सानाे लगानी, ठूलाे सपना: जुम्लाका धनकृष्णको मौसमी व्यापारबाट घरखर्च धान्ने संघर्ष कथा

गोल्डेन बुढा
जुम्ला,१२ असार।
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोई गाउँका ५२ वर्षीय धनकृष्ण आचार्यले मौसम अनुसारको सानाे व्यापारलाई जीवन निर्वाहको माध्यम बनाउँदै आएका छन्। व्यापारमा हात हाल्न २०५८ सालमा उनीसँग न पूँजी थियो, न त भरपर्दो साथ। गाउँमै दस हजार रुपैयाँ सापटी खोज्दा कसैले विश्वास नगरेपछि मन कटक्क कुँडियो।

जीवनको त्यो कठिन क्षणमा उनले हिउँ बेचेर पैसा कमाउने उपाय सोच्न थाले। चैत–वैशाखमा पाटनमा जमेको हिउँ खलंगामा पुर्‍याएर बेच्न थाले। पहिलो दिनमै चार हजार रुपैयाँ आम्दानी भएपछि उनलाई आशा पलायो। त्यसपछि मौसम अनुसार साग, फलफूल, तरकारीदेखि सुन्तला, स्याउ, नास्पाती, आरु, ओखर र केरा जस्ता वस्तु बोकेर गाउँ–सहर डुल्न थाले।

साँझ–बिहानको छाक टार्न यही मौसमी व्यापार नै उनको भर बनेको छ। बजारका गल्ली, बसपार्क, सरकारी कार्यालयदेखि खुला कार्यक्रममा पनि उनी फलफूल बेच्न पुग्छन्। “काम सानो–ठूलो हुँदैन, सानै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिन्छ,” भन्ने उनको विश्वास छ।

दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बजार डुलेर बेचबिखन गर्दै आएका आचार्यले मासिक १५ देखि २० हजार रुपैयाँ कमाइरहेका छन्। तर, यो कमाइ पनि उनको परिवारको सबै आवश्यकता पूरा गर्न पुग्दैन।

२०७३ सालमा रूखबाट खस्दा मेरूदण्ड भाँचिएपछि उपचारमा उनले धेरै गुमाए। कमाएको पैसा सकियो, चन्दा उठाउनुपर्‍यो। अहिले अवस्था केही सामान्य भए पनि छोरा डिप्रेशनको उपचारमा छन्। पाटन अस्पतालमा उपचार गराइरहेका छोराको उपचारमा मात्रै पाँच लाख सकियो, बाउछोराको उपचार गर्दागर्दै सात लाख ऋण थपियो।

“जीवनले धेरै कुरा सिकायो, मौसमसँगै व्यापार फेर्नुपर्छ,” आचार्य भन्छन्, “दुःख गरे अनुसारको खुसी भने अझै टाढा छ।”

अहिले पनि खलंगाको गल्लीमा स्याउ बोकेर हिँडिरहेका उनले प्रमाणित गरेका छन्– इच्छाशक्ति, इमानदार प्रयास र सानो लगानीले पनि जीवन अगाडि बढाउन सकिन्छ।

 

सानाे लगानी, ठूलाे सपना: जुम्लाका धनकृष्णको मौसमी व्यापारबाट घरखर्च धान्ने संघर्ष कथा

सम्पादकीय : खानेपानी संस्थामा राजनीति बन्द गर

Leave a comment

Your email address will not be published. Required fields are marked *