प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु चुनाव लक्षित राजनीतिक गतिविधि सञ्चालनमा रोक

ओम शाही
सुर्खेत, १९ फागुन ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनअघिदेखि मौन अवधि सुरु भएको छ । गएराति (सोमबार) १२ बजेबाट चुनावी आचारसंहिता अनुसार मौन अवधि सुरु भएको हो । मौन अवधि सुरु भई मतदान सम्पन्न नभएसम्मका लागि राजनीतिक दल हुन वा उनका समर्थकले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र मत प्रभावित गर्न पाउने छैनन् ।
यसअवधिमा मतपरिणाम आफ्नो पक्षमा पार्न कुनै पनि चुनावी गतिविधि गरेको पाइए कानुन बमोजिम त्यस्ता कार्यमा संलग्न दल, उम्मेदवार र समर्थक वा कार्यकर्तालाई कारवाही हुनेछ । मौन अवधिको अनुमगन निर्वाचन आचारसंहिताअनुसार २४ सैं घण्टा गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
चुनावी प्रचार प्रसारको ज्वरो शान्त होस्, मतदातालाई स्वतन्त्र निर्णय गर्ने समय रहोस्, मतदानको समयमा अप्रिय घटना नहोस् भनेर मौन अवधि राखिने गरिन्छ । उम्मेदवारका चुनावी गतिविधि पनि मौन रहने भएकाले मौन अवधिले चुनावी वातावरण बनाउने गर्छ ।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको तीन सय मिटर वरपर प्रचारप्रसारका सामग्री राख्न दिदैन । ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने,’ आयोगले तयार पारेको आचारसंहितामा भनिएको छ ।
मौन अवधिमा चुनाव प्रचारप्रसारलगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने प्रवक्ता भट्टराईले बताए । त्यस्तै, सामाजिक सञ्जालमार्फन पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन । त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन पाइने छैन ।
मतदान हुने दिनको अघिल्लो अठचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले आचरण पालन गर्नुपर्ने आयोगले भनेको छ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आयोगले आग्रह गरेको छ ।
निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा उपरोक्तबमोजिम कार्य भए गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सूक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ ।
हेलिबाट पुगे कर्मचारी र निर्वाचन सामग्री
आगामी बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला र डोल्पाका उत्तरी क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्याइएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका चार मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारीलाई पुर्याएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।
हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका–६, स्थित पाँच हजार दुई सय मिटर उचाइको न्यालु लेक र नाम्खा गाउँपालिका–५ को चार हजार नौ सय ४९ मिटर उचाइको नारा लेक पूर्णरुपमा बन्द भएपछि सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्याइएको उनले बताए ।
प्रजिअ रेग्मीका अनुसार नाम्खा गाउँपालिका–६, को हिमशिखर प्रथामिक विद्यालयल तिल गाउँ, सुनखानी आधारभूत विद्यालय हल्जी र भृकुटी आधारभूत विद्यालयमा रहेका मतदान स्थलमा हेलीमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइएको हो । माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडक खण्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको पनि उनले बताए ।
कर्णाली करिडोर हिल्सा सिमकोट सडक योजना कार्यालयले नारा लेकको हिउँ पन्छाएपछि हिमपातले अवरुद्ध सडक खुलेको हो । उनका अनुसार नाम्खा गाउँपालिका–६ को पाँच हजार दुई मिटर उचाइको न्यालु लेकको हिउँ पनि पन्छाउने काम जारी छ । यस्तै, डोल्पाको उत्तरी क्षेत्रमा पर्ने २३ मतदान स्थल मध्ये २० वटामा निर्वाचन सामग्री र कर्मचारीलाई हेलिकप्टरबाट पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन । उपल्लो डोल्पाका तीन वटा मतदान स्थलमा मंगलबार हेलिबाट कर्मचारी र निर्वाचन सामग्री पुग्ने उनले बताइन । उनका अनुसार मतदान स्थल सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ भइसकेको छ ।
डोल्पामा एमाले र नेकपाका कार्यकर्ताबीच झडप
डोल्पामा नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच झडप भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारमा रहेका दुई दलबीच उपल्लो डोल्पमा झडप भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पुष्टि गरिन ।
यद्यपी, घटनाका बारेमा विस्तृत जानकारी भने आइन नसकेको उनले बताइन । ‘उपल्लो डोल्पमा दुई दलबीच झडप भएको भन्ने आएको छ,’ उनले भनिन्, ‘चुनावी प्रचारका क्रममा उहाँहरुको भेट भएपछि झडप भएको भन्ने प्रारम्भिक रिपोर्ट आएको छ । उक्त क्षेत्रमा सञ्चारले राम्रोसँग काम नगर्ने भएकाले घटनाको वास्तविक विवरण आइसकेको छैन ।’
उनले घटनास्थलतर्फ प्रहरी परिचालन भइसकेको बताइन । उपल्लो डोल्पामा झडप भएपछि डोल्पा सदरमुकाम दुनैमा दलहरुले विरोध जनाएका छन् । प्रजिअ ढकालका अनुसार राजनीतिक दलहरुसँगको सर्वदलिय छलफल पश्चात अवस्था सामान्य बनेको थियो ।






