सुर्खेतमा घाँस काट्ने मेसिनबाट करेन्ट लाग्दा दम्पतीको मृत्यु
सुर्खेत ,९ साउन।
सुर्खेतमा घाँस काट्ने मेसिनबाट प्रवाह भएको करेन्टले दम्पतीको मृत्यु भएको छ । शुक्रबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेस्थित आफ्नै घरमा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीय श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग थापाका अनुसार विद्युतिय मेसिनद्वारा घाँस टुक्राउँदै गरेका आचार्य दम्पतीको करेन्ट लागेर मृत्यु भएको हो । उक्त मेसिनको तारबाट विद्युत प्रवाह भई करेन्ट लाग्दा गम्भीर घाइते भएका आचार्य दम्पतीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए । आचार्य दम्पतीले कृषि फर्म स्थापना गरेर लामो समयदेखि भैंसीपालन गर्दै आएका थिए ।





