भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

बाँके ,५ साउन।

भेरी अस्पताल, नेपालगन्जमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन) दुई महिनादेखि अभावमा परेको छ । कुकुरले टोकेपछि लगाइने यो खोप अभावमा परेपछि गरिब तथा विपन्न वर्ग थप संकटमा परेका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदीका अनुसार अस्पतालमा जेठ महिनादेखि नै यो खोपको मौज्दात सकिएको हो । “अस्पतालले आफैं खरिद गरेर निःशुल्क दिन नसक्ने अवस्था छ । केन्द्र र प्रदेशबाट आउने खोपसमेत अब आइरहेको छैन,” डा. सुवेदीले भन्नुभयो । उहाँका अनुसार हाल अस्पतालमा दैनिक ४०–५० डोजको खपत हुँदै आएको थियो ।

खोप नपाउँदा कुकुरले टोकेका धेरैजसो बिरामीले निजी फार्मेसीबाट महँगो मूल्य तिरेर खोप किनेर ल्याउन बाध्य छन् । तर सबैको आर्थिक हैसियत उस्तै हुँदैन ।

कोहलपुरका एक पीडित ३५ वर्षीय सन्तोष थापाले बताउनुभयो, “बिहीबार बिहान काममा जाँदै गर्दा कुकुरले खुट्टामा टोक्यो । अस्पताल गएँ, सुई छैन भनेपछि बजारमा सोध्दा एउटै डोज ९ सयदेखि १२ सय रुपैयाँसम्म भने । पाँचवटा सुई लगाउनु भनियो, तर म कहाँबाट ल्याउने यति पैसा?” थापा भन्नुहुन्छ “काम गरेर गुजारा चलाउँछु, उपचार गर्न पनि पैसा छैन, सरकारले खोप नदिए हामी मर्नुपर्ने हो?”

नेपालगन्ज उपमहानगरपालिकाले खोप किन्न प्रयास गरे पनि नीतिगत झन्झट हुने देखिएपछि पछि हटेको छ । “जनताको स्वास्थ्य जोगाउनुपर्छ भन्ने मान्यतासँगै हामीले खोप किन्ने कुरा अघि सारेका थियौँ, तर कानुनी झन्झट आउने अवस्था देखियो,” उपमहानगरका एक जनप्रतिनिधिले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागमा समेत उक्त भ्याक्सिन हाल मौज्दात नरहेको पुष्टि गर्दै प्रमुख डा. सुवेदीले भन्नुभयो, “खोप कहिले आउँछ भन्ने अझै टुंगो छैन । खरिद प्रक्रिया सकिएपछि मात्र सम्भव छ ।”

खोप अभावले ज्यानै जोखिममा राख्नुपर्ने अवस्था आएको भन्दै स्थानीय तह, जनप्रतिनिधि र सर्वसाधारणले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । अबको समाधान कुन निकायबाट कहिले हुने हो, त्यही पर्खाइमा छन् पीडितहरू ।

 

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

व्यक्तित्व चर्चा : “लोकतान्त्रिक राज्य व्यवस्था नै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds