसानहरूको भनाइमा यदि मौरीपालनलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकियो भने यसले जुम्लाको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सक्छ। धनजीत बुढाका अनुसार स्याउ खेती र मौरीपालनलाई एकअर्कासँग जोडेर नीति बनाउनु आवश्यक छ।“हरेक स्याउ बगैंचामा एउटा मौरीघार राख्ने नीति बनाइयो भने परागण राम्रो हुन्छ र मह उत्पादन पनि बढ्छ,” उनले भने।तर मौरीपालनको विकासमा विभिन्न चुनौतीहरू अझै कायम छन्। किसानहरूका अनुसार घार सफा नहुने अवस्था, कृषिबालीमा बढ्दो विषादी प्रयोग, मैन पुतलीको संक्रमण लगायतका समस्याले मौरी जोगाउन कठिन भइरहेको छ।भालु, मलसाब्रो, अरिङ्गाल र छेपारो जस्ता प्राकृतिक शत्रुहरूबाट पनि मौरीलाई ठूलो खतरा हुने गरेको छ।किसानहरूले पटक–पटक सरकारसँग मौरी संरक्षणका लागि नीति ल्याउन माग गरेका छन्। तर उनीहरूको माग अझै सम्बोधन हुन सकेको छैन।पछिल्ला पाँच वर्षदेखि मौरी बिमा कार्यक्रम लागू गर्न किसानहरूले आग्रह गरिरहेका छन्। तर न जिल्लास्थित कृषि कार्यालयले त्यसमा पहल गर्न सकेको छ, न प्रदेश र संघीय सरकारले ठोस चासो दिएको छ।किसानहरूका अनुसार मौरी मरेको अवस्थामा उनीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ।“बर्सेनी मौरी मरेको हेरेर बस्नुपरेको छ,” किसानहरू गुनासो गर्छन्।

मौरीपालनको विकासका लागि प्राविधिक सहयोग पनि अभावमा छ। किसानहरूले जिल्लामा मौरी सम्बन्धी विज्ञ पठाइदिन माग गरेका छन्। अहिले मौरीसम्बन्धी प्राविधिक ज्ञान दिने विशेषज्ञ नहुँदा किसानहरूले परिस्थिति अनुसार आवश्यक सीप र जानकारी पाउन सकेका छैनन्।जुम्लाको पातारासी, गुठीचौर, कनकासुन्दरी र तिला गाउँपालिकामा मौरीपालनको राम्रो सम्भावना रहेको किसानहरू बताउँछन्। उचित नीति, प्राविधिक सहयोग र बजार व्यवस्थापन भए मौरीपालन जुम्लाको महत्वपूर्ण आयमूलक व्यवसाय बन्न सक्ने उनीहरूको विश्वास छ।यता जिल्ला कृषि विकास कार्यालय जुम्लाले गत वर्ष मौरी प्रवर्द्धनका केही कार्यक्रम सञ्चालन गरेको भए पनि यस वर्ष भने मौरी सम्बन्धी कुनै कार्यक्रम नभएको जनाएको छ।कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार जिल्लामा मौरीको आधिकारिक तथ्यांकसमेत उपलब्ध छैन।“न मौरीको तथ्यांक छ, न मौरी प्रवर्द्धन कार्यक्रम नै छन्,” उनले भने, “आगामी वर्षका लागि भने छलफल भइरहेको छ।”जुम्लाका किसानहरूका लागि मौरीपालन केवल मह उत्पादनको माध्यम मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने सम्भावनाको स्रोत पनि हो। तर स्पष्ट नीति, प्राविधिक सहयोग, बिमा र संरक्षण कार्यक्रमको अभावले यो सम्भावना अझै पूर्ण रूपमा फस्टाउन सकेको छैन।महको मीठासले किसानको जीवनमा आशा जगाएको छ, तर त्यो आशालाई दीर्घकालीन आधार दिन स्थानीय, प्रदेश र संघीय सरकारको स्पष्ट र जिम्मेवार पहल आवश्यक देखिएको छ।

जुम्लामा मौरीपालनतर्फ किसानको आकर्षण, तर संरक्षण नीति छैन

खर काट्न निकुञ्ज गएका ६२ वर्षीय ओली

जुम्लामा मौरीपालनतर्फ किसानको आकर्षण, तर संरक्षण नीति छैन

जुम्लामा मौरीपालनतर्फ किसानको आकर्षण, तर संरक्षण नीति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds