जुम्ला खेलकुदमा छैनन्, प्रशिक्षक
जुम्ला ,१९ बैशाख।
जुम्लाकाे जिल्ला खेलकुद विकास समिति लामो समयदेखि प्रशिक्षकविहीन छ । केही प्रशिक्षक अवकाश भइसकेका छन् भने केहीलाई राष्ट्रिय खेलकुद परिषद्ले पठाउन नसक्दा जिल्लामा प्रशिक्षक अभाव चुलिएको हो। अहिले जिल्लामा न प्रशिक्षक छन्, न त सक्रिय खेलाडी नै । यसले खेलकुद क्षेत्रलाई मात्र होइन, सम्भावनालाई समेत सुस्ताउँदै लगेको छ ।जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार एक जना कराँते प्रशिक्षकबाहेक सबै पद रिक्त छन् । कराँते प्रशिक्षक खड्क मल्ल भने मूलतः ब्याडमिन्टन खेलाडी हुन् । समितिमा ६ जनाको दरबन्दी रहे पनि ५ पद खाली छन् । प्रशिक्षकविहीन संरचना अहिले कागजमा मात्र सीमित बनेको छ ।प्रशिक्षक नहुँदा खेलकुद गतिविधि सञ्चालन हुन सकेको छैन । जिल्लास्तरीय टिम निर्माण गर्ने आधार नै कमजोर भएको छ । प्रतियोगितामा सहभागी हुनुपर्ने खेलाडी उत्पादन प्रक्रिया अवरुद्ध छ । अहिले जिल्ला फुटबल संघ जुम्लाले आफ्नै पहलमा प्रशिक्षक नियुक्त गरे पनि त्यो अपवाद मात्र हो ।‘पटक–पटक परिषद्मा प्रशिक्षक माग गरियो, तर सुनुवाइ भएन,’ प्रमुख न्यौपाने भन्छन्, ‘जुम्लामा खेल चलाउने आधार नै छैन । कर्णालीका धेरै जिल्लामा यही अवस्था छ ।’कराँते प्रशिक्षक मल्लसँग अहिले एक जना पनि खेलाडी छैनन् । राष्ट्रपति रनिङ शिल्डमा औपचारिक सहभागिता जनाउने बाहेक अन्य गतिविधि ठप्पजस्तै छन् । एथ्लेटिक्स प्रशिक्षक तथा विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया र भलिबल प्रशिक्षक बरमबहादुर महतको अवकाशसँगै जिल्लाले अनुभव र नेतृत्व दुवै गुमाएको छ ।स्थानीय तहमा खेलकुदको परम्परागत जीवन्तता हराउँदै गएको छ । तिला गाउँपालिकाका भलिबल खेलाडी प्रभु बुढा भन्छन्, ‘पहिले हरेक बस्तीमा भलिबल हुन्थ्यो, अहिले गाउँघरमै खेलकुद हराइसकेको जस्तो छ ।’राष्ट्रपति रनिङ शिल्डजस्तो विद्यालयस्तरको महत्वपूर्ण प्रतियोगिता समेत नियमित हुन सकेको छैन । गत वर्ष हिमा गाउँपालिकाबाहेक अन्य गाउँपालिकाले आयोजना गरेनन् । दुई वर्षअघि तातोपानी गाउँपालिकाले जिल्लास्तरीय प्रतियोगिता गरेको थियो । प्रशिक्षक अभाव, बजेटको कमी र समन्वय अभावले प्रतियोगिता निरन्तरता गुमाउँदै गएको छ ।जुम्लाका आठ स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३२ करोड बजेट ल्याए पनि खेलकुद क्षेत्र शून्य प्राथमिकतामा परेको छ । बजेटमा खेलकुदको नामसम्म उल्लेख छैन । पूर्वाधार अभावले नियमित प्रतियोगिता गर्न सकिने अवस्था छैन । निर्माणाधीन संरचना समेत अलपत्र छन् ।कर्णाली प्रदेश सरकारले जिल्ला स्तरमा समिति गठन गरी अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य–सचिवमा संगीता आचार्य नियुक्त गरे पनि उनीहरूको कार्यकाल विवादमै बित्यो । नीतिगत स्पष्टता र कार्यान्वयनको अभावले संरचना बने पनि परिणाम दिन सकेन ।विश्व कीर्तिमानी धावक रोकायाका अनुसार जुम्लाको खेलकुद अवस्था गम्भीर संकटमा छ । ‘पूर्वाधार छैन, अभ्यास गर्ने ठाउँ छैन, नियमित प्रतियोगिता हुँदैन,’ उनी भन्छन्, ‘खेलाडीलाई सामान्य चना–अण्डा खानसमेत बजेट छैन । यस्तो अवस्थामा प्रतिभा कसरी टिक्छ ?’जिल्लामा खेलकुदको समस्या बहुआयामिक छ । प्रशिक्षक अभाव यसको एउटा पाटो मात्र हो । बजेटको अभाव, पूर्वाधारको कमजोरी, नीतिगत अस्पष्टता, र स्थानीय तहको उदासीनता,यी सबै कारण एकअर्कासँग गाँसिएर खेल क्षेत्रलाई कमजोर बनाइरहेका छन् ।प्रतिभाशाली खेलाडीहरू अवसरको अभावमा हराउँदै गएका छन् । प्रशिक्षण नहुँदा क्षमता विकास रोकिन्छ, प्रतियोगिता नहुँदा प्रतिस्पर्धा हराउँछ, र प्रोत्साहन नहुँदा खेलप्रति आकर्षण घट्छ । अन्ततः खेलकुद केवल औपचारिक कार्यक्रममा सीमित बन्न पुग्छ ।यता जिल्ला खेलकुद विकास समितिले ‘वार्षिक खेलकुद क्यालेन्डर’ बनाउने तयारी थालेको छ । प्रमुख न्यौपानेका अनुसार सीमित स्रोतका बाबजुद समन्वय र सहकार्यमार्फत खेलकुदलाई पुनर्जीवित गर्न सकिने सम्भावना छ ।‘पूर्वाधारमा करोडौं खर्च गर्ने गाउँपालिकाले खेलकुदमा लाख मात्रै लगानी गरे पनि परिवर्तन सम्भव छ,’ उनी भन्छन्, ‘स्रोत सीमित भए पनि खेललाई चलायमान बनाउने अठोट लिएका छौं ।’बजेट अभावकै कारण खेलकुद विकास समितिकै आडमा निर्माणाधीन भलिबल मैदानमा प्यारापिट निर्माण अलपत्र परेको छ । जिल्लामा राम्रो खेलकुद मैदान पनि छैन ।





