तत्कालिन अध्यक्ष बमसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेत, १ जेष्ठ ।
कालिकोटको पलाता गाउँपालिकाका तत्कालिन अध्यक्ष लक्ष्मणबहादुर बम र उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । पलाता गाउँपालिका वडा नं. ९ र पचाल झरना गाउँपालिका बिचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माणका लागि आएको बजेट काम नै नगरी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/0७८ मा कर्णाली प्रदेश सरकारबाट फेरि निर्माण वापत प्राप्त भएको रकम मध्ये ७५ लाख ५६ हजार नौ सय रुपैयाँ अनियमिता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अध्यक्ष बम र उपाध्यक्ष न्यौपानेले उपभोक्ता समितिसँग सम्झौता भई गरेको कार्यमा झुट्ठा विल भरपाई तयार गरी सार्वजनिक संस्थालाई हानि पु¥याउने बदनियतले निर्माण कार्य नै नगरेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत कार्य गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार उनहीहरुले काम नै सम्पन्न नभएको आयोजनाको भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५ लाख रुपैयाँ गैर कानूनीरुपमा उपक्ता समितिलाई भुक्तानी दिएका थिए ।





