काफल खाएर असारलाई बिदा गर्ने प्रचलन

गाेल्डेन बुढा

जुम्ला,१ साउन
बुधबार `अर्थात´असार ३२ गते जुम्लाको सिंजा क्षेत्रमा काफल दिवस मनाइएको छ। यस क्षेत्रमा परापुर्वकाल देखि हरेक वर्ष असारको अन्तिम दिन काफल खाएर असारलाई बिदा गर्ने प्रचलन छ।सिँजाली क्षेत्रका बासिन्दाहरुले काफल खाएर असारलाई बिदा गर्ने प्रचलन अनुसार हरेक वर्ष असारको अन्तिम दिन काफल टिपेर, देउडा गाएर रमाइलो गर्ने गर्दछन्।

पूर्वकालदेखि चली आएको परम्परालाई जोगाई राख्न आज सिँजा गाँउपालिकाका युवा युवतीहरू काफल टिप्न पाटन पुगेका छन्। हरेक वर्ष असार मसान्तमा यहाँका युवा युवतीहरू काफल टिप्न पाटन पुग्ने गर्छन्। काफल खाएर असार महिनालाई बिदाइ गरिने परम्परा छ।विशेष गरी जुम्लाको क्षेत्र नम्बर (ख) अर्थात् सिँजा क्षेत्रमा पर्ने स्थानीय तहमा काफल टिपेर खाने प्रचलन छ। पाटनमा गएर काफल टिप्ने र खाने चलन पहिले देखि चली आएको बुढापाकाहरु बताउँछन्।यता सिँजा गाउँपालिका-६ का वडा अध्यक्ष लालबहादुर बुढाले गाउँपालिकाले विगत तीन वर्षदेखि परापुर्वकाल देखि चली आएको काफल खाने दिनलाई काफल दिवसको रुपमा मनाउने निर्णय भएको सुनाए। सोही निर्णय अनुसार आज(बुधबार) काफल दिवस मनाइएको हो।

दिवसको अवसरमा परम्परालाई जोगाउन सिंजा गाउँपालिकाले कर्मचारीहरुलाई स्थानीय बिदा दिइदै आएको छ।उनका अनुसार मानिसहरू आजको दिन गोवानी, दमाईमारे, डिके, देउलाडी, माजखरक, चौरीमेल लगायतका पायक पर्ने रमणीय पाटनमा काफल टिप्ने र परम्परागत रुपमा देउडा,चड्किला गाएर रमाउने गर्दछन्। पुरानै परम्परालाई जोगाउन उनीहरूले हरेक वर्ष असार मसान्तमा काफल टिप्न जाने प्रचलन कायमै छ। युवायुवती वनमा गएर काफल टिप्ने, खाने र एक आपसमा रमाइलो गर्ने गर्दछन्। युवतीहरुले टिपेका काफलहरु युवाहरुले मागेर खाने गर्दछन्। काफल टिप्नको लागि प्लाष्टिक र निगालोबाट बुनेका बस्तु लैजाने चलन छ। यस दिनबाट काफल पनि बिस्तारै हराउने गर्दछन्।

जुम्लामा जेठ महिनाको १५ गतेबाट काफल पाक्न सुरु हुन्छ।यस दिन मन परेका युवायुवती भेटघाट गर्ने दिनको रुपमा पनि परिचित छ।काफल टिप्न गएका युवायुवतीले मायाप्रीतिका देउडा खेल्ने गर्छन्। यो दिनमा बाबु, आमाको अगाडी देउडा खेल्दा पनि लाज मानिँदैन। काफल टिप्न जाँदा छाता, प्लाष्टिक ओढेर जाने गरिन्छ। यो दिनमा अनिवार्य वर्षा हुनुपर्छ भन्ने विश्वास छ।साथै गाई गोरु लेकतिर लैजानु पर्ने मान्यता छ। काफल टिपेर असारको बिदाइ गरिने चलन छ। पाटनमै दही, खिर, दूध, मासु, पुरी, तरकारी खाने चल्ती पनि छ। आजका दिन परम्परागत पहिरन पटुका चोलो, धोती लगाउने र गलामा माला पहिरने गरिन्छ।

आजको दिन घरमा गाई नहुनेले बजारबाट पाउडरको दूध लिएर पनि खीर खानुपर्छ।यति बेला जङ्गलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले काफल पाकेको संकेत गर्छ। काफल पाकेपछि वनजङ्गल राताम्मे हुन्छ। काफललाई पवित्र फल मानिन्छ। तराईमा जतिजति गर्मीको राप चढ्दै जान्छ् पहाडका जङ्गलमा काफलको रङ्ग पनि गाढा बन्दै जान्छ। काफल अहिलेको मौसमी फल भएकोले असारको अन्तिम दिन सबैले चाख्नै पर्छ भन्ने,मान्यता रहेको वडा अध्यक्ष बुढाले बताए।जुम्लामा गाइने थुप्रै गीतमा काफलको प्रसङ्ग जोडिएको छ। यो दिन सिँजाली क्षेत्रका बासिन्दा लागि निकै महत्त्वपूर्ण दिन हो।जहाँ हर्षोल्लासपूर्ण हुन्छ।

काफल खाएर असारलाई बिदा गर्ने प्रचलन

कोहलपुरका दुई वर्थिङ सेन्टरमा ११३ आमाको सुरक्षित

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds