२०८२ फाल्गुन २९ गते
×

Now Playing

समानुपातिकतर्फ सिट बाँडफाँट टुंगो, दलहरूलाई तीन दिनभित्र सांसदको नाम पठाउन आयोगको निर्देशन

काठमाडौं ,२९ फाल्गुन ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सिटको अन्तिम टुंगो लगाएको छ। आयोगले बिहीबार सिट बाँडफाँट सार्वजनिक गर्दै सिट पाएका राजनीतिक दलहरूलाई तीन दिनभित्र समानुपातिक सांसदका लागि उम्मेदवार छनोट गरी आयोगमा पेस गर्न औपचारिक पत्राचार गरेको जनाएको छ।
आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ यसपटक छ वटा दलले मात्रै प्रतिनिधित्व पाउने भएका छन्। सार्वजनिक विवरणअनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ। उक्त पार्टीले ५७ सिट हासिल गरेको आयोगले जनाएको छ।

त्यस्तै, नेपाली कांग्रेसले २० सिट प्राप्त गरेको छ भने नेकपा एमालेले १६ सिट पाएको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ९ सिट हासिल गरेको आयोगले जनाएको छ।
समानुपातिक प्रणालीअन्तर्गत श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान रूपमा ४–४ सिट प्राप्त गरेका छन्। आयोगका अनुसार यी दलहरूले कानुनमा व्यवस्था भएअनुसार समावेशी सिद्धान्त र निर्वाचन कानुनको मापदण्डअनुसार उम्मेदवार छनोट गरी आयोगमा नामावली पेस गर्नुपर्नेछ।
निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सांसद चयन गर्दा संविधान र निर्वाचनसम्बन्धी कानुनले तोकेका समावेशी प्रतिनिधित्वका आधारहरू अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। समानुपातिक प्रणालीमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ।
समानुपातिकतर्फ सांसदको सिट दलहरूले पाएको मतको अनुपातका आधारमा निर्धारण हुने व्यवस्था छ। निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल मतका आधारमा सिटको गणना गरेर अन्तिम परिणाम सार्वजनिक गरेको हो।


आयोगले अब दलहरूबाट प्राप्त हुने उम्मेदवारहरूको नामावली अध्ययन गरी कानुनी मापदण्डअनुसार भए नभएको परीक्षण गर्ने जनाएको छ। यदि नामावली समावेशी मापदण्डअनुसार नभएमा सम्बन्धित दललाई सच्याएर पुनः पठाउन पनि आयोगले निर्देशन दिन सक्ने बताइएको छ।
तीन दिनभित्र दलहरूले उम्मेदवारहरूको नामावली बुझाएपछि आयोगले अन्तिम प्रमाणीकरण प्रक्रिया अघि बढाउनेछ। त्यसपछि समानुपातिकतर्फ चयन भएका सांसदहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फ सिट बाँडफाँट टुंगो, दलहरूलाई तीन दिनभित्र सांसदको नाम पठाउन आयोगको निर्देशन

रेमिटेन्समा उच्च वृद्धि, माघसम्म १२ खर्ब ६१

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds