“समाजका मुद्दा उजागर गर्दै महिला जागरण”
गाेल्डेन बुढा
जुम्ला ,८ पुस ।
समाजका निमुखा वर्ग, बालबालिका र महिला सम्बन्धी संवेदनशील मुद्दालाई उजागर गर्दै आएको आधुनिक महिला जागरण डटकमले आफ्नो पाँचौं स्थापना दिवस जुम्लामा विविध कार्यक्रमका साथ मनाएको छ। संस्थाले पाँच वर्षमा ५ हजार २ सय ३९ समाचार प्रकाशन गरी सामाजिक न्याय, महिला सशक्तिकरण र मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ।स्थापना दिवसको अवसरमा अध्यक्ष दिलमाया शाहीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा बालविवाह, वहुविवाह, घरेलु हिंसा, जघन्य अपराध, राजनीतिक पहुँच र सामाजिक असमानताका मुद्दा प्राथमिकतामा राखी समाचार प्रकाशन गरिएको उल्लेख गरिएको छ। शाहीले भनिन्, “हाम्रो पत्रकारिता केवल समाचार प्रकाशित गर्न मात्र होइन, समाजका आवाजविहीन वर्गको अधिकार र न्याय सुनिश्चित गर्न केन्द्रित छ।”उत्सवमा उपस्थित जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले महिला जागरणले उठाएका मुद्दा समाज र प्रशासनको ध्यानाकर्षण गर्ने काम सराहनीय भएको बताए। उनले भने, “पत्रकार शाहीले उजागर गरेका संवेदनशील विषय अन्ततः कार्यान्वयनमा आउनेछन्।
यस्तो खोजमूलक पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।”गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले भने, “पत्रकारिता केवल पेशा नभई समाजसेवाको माध्यम हो। दिलमाया शाही र महिला जागरणले निमुखा वर्गको आवाज उठाएर जुम्लामा प्रेरणा सिर्जना गरेका छन्। यो कार्य निरन्तरता पाओस्।”राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा प्रमुख कल्पना आचार्य( नेपाल )ले संस्थालाई शुभकामना दिँदै भने, “महिला जागरणले समाजका महत्वपूर्ण मुद्दा उठाउने कार्यमा निरन्तरता दिओस्। पीडितलाई न्याय दिलाउने पत्रकारिताको यो शैली सराहनीय छ।”जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले शाहीको पत्रकारितामा खोजमूलक दृष्टिकोणको प्रशंसा गर्दै भने, “राजनीतिक र सामाजिक पहुँचले कमजोर वर्गमाथि हुने अन्यायलाई उजागर गर्न शाहीको कलम निरन्तर सक्रिय छ।
जुम्लामा यस्तो पत्रकारिताको आवश्यकता अझै बढ्दो छ। अरू जस्तो मुनाफा होइन, जनताको हितमा कलम चलाउनु यही पत्रकारिताको वास्तविक मूल्य हो।”नेपाल पत्रकार महासंघ शाखा जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले महिला जागरण डटकमलाई निमुखा नागरिकको आवाजको रूपमा स्थापित भएकोमा बधाई दिए। उनले भने, “जुम्लामा खोजमूलक पत्रकारिता सुरु गरेर समाजमा सकारात्मक प्रभाव पार्ने यो प्रयास भविष्यमा अझ बलियो हुनेछ।”स्थापना दिवसमा उपस्थित अधिकांश व्यक्तिले आधुनिक महिला जागरण डटकमले जुम्लामा पत्रकारिताको पाठ सिकाएको र समाजका संवेदनशील पक्ष उजागर गरेको भन्दै सफलताको शुभकामना व्यक्त गरे।स्रोतअनुसार, आधुनिक महिला जागरण डटकम २०७७ सालमा कम्पनी रजिष्ट्रार, करदाता सेवा कार्यालय तथा सूचना प्रसारण विभागमा दर्ता भइसकेको छ र प्रेस काउन्सिलमा सूचिकृत छ।स्थापना दिवसमा उठाइएका सबै विषय र शुभकामनाले संस्थाले समाजमा खोजमूलक पत्रकारिता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसले जुम्लामा समाजिक न्याय र आवाजविहीन वर्गको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





