कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले सुरु गरिएको ओलम्पिक टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहौल सिर्जना गरेको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार सुरु गरिएको टुर खेलकुदसँगै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचान उजागर गर्ने अवसर पनि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिताले यस अभियानलाई थप आकर्षक बनाएको छ । तर, प्रतियोगिताको उत्सव र प्रचारप्रसारसँगै कर्णालीले खेलकुद विकासका लागि दीर्घकालीन नीति र योजना निर्माणमा ध्यान दिन आवश्यक छ ।
लामो प्रतीक्षापछि कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । भौगोलिक विकटता, पूर्वाधारको अभाव र राज्यको सीमित लगानीका कारण यहाँको खेलकुद क्षेत्रले अपेक्षित गति लिन सकेको छैन । यद्यपि, सीमित स्रोतसाधनका बाबजुद कर्णालीका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रतिभा प्रमाणित गर्दै आएका छन् । यस्तो अवस्थामा दशौँ राष्ट्रिय खेलकुदलाई प्रतियोगिता सञ्चालन र पदक प्राप्तिको सीमित उद्देश्यमा मात्र केन्द्रित गर्नु हुँदैन । यसलाई प्रदेशको समग्र खेलकुद विकासको आधार बनाउनु आवश्यक छ ।
त्यसका लागि प्रदेश सरकारले सर्वप्रथम खेलकुद विकासको स्पष्ट र दीर्घकालीन नीति बनाउनुपर्छ। प्रदेशको भूगोल, जनसंख्या, उपलब्ध पूर्वाधार र खेलाडीको क्षमताका आधारमा प्राथमिकताका खेल विधा पहिचान गरी लगानी केन्द्रित गर्नुपर्छ । खेलाडी उत्पादनको आधार विद्यालय भएकाले विद्यालयस्तरदेखि नै नियमित खेलकुद प्रतियोगिता, प्रतिभा पहिचान र प्रशिक्षणको व्यवस्था गर्न आवश्यक छ । स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितालाई एकअर्कासँग जोड्ने प्रणाली विकास गर्न सके नयाँ प्रतिभाले अवसर पाउनेछन् ।
त्यस्तै, खेलाडीको नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक, खेल विज्ञान, पोषण तथा स्वास्थ्य सेवामा लगानी बढाउनुपर्छ । खेलाडीलाई प्रतियोगिताको समयमा मात्र सम्झिने प्रवृत्ति अन्त्य गरी उनीहरूको वृत्तिविकास, आर्थिक सुरक्षा र प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ । महिला, अपांगता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका खेलाडीको सहभागिता सुनिश्चित गर्ने समावेशी नीति पनि उत्तिकै आवश्यक छ ।
प्रतियोगिताका लागि निर्माण तथा मर्मत गरिएका खेल पूर्वाधारको सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्ययोजना बनाउनुपर्छ । खेलमैदान र रंगशाला प्रतियोगिता सकिएपछि प्रयोगविहीन हुने अवस्था आउन दिनु हुँदैन । तिनको नियमित सञ्चालन, मर्मतसम्भार र स्थानीय खेलकुद गतिविधिसँग उपयोग जोड्नुपर्छ । यसका लागि प्रदेश र स्थानीय तहबीच जिम्मेवारी तथा बजेटको स्पष्ट बाँडफाँट आवश्यक छ ।
१०औँ राष्ट्रिय खेलकुद मंसिर १६ गते औपचारिक रूपमा सुरु हुँदै छ । यस अवसरलाई कर्णालीको खेलकुद विकासमा नीतिगत परिवर्तनको सुरुवात बनाउनुपर्छ । प्रतियोगिताको सफलता उद्घाटन, समापन र पदक तालिकाले मात्र मापन हुँदैन । यसले कति नयाँ खेलाडी उत्पादन गर्यो, कति पूर्वाधारलाई नियमित उपयोगमा ल्यायो र खेलकुदलाई कति संस्थागत बनायो भन्ने आधारमा यसको उपलब्धि मूल्यांकन हुनुपर्छ ।


