कर्णालीका ३७ स्थानीय तहमा टेलिकमका सेवा विस्तार

सुर्खेत, ३१ असोज ।
नेपाल टेलिकम कर्णाली प्रदेशले सञ्चार सेवा विस्तारलाई तीव्रता दिएको दावी गरेको छ। नेपाल दुरसञ्चार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर कमल लामिछानेका अनुसार बुलबुले, एयरपोर्ट र रंगशाला क्षेत्रमा नयाँ टावर निर्माण सम्पन्न भएको छ । त्यससँगै जुम्ला रोड, प्रदेश अस्पताल र लेकफर्सा क्षेत्रमा समेत टावर स्थापनाको काम पूरा भएको छ ।
दशरथपुर र मेहलकुना क्षेत्रमा टावर निर्माण सम्पन्न भइसकेको छ भने, चौकुने, गुटु र पञ्चपुरी नगरपालिकामा पनि सात वटा नयाँ टावर राख्ने योजना अघि बढाइएको छ । निर्देशनालयका अनुसार प्रदेशभर स्तरीय सेवा विस्तारका लागि फोरजी नेटवर्क विस्तारमा प्राथमिकता दिइएको छ ।
धुलियाबिट, रामघाट लगायतका क्षेत्रमा रिङरोड स्वरूपका टावर सञ्जाल विस्तार कार्य भइरहेको छ। पछिल्ला आन्दोलनहरूले केही प्रभाव पारे पनि जिल्लाबाहिर फाइबर सेवा विस्तारको काम निरन्तर जारी छ । कर्णाली प्रदेशका विभिन्न स्थानमा हालसम्म ३०० भन्दा बढी ठाउँबाट बिटिएस टावर सञ्चालनमा आएका छन् ।
थप ३० वटा टावरका लागि आवश्यक विद्युतिकरणका लागि नेपाल विद्युत प्राधिकरणलाई पेश्की रकम हस्तान्तरण भइसकेको छ । त्यस्तै, टेलिकमका सेवाहरु १६ वटा स्थानीय तहका मुख्य सहरमा विस्तार गर्न काम सुरु भएको छ । जसमा डोल्पाको जगदुल्लामा काम सम्पन्न भएको छ, भने हुम्लाको हिल्सामा तिहारपछि माघ मसान्तभित्र फोरजी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ । हालसम्म कर्णाली प्रदेशका ३७ वटा स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार भइसकेको छ । साथै, माघभित्र ‘ग्राहकमैत्री कक्ष’ सञ्चालनमा ल्याउने तयारी भइरहेको निर्देशक लामिछानेले बताए ।






