सुर्खेत,१३ मंसिर ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर राराताल पुगेको हो ।
नेपालकै ठूलो ताल रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षण हो ।
राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारासम्म पुर्याउनुले खेलकुदलाई पर्यटनसँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ । राष्ट्रियस्तरका खेलाडीको सहभागितामा सञ्चालन भइरहेको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको प्रचारप्रसारका साथै कर्णालीका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुर शुक्रबार दैलेखको स्थित शिरस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी सुरु गरिएको थियो । म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा सुरु भएको ट्रफी टोली कालीकोट र जुम्ला हुँदै रारा पुगेको हो । टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन् ।
यसअघि टोलीले जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा ओलम्पिक टर्च पुर्याएको थियो । जुम्ला बजार परिक्रमा गराएर मन्दिर पुर्याइएको ट्रफी तथा टर्चलाई त्यसपछि रारासम्म लगिएको हो । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगिताअन्तर्गतका १० खेल भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित प्रदेश रंगशालामा भव्य समारोहका बीच प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
रारामा ट्रफी तथा टर्च पुर्याइनुले खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको प्राकृतिक पहिचानसँग जोडेको ओलम्पिएन दीपक विष्टले बताए ।


