सम्पादकीय : डेङ्गी नियन्त्रणमा हातेमालो गरौं
सुर्खेतमा लामखुट्टेको टोकाईबाट हुने डेङ्गी संक्रमणको जोखिम बढ्दै गएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्यांक अनुसार जिल्ला भर पाँच आर्थिक वर्षको अवधिमा पाँच हजार आठ सय ५३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार डेङ्गी संक्रमणको जोखिम सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका र गुर्भाकोट नगरपालिका छ । गत वर्षमात्रै वीरेन्द्रनगर नगरपालिकामा एक हजार चार सय १६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, भेरीगंगा नगरपालिकामा २९, लेकवेशी नगरपालिकामा ३८, चिङ्गाड गाउँपालिकामा नौ, गुर्भाकोट नगरपालिकामा एक सय ४३, सिम्ता गाउँपालिकामा ६, बराताल गाउँपालिकामा १७ पञ्चपुरी नगरपालिकामा एक सय ३५ र चौकुने गाउँपालिकामा एक जनामा डेङ्गी सक्रमण पुष्टि भएको छ । यस अवधिमा डेङ्गी संक्रमणका कारण चार जनाको मृत्यु भएको छ । साउन महिना लागेसँगै डेङ्गी संक्रमणको जोखिम बढ्दै गएको छ । डेङ्गी सार्ने जातको लामखुट्टे बस्ने स्थानको बृद्धि हुँदै जादा विशेष गरी वीरेन्द्रनगर गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा डेङ्गी संक्रमणको उच्च जोखिम बढ्दै गएको छ ।
साउन महिनाबाट डेंगी संक्रमण क्रमशः वृद्धि हुँदै जाने भएकाले सुरुवाती चरणमै व्यापक प्रचार–प्रसार र समुदाय परिचालनमार्फत डेङ्गी संक्रमण नियन्त्रण गर्न सकिन्छ । डेङ्गी नियन्त्रणको मूल आधार लामखुट्टेको प्रजनन् स्थल खोजेर नष्ट गर्नु हो । एडिज लामखुट्टे वयस्क नहुँदासम्मको करिव ८० प्रतिशत जिवनचक्र (अण्डा, लार्भा र प्यूपा अवस्था) पानीभित्र वा पानीको सतहमा हुने हुँदा मूल स्रोतलाई निर्मूल नगरी उडिरहेका वयस्क लामखुट्टेलाई मात्र लक्षित गरेर डेङ्गी संक्रमण नियन्त्रण गर्न सकिँदैन ।
साउनदेखि कार्तिक महिनासम्म एडिस लामखुट्टेको प्रजननको जोखिम बढी हुने भएकाले यी महिनाहरुमा थप सचेत भई कम्तीमा हप्ताको एक पटक समुुदायस्तरमा लामखुट्टेका प्रजनन् स्थल खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिन सके यसको जोखिम कम गर्न सकिन्छ । डेङ्गी संक्रमणको उपचार पद्धती छैन । यस कारण पनि लामुखट्टेको बासस्थान नष्ट गर्नुको विकल्प छैन ।
लामखुट्टे प्रजनन् स्थलहरूको पहिचान र नियन्त्रणका प्रभावकारी अभ्यासहरूलाई व्यवहारमा उतार्न नागरिक तथा समुदायको सक्रिय सहभागिता प्रवद्र्धन गर्न सके डेङ्गी संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ । डेङ्गी नियन्त्रणमा सार्वजनिक तथा सरकारी निकाय, विद्यालय तथा संगठित संस्थाहरूमा सरसफाई तथा लामखुट्टे प्रजनन् स्थलहरूको खोजी र नष्ट गर्ने कार्यलाई निरन्तरता दिइनु पर्दछ ।
स्थानीयतबाट टोल विकास समितिहरु, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान संचालन गर्न सकिन्छ । विद्यालयस्तरमा डेङ्गी सम्बन्धी व्यवहार परिवर्तनका सीपहरु सिकाउने संयत्रको विकास गरिनु पर्दछ । डेङ्गी नियन्त्रणको पाटो सरकारको एकल प्रयासले मात्र सम्भव नहुँने हुँदा यसमा समुदायको संक्रिय सहभागिता अनिवार्य छ ।





