गुणस्तरहिन मल दिएपछि,कृषक परे मर्कामा

गाेल्डेन बुढा
जुम्ला,९ साउन।
गुणस्तरहिन गँड्याैँला मल दिएको भन्दै जुम्लाको तातोपानी गाउँपालिकाका कृषक गुनासो गरेका छन्।कृषकलाई तातोपानी गाउँपालिकाले मल दिइएको हो।गँड्यौंला मल नाममा रातो माटोजस्तो मल दिएपछि कृषकहरु शसंकित बनेका छन्।गत आर्थिक वर्ष जनतासँग उपाध्यक्ष कार्यक्रम शीर्षकमा किसानलाई मल दिन थालिएको थियो ।

चितवनस्थित दिव्य अर्गानिक फर्टिलाइजर कम्पनीले मल उपलब्ध गराएको हो। उक्त कम्पनीले लामो समय स्टोर गरेको मल दिएको भन्दै कृषकहरु आक्रोशित बनेका छन्।’मल दुई वर्ष अघिदेखि गाउँपालिका कार्यालय नजिकै स्टोर गरेर राखेको थियो,’ कम्पनीको जुम्ला सम्पर्क व्यक्ति भैरव कठायतले भने, ‘साउन ७ देखि बाँड्न सुरु भयो । रातो माटोजस्तो मल देखिएपछि कृषकहरु मर्कामा देखिन्छन् ।’कम्पनीका सञ्चालक नरेन्द्र गिरीले २०७४ सालदेखि एक लाख किलो मल जुम्लामा आइपुगेको बताए । उनले लामो समय स्टोर गरेर राखेको मल गुणस्तरहीन नहुने तर हावा र पानी छिरेपछि मलले काम गर्न नसक्ने बताउँछन्।

मलको बोरा नै फुटेका छन्, जसले गुणस्तरीयतामा प्रश्न उठेको छ । गाउँपालिकाले ३ सय ५५ बोरा मल ल्याएको थियो । खरिदका लागि कम्पनीलाई तीन लाख १५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल(सिमा)ले कृषि उत्पादनमा टेवा पुर्याउने हेतुले वितरण गरिएको हो।तर, मल नै गुणस्तरहीन पुगेपछि समस्या सृजना भएको बताइन्। गाउँपालिकाले मल ल्याब परीक्षणका लागि प्रयोगशालामा पठाएको छ ।
परीक्षणबाट गुणस्तरहीन देखिएमा कानुनी प्रक्रिया अघि बढाउने गाउँपालिकाले तयारी गरेको अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउँछन्।यता माओवादी तातोपानी गाउँकमिटीले गुणस्तर मल किसानलाई बाँडेको विषयमा तत्काल छानबिन गर्न माग गरेको छ । ‘पहिले मलको गुणस्तरको विषयमा छानबिन होस्, माओवादी तातोपानीका अध्यक्ष जक्तिप्रसाद न्यौपानेले भने, ‘अनि खरिद प्रक्रियामा संलग्न व्यक्ति र मल दिने कम्पनीलाई कारबाही होस् ।’उनलेे भने।






