अजय सुमार्गीको गोजिमा अन्यौल छ  चौकुने सिमेन्ट उद्योगको भविष्य

ओम शाही

सुर्खेत,२७ चैत ।

सुर्खेतको साविक गुटु गाउँ विकास समितिमा पर्ने चौकुने डाँडाको ११ हजार रोपनी क्षेत्रफलमा चुनढुङ्गा खानी छ भनेर खानी विभागले २०३९ सालमा पत्ता लगायो । खानी विभागले २०३५ देखि २०३९ सालसम्म अध्ययन गरेर चौकुनेको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । त्यसको २७ बर्षपछि अर्थात २०६६ सालमा मुक्ति श्री सिमेन्ट इन्डिष्ट्रिज प्रालिले चौकुनेमा खानी उत्खनन तथा सिमेन्ट उद्योग खोल्नका लागि विभागबाट इजाजत लियो । इजाजत लिएको केही समयपछि कम्पनीका प्रतिनिधिहरु गाउँमा आएपछि स्थानीयले गुटुमा सिमेन्ट उद्योग खुल्न लागेको थाहा पाए । भारतमा अस्थायी रोजगारी गरेर रोजिरोटी चलाउँदै आएका गुटुका अधिकांस स्थानीयमा सिमेन्ट उद्योग खुलेपछि गाउँमै रोजगारी पाइने र भारत जानुपर्ने बाध्यता हट्ने आशा जाग्यो । त्यस्तै आशा राख्नेहरु मध्य एक थिए काशिराम देवकोटा । साविक गुटु गाविसका अध्यक्षसमेत भइसकेका देवकोटा समयमै सिमन्ट उद्योग सञ्चालन गर्नुपर्छ भनेर छलफल तथा लविङ्ग गर्नेहरु मध्य अंग्रपंक्तिमा हुन्थे । उनले आफ्‌ना पुस्ताले आधा जीवन रोजगारीका लागि भारतमै बिताएपनि सिमेन्ट उद्योग खुलेपछि अबका पुस्ताले गाउँमै रोजगारी पाउने छन् भन्ने अपेक्षा गरेका थिए । देवकोटाको गत कात्तिकमा हृदयघातका कारण निधन भैसकेको छ ।

तर मुक्ती श्रीले अनुमती लिएको १७ बर्षसम्म उद्योग स्थापनाको कुनै सुरसार गरेको छैन । गुटुमा सम्पर्क कार्यालयको बोर्ड झुण्ड्याको भएपनि कम्पनीका प्रतिनिधि बर्षमा एक–दुई पटक मात्र आउछन । मुक्ती श्री व्यवसायी अजय सुमार्गीको कम्पनी हो । उद्योग सञ्चालनको काम अघि नबढाएपनि राजनीतिक आडमा सुमार्गीले कम्पनी नविकरण गर्दै आएका छन् । काम नगरे इजाजत रद्ध नगर्न सुर्खेतका व्यवसायी, राजनीतिक दलका नेताहरुलेसमेत पटक–पटक प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएपनि सुमार्गीले भने राजनीतिक पहुँचका आधारमा म्याद थप्दै आएका छन् । ५ असार २०७६ मा हेलिकप्टरबाट खानी निरीक्षणमा पुगेका सुमार्गीले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर तत्कालै उद्योग स्थापनाको काम अघि बढाउने बताएका थिए । उनले ‘आर्थिक समृद्धिको सूर्य अब कर्णालीबाट उदाउने भाषण छाँट्दै २०७७ भदौबाट प्रतिदिन ६ सय टन सिमेन्ट उत्पादन सुरु गर्ने’ आश्वासन दिएका थिए । तर त्यसको छ बर्ष वित्दासम्म उद्योग स्थापनाका लागि सिन्को भाँच्ने काम भएको छैन । पूर्ण रुपमा उद्योग सञ्चालनभएपछि दैनिक एक हजार पाँच सयदेखि पाँच हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने र दुई हजार जनालाई रोजगारी दिने कम्पनीको लक्ष्य छ ।

लाइसेन्स लिएर लामो समय होल्ड गर्ने तर उद्योग सञ्चालन नगर्ने नियति देखिएको भन्दै चौकुने गाउँपालिकाले कम्पनीको नविकरण रोक्न पहल गरेको छ । खानी विभागमा नविकरणका लागि खानी स्थलको जग्गाको तिरो बुझाएको हुनुपर्छ । त्यही कडी समातेर चौकुनेले कार्यपालिका बैठकबाटै निर्णय गरेर विगत दुई बर्षदेखि कम्पनीको नाममा रहेको जमिनको राजश्व बुझेको छैन । कम्पनीले हालसम्म खानी क्षेत्रमा ९० रोपनी मात्रै जग्गा खरिद गरेको छ । खानी सञ्चालनका लागि थप तीन सय रोपनी क्षेत्रफल जग्गा र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका करिव पाँच सय रोपनी जग्गा आवश्यक रहेको कम्पनीले नै गाउँपालिकालाई लेखेको एक पत्रमा उल्लेख  छ ।

उद्योग सञ्चालनका लािग चौकुने गाउँपालिकाले कम्पनीललाई बारम्बार ताकेता गरिरहेको छ । चौकुने गाउँपालिकाले ११ भदौ २०८१ मा कम्पनीलाई अलपत्र रहेको उद्योग संचालन गर्ने–नगर्ने सम्बन्धमा ध्यानाकर्षण गराउँदै एक पत्र पठाएका थियो । पत्रमामा प्रस्तावित चौकुने सिमेन्ट उद्योगले विगत लामो समयदेखि निर्माण ठेक्का पाएको मुक्तिश्री प्रालिले हालसम्म पनि उद्योग सञ्चालन गर्न नसकेको र उद्योगलाई संचालन नगर्ने नियतले अन्यौलतामा पारेको उल्लेख गरिएको छ । पालिकाका अध्यक्षको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘इजाजत अनुमति पत्र पाएको एक दशक बित्दा पनि चुनढुङ्गा उत्खनन् कार्य नगरी पटक–पटक म्याद मात्र थप्दै आएको र खानी क्षेत्र चौकुने गाउँपालिका वडा नम्बर ६ कुवा, खोप्री, थरालगाउँ काफलगैरा, ओटपोखरी लगायतका क्षेत्रफलमा फैलिएको छ । यति ठुलो आयोजना संचालन हुन नसक्दा चौकुने गाउँपालिका लगायत आसपासका नागरिकको रोजगारी खोसिनुका साथै अन्य विकासमा समेत नकरात्मक असर परेको कुरा जानकारी गराउन चाहन्छु ।’ उद्योग संचालनमा ल्याउन सकिने अवस्था छ या छैन? यसको यथासिघ्र तथ्यसहित जानकारी दिन र यदि उद्योग संचालन गर्न सम्भव छ भने उद्योगलाई आवश्यक पर्ने दर्ता जग्गाको हकमा सरकारी नियमअनुसार अधिग्रहण प्रक्रियामा जान र सरकारी ऐलानी जग्गाको हकमा एकमुस्ट जग्गा प्राप्तिको प्रक्रियामा जानसमेत उनले अनुरोध गरेका छन् ।

लाइसेन्स मात्र नविकरण गर्ने उद्देश्य भएपछि राजश्व नलिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् । ‘चौकुने सिमेन्ट उद्योगसँग हाम्रो समृद्धिको सपना जोडिएको छ’ अध्यक्ष बि.क.ले कारोबारसँग भने,‘बिडम्वना १७ बर्षदेखि  चौकुनेवासीको समृद्धिको सपना १७ बर्षदेखि सुमार्गीको बन्धकीमा छ ।’ यता मुक्ती श्रीका प्रतिनिधि लोकराज अधिकारी सरकारले राजश्व नै नलिनु ऐन कानुन विपरित भएको बताउछन । विगतमा भौतिक पूर्वाधार लगायतको असुविधाले उद्योग सुरु गर्न नसकेको उनको दाबि छ । अब भने उद्योग सुरु गर्ने तयारीमा रहेको अधिकारीले कारोबारसँग बताए । ‘खानीसम्म पुग्न सडक, विद्युत लगायतको समस्याले गर्दा चाहेर पनि काम गर्न सकेका थिएनौँ’ अधिकारीले भने, ‘अब छिट्टै उद्योग स्थापनाको काम थाल्ने तयारीमा छौँ ।’ गाउँपालिका अध्यक्ष विकले भने २०७७ सालमै खानी स्थल चौकुनेसम्म सडक पुगिसकेका र विधुत प्रसारण लाइनका लागि पोल गाड्ने काम भैरहेको बताए । उद्योग राख्ने भनिएको स्थापनास्थल गुटसम्म राष्ट्रिय प्रसारण लाइन पुगिसेको छ भने मध्य पहाडी राजमार्ग अन्तर्गत पक्की सडक निर्माण भैसकेको छ । काम सुरु गर्नेभएमा जग्गा प्राप्ति, पूर्वाधार लगायतमा आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको अध्यक्ष विकले बताए ।

 

अजय सुमार्गीको गोजिमा अन्यौल छ   चौकुने सिमेन्ट उद्योगको भविष्य

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,

अजय सुमार्गीको गोजिमा अन्यौल छ   चौकुने सिमेन्ट उद्योगको भविष्य

अनावश्यक दबाब नदिन  गाउँपालिका महासंघको ध्यानाकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *