कोहलपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर ७ वर्षीय बालकको मृत्यु
बाँके ,७ असार।
कोहलपुर नगरपालिका–१३ सिम्रीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ। साथीसँगै नजिकैको खोलामा पौडी खेल्न गएका ७ वर्षीय सुजन परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
गर्मी बढेसँगै बालबालिका घरपरिवारको आँखा छलेर खोलातर्फ नुहाउन जाने क्रम बढ्दो छ। त्यही क्रममा खोलामा पौडी खेल्दा परियारको ज्यान गएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक बालक परियारका आमा–बुबा वैदेशिक रोजगारीमा रहेका छन् भने उनी आफन्तसँग बस्दै आएका थिए।
इलाका प्रशासन कोहलपुरले यस्ता दुर्घटनाबाट बच्न अभिभावकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। गर्मीको समयमा बालबालिकालाई खोलानाला, पोखरी, डुबान क्षेत्रजस्ता स्थानमा नजान दिन सतर्कता अपनाउन प्रशासनको अनुरोध छ।