डुडुवामा २४ सै घण्टा सेवा दिने आधारभूत अस्पतालले स्थानीय खुशी
बाँके ,२७ चैत ।
बाँकेको डुडुवा गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसी छाएको छ । डुडुवा–२ स्थित बेतहनी स्वास्थ्य केन्द्र अन्तर्गत स्थापना गरिएको उक्त अस्पतालबाट बुधबारदेखि २४ सैं घण्टा सेवा सुरु भएको हो । अस्पताल सञ्चालनसँगै अब सामान्यदेखि आकस्मिक उपचारका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् । ‘पहिले सानो समस्या हुँदा पनि शहर जानुपर्ने अवस्था थियो, अब गाउँमै सेवा पाउँदा निकै राहत मिलेको छ,’ स्थानीय राजेश कुर्मीले खुसी व्यक्त गरे । संघीय सरकारको मापदण्डअनुसार निर्माण गरिएको अस्पतालले ग्रामीण क्षेत्रमा सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । अस्पतालमा मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जना स्वास्थ्यकर्मी खटिएका छन् ।
यहाँ आकस्मिक सेवा, प्रयोगशाला, औषधि सेवा, डिजिटल एक्स–रेलगायतका सुविधाहरू उपलब्ध छन् । स्वास्थ्य शाखाका अनुसार विपन्न, गरिब, असहाय तथा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिइनेछ भने अन्य सेवाग्राहीले पनि सहुलियत दरमा उपचार पाउनेछन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको बताए । उनले आगामी दिनमा अझ स्तरोन्नति गर्दै सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाए । डुडुवा गाउँपालिकाले पछिल्लो समय प्रयोगशाला सेवा, एम्बुलेन्स, खोप, प्रसूति सेवा र गाउँघर क्लिनिकमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएको छ । अस्पताल सञ्चालनसँगै स्थानीयले समयमै उपचार पाउने, खर्च घट्ने र स्वास्थ्य सेवामा सहज पहुँच बढ्ने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारको सुदृढीकरणले समग्र जीवनस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।





