निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई जुम्लामा सामूहिक बिदाइ

गाेल्डेन बुढा

जुम्ला ,२९ फाल्गुन ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी बिदा भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले बिहीबार सदरमुकाम खलंगास्थित विपद् व्यवस्थापन गुल्ममा ओैपचारिक कार्यक्रम आयोजना गरी निर्वाचन प्रहरीलाई अबिर र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरेको हो। अन्य स्थानमा खटाइएका निर्वाचन प्रहरीलाई भने सम्बन्धित पाइक पर्ने प्रहरी चौकीबाट प्रमाणपत्र दिई बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीले जानकारी दिए।निर्वाचन अवधिभर जिल्लाका विभिन्न मतदानस्थल र मतदान केन्द्रमा खटिएका ९ सय ७४ जना निर्वाचन प्रहरीलाई सामूहिक रूपमा बिदाइ गरिएको हो। निर्वाचन सुरक्षाका लागि जुम्लामा नेपाल प्रहरीका ८ सय ७८ र सशस्त्र प्रहरी बलका ९६ जना गरी कुल ९ सय ७४ जना भर्ना गर्ने कोटा निर्धारण गरिएको थियो। सोहीअनुसार माघ १८ गते उनीहरू भर्ना भई जिल्लाभर निर्वाचन सुरक्षाको जिम्मेवारीमा परिचालित भएका थिए।आम निर्वाचनको सुरक्षा व्यवस्थापनमा निर्वाचन प्रहरीको भूमिका महत्त्वपूर्ण मानिन्छ। सीमित समयको तालिमपछि दुर्गम भौगोलिक अवस्था, कठिन आवागमन, सञ्चारको सीमित पहुँच र भौतिक पूर्वाधारको अभावबीच उनीहरूले निर्वाचन सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको योगदानको औपचारिक कदरसमेत गरिएको थियो।जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौड्यालले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा निर्वाचन प्रहरीको भूमिका निर्णायक रहेको बताए। उनका अनुसार लोकतान्त्रिक प्रक्रियाको सबैभन्दा संवेदनशील चरण मानिने मतदानको समयमा स्थानीय तहसम्म सुरक्षा उपस्थिति सुनिश्चित गर्नु राज्यका लागि ठूलो चुनौती हुने गर्छ।“छोटो अवधिको तालिमपछि पनि निर्वाचन प्रहरीहरूले जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेका छन्,” उनले भने, “४० दिने कार्यअवधिमा सिकेको ज्ञान, सीप र अनुशासनले उनीहरूको व्यक्तिगत जीवन मात्र होइन, सामाजिक व्यवहारमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास छ।”निर्वाचन प्रहरी बिमला रावतले छोटो समय भए पनि सुरक्षा व्यवस्थापनमा खटिँदा जीवन उपयोगी अनुभव प्राप्त भएको बताइन्। “सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकायो,” उनले भनिन्, “यी कुरा दैनिक जीवनमा पनि काम लाग्ने अनुभव भयो।”‘हामीले आफ्नो जिम्मेवारी पूरा गरेर घर फर्किएका छौँ,’ उनले थपिन्, ‘अबको आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा पनि हामीलाई अवसर प्राप्त होस् भन्ने अपेक्षा छ।’जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रबिनबाबु रेग्मीले राज्यले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेकोमा निर्वाचन प्रहरीलाई धन्यवाद दिए।

उनले आगामी प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा पनि आवश्यकता अनुसार उनीहरूलाई पुनः सहभागी हुन आग्रह गरे।निर्वाचन प्रहरीलाई रासन भत्ता, पोशाक खर्च, तलब, परिचालन खर्च र खाजा खर्चसमेत समेटेर कर कटाएर ६१ हजार ७ सय ९१ रुपैयाँ बैंक खातामार्फत भुक्तानी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको हो।निर्वाचनका क्रममा जिल्लाभरका मतदानस्थल तथा मतदान केन्द्रलाई सुरक्षा दृष्टिकोणले वर्गीकरण गरेर सुरक्षा रणनीति तय गरिएको थियो। जिल्लाभर रहेका ८५ मतदानस्थलमध्ये ५२ वटा अति संवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य सूचीमा राखिएका थिए।यस्तै, १ सय १० मतदान केन्द्रमध्ये ६४ लाई अति संवेदनशील, २५ लाई संवेदनशील र २१ वटालाई सामान्यमा वर्गीकरण गरिएको थियो। भौगोलिक विकटता, सञ्चारको पहुँच अभाव, मतदान केन्द्रको भौतिक संरचना, सडक सञ्जालको अवस्था, खानेपानी तथा बिजुली व्यवस्थालगायतका सम्भावित सुरक्षा चुनौतीलाई आधार मानेर वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रेग्मीले जानकारी दिए।सोही वर्गीकरणका आधारमा सुरक्षा रणनीति तय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरिएको थियो। दुर्गम हिमाली जिल्लामा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायबीचको समन्वय र स्थानीयस्तरमा परिचालित अस्थायी सुरक्षा जनशक्तिको भूमिका महत्वपूर्ण हुने सुरक्षा अधिकारीहरू बताउँछन्।यता जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ जना रहेको थियो। जसमध्ये महिला मतदाता ३४ हजार २ सय ८० र पुरुष मतदाता ३७ हजार ४ सय ५९ जना रहेका थिए।

निर्वाचनमा ४० हजार ८ सय ७८ मत खसेको थियो। समानुपातिकतर्फ खसेको ४१ हजार १ सय ५१ मतमध्ये १ हजार ३ सय ३२ मत बदर भएका थिए भने प्रत्यक्षतर्फ १ हजार ७ सय ५ मत बदर भएको तथ्यांक जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।दुर्गम भौगोलिक अवस्थाबीच पनि निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायसँगै निर्वाचन प्रहरीको सक्रियता महत्त्वपूर्ण रहेको प्रशासनले जनाएको छ।

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई जुम्लामा सामूहिक बिदाइ

कर्णालीका सुत्केरीको जोखिम : उपचार ढिला र

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई जुम्लामा सामूहिक बिदाइ

समानुपातिकतर्फ सिट बाँडफाँट टुंगो, दलहरूलाई तीन दिनभित्र

Leave a comment

Your email address will not be published. Required fields are marked *