२०८३ मंसिर १३ गते
वीरेन्द्रनगर, सुर्खेत 17°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कमजोर चुनावी नतिजापछि कर्णालीमा संगठन विस्तार गर्ने रणनीतिमा रास्वपा

ओम शाही

सुर्खेत, १३ मंसिर । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो समय कर्णाली प्रदेशलाई आफ्ना राजनीतिक तथा सांगठनिक गतिविधिको केन्द्र बनाउँदै आएको छ । पाँचवर्षे चुनावी वाचापत्र सार्वजनिक गर्नेदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेसम्मका गतिविधि कर्णालीबाट सुरु गरेको पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारमा जोड दिएको छ । यद्यपि, गत निर्वाचनमा प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये एउटामा मात्रै जित हासिल गरेको रास्वपाका लागि कर्णालीमा आफ्नो राजनीतिक आधार विस्तार गर्नु चुनौतीपूर्ण देखिन्छ ।

७ फागुन २०८२ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट रास्वपाले पाँचवर्षे चुनावी वाचापत्र सार्वजनिक गरेको थियो । पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल र वरिष्ठ नेता बालेन्द्र शाहले सार्वजनिक गरेको वाचापत्रमार्फत पार्टीले कर्णालीलाई राजनीतिक प्राथमिकतामा राखेको सन्देश दिएको थियो ।

वाचापत्र सार्वजनिक कार्यक्रममा सभापति लामिछानेले कर्णालीमा व्याप्त रोग, भोक, गरिबी र अशिक्षाको अवस्थालाई विगतका राजनीतिक दलहरूको असफलतासँग जोड्दै रास्वपा त्यसको विकल्पका रूपमा आएको बताएका थिए । धेरैपटक अवसर पाएर पनि कर्णालीको अवस्था सुधार हुन नसकेको उनको भनाइ थियो । उनले लोकतन्त्र जोगाउने लडाइँमा रास्वपा एक्लै उभिएको उद्घोषसमेत गरेका थिए ।

तर, निर्वाचन परिणामले कर्णालीमा पार्टीको राजनीतिक प्रभाव विस्तार भएको देखाएन । प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत–२ मा मात्रै रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटा विजयी भए । बाँकी ११ क्षेत्रमा पार्टीले जित हासिल गर्न सकेन । यसले राष्ट्रिय राजनीतिमा पार्टीको उपस्थिति र प्रदेशस्तरमा संगठनात्मक आधार निर्माणबीचको अन्तर देखाउँछ ।

कर्णालीको विकासमा विगतका राजनीतिक दलको असफलतालाई चुनावी मुद्दा बनाएको रास्वपाले त्यसलाई प्रदेशव्यापी मतमा रूपान्तरण गर्न सकेन । यसका आधारमा कर्णालीमा पुराना दलप्रतिको असन्तुष्टि मात्र नयाँ दलको पक्षमा मत आउने पर्याप्त आधार नभएको देखिन्छ । मतदातासँगको स्थानीय सम्बन्ध, उम्मेदवारको पहुँच, संगठनको सक्रियता र क्षेत्रगत मुद्दामा पार्टीको स्पष्ट दृष्टिकोण पनि राजनीतिक समर्थनका महत्त्वपूर्ण आधार हुन् ।

निर्वाचनपछि रास्वपाले कर्णालीबाटै प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । शनिबार र आइतबार वीरेन्द्रनगरमा सञ्चालन हुने दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्य–मान्यता, अनुशासन र राजनीतिक संस्कारबारे छलफल हुने जनाइएको छ ।

प्रशिक्षणलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली राजनीतिमा स्थापित ‘झोले संस्कृति’ अन्त्य गर्ने घोषणा गरे । उनले पार्टीका अधिवेशन तथा प्रशिक्षणमा झोला वितरण नगर्ने र त्यसको सट्टा स्मार्ट डायरी तथा फाइल प्रयोग गर्ने अभ्यास सुरु गरिएको बताए ।

जनताका मुद्दा र गुनासा टिपोट गर्न फाइल प्रयोगमा ल्याइएको जानकारी दिँदै उनले पार्टीलाई एनजीओ, आईएनजीओ वा बाह्य प्रायोजकको प्रभावबाट मुक्त राख्न फाइल खरिदमा कुनै प्रायोजन नलिइएको स्पष्ट पारे । हुनेले किन्ने र नहुनेलाई हुने साथीले किनिदिने अभियान सुरु गर्न उनले निर्देशन दिए । आर्थिक अवस्था कमजोर भएका कम्तीमा १० जना सहभागीका लागि आफ्नै खर्चमा फाइल खरिद गरिदिने घोषणा गर्दै उनले कोषाध्यक्षलाई रकम हस्तान्तरण गरेका थिए ।

लामिछानेले निर्वाचनमा कर्णालीबाट कमजोर प्रतिनिधित्व भए पनि विकासका सवालमा विभेद नगरिने प्रतिबद्धता जनाए ।

उनले भने, ‘कर्णालीले एक भोट पनि नदिओस् वा एकजना पनि प्रतिनिधि नपठाओस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली सधैं प्राथमिकतामा रहनेछ । हामी भोटसँग विकास साट्ने सौदाबाजी गर्न आएका होइनौं, चोखो मनले यहाँका मुद्दा सम्बोधन गर्न आएका हौं ।’

उनको यो प्रतिबद्धताको कार्यान्वयन बजेट विनियोजन, विकास आयोजना, सार्वजनिक सेवा र कर्णालीका प्राथमिकतासम्बन्धी सरकारी निर्णयबाट मापन हुनेछ । संघीय शासन व्यवस्थामा निर्वाचनको परिणामका आधारमा प्रदेशलाई विकासका अवसरबाट वञ्चित गर्न मिल्दैन । त्यसैले कर्णालीलाई प्राथमिकता दिने पार्टीको भनाइ नीति तथा कार्यक्रम र कार्यान्वयनमा देखिनुपर्ने हुन्छ । लामिछानेले विगतको सशस्त्र विद्रोहले कर्णालीलाई दिएको पीडा स्मरण गर्दै रास्वपाले रगत नबगाई ‘निलो क्रान्ति’ मार्फत शान्त विद्रोह गरिरहेको बताए । नेताहरू कार्यकर्ताको घेरामा बस्ने र फोटो खिचाएर टिकटको दाबी गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।

‘मलाई भिड र फोटोको लोभ छैन, म नेताहरूबाट होइन, सोझै जनताबाट घेरिन चाहन्छु,’ उनले भने ।

रास्वपाले ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा कर्णालीको सुर्खेतमा कार्यक्रम सुरु गरेको पार्टीले सुदूरपश्चिमको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गर्ने जनाएको छ । अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने पार्टीको भनाइ छ ।

कर्णालीको प्रशिक्षणमा सभापति लामिछाने, उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी छन् । पहिलो दिन जिल्ला तथा पालिका तहका नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे छलफल गरिएको थियो । दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनबारे प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रशिक्षणको विषयवस्तुले रास्वपाले अब राष्ट्रिय राजनीतिको उपस्थितिलाई स्थानीय संगठनमा रूपान्तरण गर्ने प्रयास गरिरहेको देखाउँछ । जिल्ला तथा पालिका तहको नेतृत्वसँग संगठनको अवस्था र चुनौतीबारे छलफल गर्नु त्यसैको हिस्सा हो । तर, प्रशिक्षणबाट प्राप्त निष्कर्षलाई कार्ययोजनामा रूपान्तरण गर्ने, स्थानीय तहमा नियमित संगठन सञ्चालन गर्ने र नागरिकका मुद्दामा निरन्तर काम गर्ने संरचना निर्माण नभएसम्म सांगठनिक विस्तारको प्रभाव मापन गर्न कठिन हुनेछ ।

 

कमजोर चुनावी नतिजापछि कर्णालीमा  संगठन विस्तार गर्ने रणनीतिमा रास्वपा

सम्पादकीय : खेलकुद विकासको दीर्घकालीन नीति

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!