युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु

काठमाडौँ, २३ साउन । 

नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सृजनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’  अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।

‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नाराका साथ त्रिभुवन विश्वविद्यालयमा विशेष कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिएको हो । आयोजकका अनुसार विकसित मुलुकमा आर्थिक समृद्धिको आधार नवप्रवर्तन, अनुसन्धान, प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि त्यसैअनुरूप उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।

अभियानले बढ्दो प्रतिभा पलायनलाई रोकेर युवाको ज्ञान, सीप, क्षमता र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्य राखेको छ । अभियानले विद्यार्थी, युवा, उद्यमी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिलाई स्टार्टअप, व्यवसाय दर्ता प्रक्रिया, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार, व्यवसाय सञ्चालनका चुनौती, जोखिम व्यवस्थापन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय बजारका सम्भावनाबारे व्यावहारिक जानकारी प्रदान गर्नेछ ।

कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको आयोजकले जनाएको छ । आगामी दिनमा काठमाडौँ विश्वविद्यालयसहित देशका अन्य विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।

यस अभियानमार्फत सरकार, विश्वविद्यालय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, लगानीकर्ता र युवाबीच सहकार्यको वातावरण निर्माण गरी नेपालमा सशक्त स्टार्टअप इकोसिस्टम विकास गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थी प्राध्यापक, कर्मचारी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारीमुखीमात्र नभई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताए । उनले नेपाललाई समृद्ध बनाउने अभियानमा स्टार्टअपको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता कार्यक्रम देशभर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले विश्वविद्यालय विद्यार्थीलाई सिर्जनशील, अनुसन्धानमुखी र उद्यमशील बनाउन आवश्यक सहयोग गर्न विश्वविद्यालय सधैँ तयार रहेको बताए । स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा बढ्दो युवा पलायनलाई अवसरमा रूपान्तरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताए । 

उनले नेपालमा प्रतिभा, सम्भावना र सिर्जनशीलताको कमी नरहेको उल्लेख गर्दै सही सोच, उचित मार्गदर्शन र अवसर उपलब्ध गराउन सके युवाले स्वदेशमै अवसर सृजना गर्न सक्ने विश्वास व्यक्त गरे । उनले अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको जानकारी दिँदै आगामी दिनमा सातै प्रदेश र ७७ जिल्लामा पुगेर स्टार्टअप, नवप्रवर्तन, व्यवसाय सञ्चालन, विश्वबजारका अनुभव, सफल उद्यमीका कथा, लगानीका अवसर तथा सरकारी नीतिबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिने बताए । साथै अभियानमा सहभागिताका लागि युवा, शैक्षिक संस्था, सरकारी निकाय तथा निजी क्षेत्रलाई सहकार्यका लागि आग्रह गरे ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार रौनियारले सफल व्यवसायका लागि ठूलो पुँजीभन्दा सही सोच, इच्छाशक्ति र निरन्तर मिहिनेत आवश्यक हुने बताए ।

उनले कम्पनी दर्तादेखि व्यवसाय सञ्चालन, कानुनी प्रक्रिया, बजार अध्ययन, लगानी व्यवस्थापन तथा स्टार्टअप कर्जासम्मका विषयमा प्रस्तुति दिँदै विद्यार्थी जीवनमै सीप, अनुभव र आत्मविश्वास विकास गर्न सके सफल उद्यमी बन्न सहज हुने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा भारत थापाले शैक्षिक संस्थामा यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै भविष्यमा पनि विश्वविद्यालयले यस्ता कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सफल नेपाली स्टार्टअप उद्यमीको सहभागिता रहेको थियो । साथै वैदेशिक रोजगारीबाट नेपाल फर्किएर स्टार्टअप कर्जाको उपयोग गरी सफल व्यवसाय स्थापना गरेका नेपाली उद्यमीको प्रेरणादायी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।  वृत्तचित्रले सहभागी विद्यार्थी तथा युवामा उत्साह र आत्मविश्वास बढाएको आयोजकले जनाएको छ ।

प्रश्नोत्तर सत्रमा सहभागी विद्यार्थीले स्टार्टअप, उद्यमशीलता, लगानी, व्यवसाय सञ्चालन, बजार विस्तार तथा सरकारी नीतिसम्बन्धी जिज्ञासा राखेका थिए । उपस्थित वक्ताले ती जिज्ञासाको जवाफ दिँदै व्यावहारिक सुझाव र मार्गदर्शन प्रदान गरेका थिए । 

आयोजकका अनुसार स्टार्टअप समिट नेपाल–२०२६ एकदिने कार्यक्रम मात्र नभई नेपालमा नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास गर्ने दीर्घकालीन राष्ट्रिय अभियान हो ।  अभियानमार्फत देशभरका विश्वविद्यालय, कलेज, विद्यालय, उद्योग, वित्तीय संस्था, सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै युवालाई आत्मनिर्भर, उत्पादनमुखी र रोजगारी सृजना गर्ने नेतृत्वका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमको आयोजना स्टार्टअप समिट नेपाल–२०२६ र नीति रिसर्चले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागको सहकार्यमा गरेको हो । त्यस अवसरमा नेपालमा नवप्रवर्तनमा आधारित आर्थिक विकासलाई देशव्यापी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’ 

Leave a comment

Your email address will not be published. Required fields are marked *