यशोधरा माध्यमिक विद्यालयको सामाजिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

कपिलवस्तु,१६ असोज ।
कपिलवस्तु नगरपालिका–३ तौलिहवास्थित श्री यशोधरा माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। विद्यालयको आर्थिक, शैक्षिक, भौतिक तथा व्यवस्थापकीय गतिविधिलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार सामाजिक लेखापरीक्षण तथा प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम आयोजना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय, शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, व्यवस्थापकीय पक्ष तथा विद्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रमका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक विकास बन्जाडेले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले विद्यालयको आम्दानी तथा खर्च, शैक्षिक उपलब्धि, विद्यार्थीको सिकाइ अवस्था, भौतिक संरचना, विद्यालय सञ्चालनका क्रममा भएका गतिविधि तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषय समेटेर प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सामाजिक लेखापरीक्षणलाई विद्यालयको आर्थिक गतिविधि सार्वजनिक गर्ने औपचारिक प्रक्रिया मात्र नभई विद्यालयको समग्र अवस्था मूल्याङ्कन गर्ने र सुधारका लागि मार्गनिर्देशन प्राप्त गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभएको थियो। उहाँले विद्यालयको विकास र शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
विद्यालयका प्रधानाध्यापक विनोदकुमार गुप्तले सामाजिक लेखापरीक्षणले विद्यालयका गतिविधि पारदर्शी बनाउनुका साथै विद्यालयप्रति अभिभावक तथा समुदायको विश्वास बढाउन सहयोग पुग्ने बताउनुभएको थियो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, भौतिक पूर्वाधार विकास तथा व्यवस्थापकीय सुधारलाई प्राथमिकतामा राखेर विद्यालय अघि बढिरहेको जानकारी दिनुभयो।

उहाँले विद्यालयको प्रगति शिक्षक र विद्यालय प्रशासनको प्रयासले मात्र सम्भव नहुने भन्दै अभिभावक तथा समुदायको निरन्तर सहयोग र निगरानी आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीको नियमित उपस्थिति, अध्ययनप्रति अभिभावकको चासो र घर तथा विद्यालयबीचको समन्वयले विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष प्रकाश गैरेले आफ्नो गाउँ–ठाउँको विद्यालयको समग्र विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष गैरेले विद्यालयको गुणस्तर सुधारमा अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउँदै आफ्ना बालबालिकाको पढाइ, नियमित उपस्थिति, अनुशासन र सिकाइप्रति अभिभावकले विशेष ध्यान दिन आग्रह गर्नुभयो। विद्यालयको विकास सरकार वा विद्यालय प्रशासनको मात्र जिम्मेवारी नभई अभिभावक, शिक्षक, विद्यार्थी र समुदाय सबैको साझा दायित्व भएकाले सबैले अपनत्वका साथ योगदान गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा शिक्षक प्रतिनिधि चन्द्रकला सुनारले स्वागत मन्तव्य व्यक्त गर्दै सामाजिक लेखापरीक्षणले विद्यालयका गतिविधि समुदायसमक्ष खुला रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक, अभिभावक र समुदायबीच सहकार्य र नियमित संवाद आवश्यक रहेको उल्लेख गर्नुभयो।
सामाजिक लेखापरीक्षणका क्रममा विद्यालयको आर्थिक तथा व्यवस्थापकीय गतिविधिमाथि सहभागी सरोकारवालाबाट राय, सुझाव तथा प्रतिक्रिया पनि संकलन गरिएको थियो। सहभागीहरूले विद्यालयको कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सामाजिक लेखापरीक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य वर्षादी यादव, चन्दा कुर्मी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला तथा अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।

विद्यालयले हरेक वर्ष सामाजिक लेखापरीक्षणमार्फत आफ्नो आर्थिक, शैक्षिक तथा व्यवस्थापकीय गतिविधि सार्वजनिक गर्दै आएको जनाएको छ। सामाजिक लेखापरीक्षणले विद्यालय र समुदायबीचको सम्बन्ध थप मजबुत बनाउँदै विद्यालय सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक व्यवस्थापन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





