सम्पादकीय : नेटवर्किङ व्यवसायमा प्रतिवन्ध लगाऊ

युनिटी र हर्बो इन्टरनेशनल लगायतले पिरामिडशैलीमा सञ्जाल विस्तार गरी सर्वसाधारणको अर्बौ रकम ठगी गरेको व्यापक गुनासोपछि १५ चैत २०६८ मा सरकारले यस्तो व्यवसायमा पूर्णरुपमा प्रतिवन्ध लगाएको थियो । सरकारको नेटवर्किङ व्यवसायमा प्रतिवन्ध लगाउने उक्त निर्णय कानूनसम्मत भएको फैसला १४ वर्षअघि नै सर्बाेच्च अदालतले गरिसकेको थियो । तर, सर्बोच्चको फैसला अपव्याख्या गरी सर्वसाधारण व्यापक ठगिएको नेटवर्क व्यवसायलाई २०७७ असारबाट सरकारले सञ्चालनको इजाजत दिन सुरु गरेसँगै पुनः सर्वसाधारण ठगिनेक्रम सुरु भएको छ ।

वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाड्न सुरु गरिएसँगै बैधानिकरुपमै नागरिक ठगिएका घटना बाहिर आउन थालेका छन् । सर्वोच्च अदालतले स्वच्छ प्रतिस्पर्धा र उपभोक्ताको हितमा प्रतिकुल प्रभाव नहुने गरी कानूनी व्यवस्थामार्फत प्रत्यक्ष व्यवसायका लागि अनुमति दिन सकिने गरी फैसला गरेको थियो । यही फैसलाको अपव्याख्या गर्दै सरकारले घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई बैधता दिएपछि नेटवर्किङ व्यवसायीहरु सल्बलाएका हुन् । नयाँ बनेको कानूनमा पनि नेटवर्किङ शैलीको व्यवसायमा रोक लगाइएपनि देशभर इजाजत लिएका कम्पनीहरुले नेटवर्क सञ्जाल विस्तार गरिरहेका छन् ।

हालसम्म आइबोस ग्लोबल इन्टरनेसनल प्रालि, नेचर हब्र्स इन्टरनेशल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ प्रालि, केयर मार्ट्स इन्टरप्राइजेज प्रालि, यु र्टन इन्टरनेशनल प्रालि, ग्लोबल ओरियन्स प्रालि, अपि लाइफ इन्टरनेशनल, गोल्डेन नेपाल मार्केटिङ प्रालिलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले इजाजत बाडि सकेको छ । यिनै मध्येको ग्लोवल ओरियन्स नेपाल प्रालिले सुर्खेतमा पिरामिड शैलीको सञ्जाल विस्तार गरी उच्च शिक्षा अध्ययन तथा बेरोजगार युवाहरुलाई ट्रयापमा पार्दै आएको छ । यी कम्पनीहरुले खुलमखुला कार्यालय खडा गरेर सामाजिक सञ्जाल लगायतका माध्यमको प्रयोग गरी नेटवर्क सञ्जाल बनाएर व्यापक ठगिरहेका छन् ।

वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐनको दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने उल्लेख छ । वस्तु खरिद गर्नु पूर्व अनिवार्य रुपमा कुनै किसिमको सदस्यता लिनु पर्ने अवस्था भएको सञ्जालयुक्त कार्य, एक वस्तु खरिद गर्दा अन्य वस्तु समेत एकमुष्ट प्याकेजमा खरिद गर्नु पर्ने सञ्जालयुक्त कार्य, वस्तु खरिद गर्ने व्यक्तिले आफू मातहत अर्को प्रत्यक्ष बिक्रेता वा वितरक बनाउन नसकेको अवस्थामा आफूले भुक्तानी गरेको रकम वा लाभ बराबरको वस्तु प्राप्त गर्न नसक्ने स्थितिको सञ्जालयुक्त कार्य गर्न कानूनले बन्देज गरेको छ ।

त्यस्तै, वस्तुको कारोबार नगरी केवल प्रत्यक्ष विक्रेता वा वितरक बनाई शुल्क मात्र लिने गरी गरिने सञ्जालयुक्त कार्य, कम्पनीले वस्तु बिक्री गर्ने प्रयोजनको लागि व्यावसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार दिई वा कमिशनको प्रलोभन देखाई सदस्य बनाउने वा महङ्गो वस्तु खरिद गर्न लगाउने सञ्जालयुक्त कार्यसमेत कानूनले गैरकानूनी मान्दछ । वस्तुको खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने व्यापारिक कार्ययोजना भएको सञ्जालयुक्त कार्य वा कुनै वस्तुलाई अप्रत्याशित लाभ हुने वा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने अलौकिक वस्तु हो भनी विश्वासमा पारी बिक्री वा वितरण गर्ने सञ्जालयुक्त कार्य गर्न कानूनले प्रतिवन्ध गरेको भएपनि खुलमखुला पिरामिड शैलीको व्यवसायको सञ्जाल विस्तार भइरहेको छ ।

कानूनले बन्देज लगाएको अवस्थामा शक्तिको नजिक रहेका एकाध आफूलाई व्यवसायी करार गर्ने ठगहरुले खुलमखुला युवाहरुलाई ठग्दा राज्य भने कानमा तेल हालेर बसेको छ । हरेक नागरिकलाई संरक्षण गर्ने दायित्वबाट राज्य बिमुख हुँदा ठगहरु सल्बलाउने परिस्थिती निर्माण हुनु आफैमा दुखद् पक्ष हो । यसर्थ, प्रतिवन्धित नेटवर्किङ व्यवसायमार्फत सोझासाझालाई ठग्ने कार्यमा संलग्न मतियारहरुलाई कानूनको दायरामा ल्याएर यस्तो व्यवसायलाई सदाका लागि प्रतिवन्ध लगाउन ढिला गर्नुहुँदैन ।

सम्पादकीय : नेटवर्किङ व्यवसायमा प्रतिवन्ध लगाऊ

सुर्खेतदेखि जुम्ला आउने गाडी दुर्घटना: ५ गम्भीर

सम्पादकीय : नेटवर्किङ व्यवसायमा प्रतिवन्ध लगाऊ

सुर्खेतमा घाँस काट्ने मेसिनबाट करेन्ट लाग्दा दम्पतीको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds