भैँसीपालनबाट उदाहरणीय बन्दै हल्कारापूर्वा : ‘दूध उत्पादनको गाउँ’मा सरकारी पहुँच अझै कमजोर
बाँके ,३० चैत ।
बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापूर्वा गाउँ यतिबेला जिल्लाकै सबैभन्दा बढी भैँसीपालन हुने नमुना बस्तीका रूपमा पहिचान बनाउँदै गएको छ। केवल ३४ घरपरिवार रहेको यादव समुदायको यस सानो गाउँमा हाल छ सयभन्दा बढी भैँसी पालिएका छन्, जसका कारण यो क्षेत्र “दूध उत्पादनको गाउँ”का रूपमा परिचित बन्दै गएको हो।
गाउँमा भैँसी नपाल्ने घर भेटिनु दुर्लभजस्तै छ। यहाँका अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत नै भैँसीपालन बनेको छ। यही पेशाले गाउँलेहरूको दैनिकी धानेको मात्र छैन, उनीहरूको आर्थिक अवस्था पनि क्रमशः सुदृढ बनाउँदै लगेको छ। हल्कारापूर्वाबाट मात्रै दैनिक करिब ६०० लिटर दूध उत्पादन भई नजिकैको नेपालगन्ज बजारसम्म पुग्ने गरेको छ, जसले स्थानीय बजार आपूर्तिमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ।
यस गाउँका करिब ६ दशक पार गरिसक्नुभएका रामसोहन यादव सबैभन्दा ठूला भैँसीपालक किसानका रूपमा चिनिनुहुन्छ। उहाँसँग पाडापाडीसहित करिब १५० वटा भैँसी छन्, जसमध्ये ५२ वटा दुहुना रहेका छन्। उहाँको घरबाट मात्रै दैनिक करिब ३०० लिटर दूध उत्पादन भई कम्दीस्थित मिलनचोक हुँदै नेपालगन्ज बजार पठाइने गरेको छ।
भैँसीपालनमा उहाँको दैनिकी बिहान ३ बजेदेखि सुरु हुन्छ र बेलुका अबेरसम्म भैँसीकै स्याहारसुसारमा बित्ने गरेको छ। उहाँका अनुसार यो पेशा केवल आयआर्जनको माध्यम मात्र नभई पुस्तौँदेखि चलिआएको परम्परागत जीवनशैली पनि हो। “परिवारका सबै सदस्य यही काममा खटिन्छन्, यसले हामीलाई आत्मनिर्भर बनाएको छ,” उहाँले भन्नुभयो।
हल्कारापूर्वामा परम्परागत रूपमा भैँसीपालन गर्दै आएकासँगै पछिल्लो समय युवा पुस्ता पनि यस पेशातर्फ आकर्षित हुँदै गएको देखिन्छ। ३१ वर्षीय विष्णुप्रसाद यादवले १९ वटा भैँसी पाल्दै आउनुभएको छ। उहाँका अनुसार भैँसीपालनबाट हुने आम्दानी स्वदेश वा विदेशको रोजगारीभन्दा पनि सन्तोषजनक छ।
“जागिर गर्दा अरूको आदेश पाल्नुपर्छ, तर यहाँ आफ्नै काम भएकाले स्वतन्त्रता पनि छ र आम्दानी पनि राम्रो छ,” उहाँले भन्नुभयो। उहाँजस्तै अर्का युवा रामफेरन यादवले ३७ वटा भैँसी पाल्दै आउनुभएको छ। सानैदेखि सिकेको काम भएकाले भैँसीपालन आफूलाई सहज, भरपर्दो र दीर्घकालीन आम्दानीको स्रोत बनेको उहाँको भनाइ छ।
यस गाउँमा पछिल्लो समय स्थानीय जातका भैँसीभन्दा मुर्रा जातप्रति किसानहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। मुर्रा भैँसीले बढी दूध दिने भएकाले सुरुवाती लगानी महँगो भए पनि छोटो समयमै प्रतिफल दिने किसानहरूको अनुभव छ। रामफेरन यादवले डेढ लाख रुपैयाँमा मुर्रा भैँसी खरिद गरेको जानकारी दिँदै आफ्नो फार्मबाट मात्रै दैनिक ५० लिटरभन्दा बढी दूध उत्पादन हुने बताउनुभयो।
तर, यति ठूलो परिमाणमा भैँसीपालन र दूध उत्पादन भइरहेको भए पनि हल्कारापूर्वाका किसानहरू सरकारी सेवा–सुविधाबाट भने अझै टाढै रहेको गुनासो गर्छन्। स्थानीय किसान दिनेशप्रसाद यादवका अनुसार किसानका लागि ल्याइने अनुदान, तालिम तथा अन्य सहयोग कार्यक्रमहरू अझै गाउँसम्म प्रभावकारी रूपमा पुग्न सकेका छैनन्।
“हामीले यत्रो उत्पादन गरिरहेका छौँ, तर सरकारले दिने अनुदान र सुविधा अझै पाएका छैनौँ। यदि आवश्यक सहयोग पाइयो भने अझ ठूलो स्तरमा उत्पादन विस्तार गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
समग्रमा, हल्कारापूर्वा गाउँले परम्परागत भैँसीपालन व्यवसायलाई आधुनिक आर्थिक अवसरसँग जोड्दै आत्मनिर्भरता र समृद्धिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यद्यपि, यस सफलतालाई अझ दिगो र व्यवस्थित बनाउन सरकारी निकायको समयमै ध्यान, लगानी र सहजीकरण अपरिहार्य देखिन्छ।





