पुनःअलपत्र परे सांसद कान्छारामले ठेक्का लिएका वीरेन्द्रनगरका सडक

सुर्खेत, ३१ बैशाख ।
आफ्नै विभागिय मन्त्रीलाई असयोग गरेका कारण बर्खास्तीमा परेका राज्यमन्त्री हुन्, पूर्णबहादुर तामाङ उर्फ कान्छाराम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्कालाई असहयोग गरेपछि राज्यमन्त्री रहेका तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरिदिएका थिए ।

आफूलाई इमानदार र राज्यको नीति नियमपालकका रूपमा प्रस्तुत गर्ने यिनै निर्माण व्यवसायीसमेत रहेका नेपाली कांग्रेस रामेछापबाट निर्वाचित सांसद तामाङको निर्माण कम्पनीले कर्णालीवासीलाई निकै हैरानी दिइरहेको छन् ।

कर्णालीका १० वटै जिल्लाका नागरिकको बसोवास रहेको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र निर्माणको जिम्मा लिएको सांसद तामाङको निर्माण कम्पनीले १५ वटा सडक अलपत्र पारेको छ । जसका कारण नागरिकलाई धुलाम्मे सडकको यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ्ग क्षेत्र शहरी सडक अन्तर्गत प्याकेज १ मा पर्ने सडक तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले प्रदेश सरकारका संरचना तथा सरकारी कार्यालय रहेको क्षेत्रका १५ वटा रणनीतिक महत्वका सडक सम्झौता अनुसार नगरी अलपत्र पारेको छ । उक्त कम्पनीले वीरेन्द्रनगरका शहरी सडक निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

मन्त्री तामाङले पाएका सडक सम्झौता समाप्त भई जरिवाना तोकेर सम्पन्न गर्न दिएको मितिमा समेत निर्माण सम्पन्न हुने सम्भावना नदेखिएको पूर्वाधार निर्देशनालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रजंग शाही बताउँछन् । उनका अनुसार पूर्वाधार निर्देशनालयसँग सांसद तामाङको निर्माण कम्पनीले १७ भदौ २०७८ मा सडक निर्माणको जिम्मा पाएको थियो । पहिलो सम्झौतामा सडक नबनेपछि दोस्रोपटक थपिएको समयावधि २० मंसिर २०८१ मा समाप्त भइसकेको छ ।

दोस्रो पटक थपिएको समयावधिमा सडक निर्माणले पूर्णता नपाउने देखिएपछि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मातहत रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले निर्माण कम्पनीलाई कालोसूचीमा राखिदिने गरी एक्सनमा उत्रिएको थियो ।

त्यसपछि मात्रै सांसद तामाङको कम्पनीले काम थालेको थियो । उती बेला निर्देशनालयले कम्पनीलाई प्रति दिन सम्झौताको कुल रकमको शून्य दशमलव पाँच प्रतिशतका दरले जरिवान तिर्ने गरी दुई सय दिनको समायावधि दिएको थियो ।

‘निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि मैजुबहाल, काठमाडौंले जरिवानासहित दिइएको समयावधिमा पनि काम सम्पन्न गरेको छैन,’ सूचना अधिकारी शाहीले भने, ‘दोस्रो पटक थपिएको समयमा काम सम्पन्न हुन नसकेपछि निर्देशनालयले जरिवानासहितको समय दिएको थियो । तर, यस अवधिमा पनि निर्माण हुने छाँट देखिएको छैन ।’

निर्देशनालयको चेतावनीपछि निर्माण कम्पनीले पछिल्लो समय गरेको कामको भुक्तानीसमेत लिन आएको छैन । जरीवानावापतको रकम तिर्न नसकेपछि निर्देशनालयले भुक्तानी रोकेको हो । निर्देशनालयका अनुसार निर्माण कम्पनीले कुनै सडकको नाला मात्र निर्माण भएका छन्, कुनैमा ग्राभेल हालेर त्यसै छाडिएको छ । कतै कालोपत्रे गर्ने तयारी गरेर अलपत्र पारिएको छ ।

यी हुन् अलपत्र परेका सडक
नेपाल सरकारको सार्वजनिक खरिद नियमावली अनुसार दुई सय दिनसम्म थप म्याद सम्झौता हुने व्यवस्था अनुरुप मन्त्री तामाङको निर्माण कम्पनीलाई काम गर्न दिइएको थियो । सोही बमोजिम ठेक्का पाएको कुल कबुल अंकको दैनिक शून्य दशमलव ०५ प्रतिशतका दरले जरिवाना तिर्ने कानूनी प्राव्धान अनुसार कम्पनीले अलपत्र सडकको निर्माण कार्य थालेको थियो ।

तामाङको निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि साढे दुई वर्षसम्म कालोसूचीमा राखेको छ । मन्त्री तामाङको निर्माण कम्पनीले सुर्खेतको वीरेन्द्रनगर डिभिजन वन कार्यालय अगाडिको एक सय ८१ मिटर सडक नाला र सब–बेसको काम मात्रै गरेर अलपत्र पारेको छ ।

खारखोली–टेलिकम चोक दुई सय २५ मिटरको सडक अहिलेसम्म नाला र सब–बेसको काम भए पनि बेस राखेर कालोपत्रे गर्ने काम अहिलेसम्म सुरु भएको छैन । यस्तै, खारखोली हटलाइन तीन सय ३४ मिटरको सडक पनि अलपत्र अवस्थामा छ ।

इत्रामखोलादेखि जिल्ला प्रहरी कार्यालय अगाडिको चार सय मिटरको सडकको दायाँतर्फ दुई सय सात मिटर र बायाँतर्फ दुई सय ९७ मिटर नालाको काम भएको छ । यस्तै, एक सय ५० मिटर जति सब–बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्न पूरै बाँकी छ ।

जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिको ६ सय ३५ मिटर सडकको अहिलेसम्म नाला, दुई सय मिटर बेस राख्ने काम भएको छ भने तीन सय ५० मिटर ग्राभेल गरेर छाडिएको छ ।

त्यस्तै, पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक पनि अलपत्र अवस्थामा छ । दुई सय ४० मिटरको उक्त सडकमा अहिलेसम्म नाला बनाउने र सब–बेसको कामबाहेक अरु भएको छैन । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अगाडिको दुई सय २० मिटरको सडकमा नाला र कालोपत्रे गर्न बाँकी छ ।

बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालयको तीन सय ३० मिटरको सडकको एक सय ८५ मिटर नाला दुवैतर्फ, एक सय ७६ मिटर सब–बेसको काम भएको छ भने त्यसबाहेक बेस राखेर कालोपत्रे गर्ने काम भएको छैन ।

त्यस्तै, प्रदेश प्रहरी कार्यालयदेखि खारखोली एक सय ११ मिटरको सडकमा नाला र सब–बेस निर्माणपछि अलपत्र पारिएको छ । कालिन्चोक–मिलनचोक तीन सय ८८ मिटरको सडकमा तीन सय मिटर नाला, सब–बेस र बेस राखेर कालोपत्रे गर्न बाँकी छ । खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम सात सय ३६ मिटरको सडक भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी छ ।

गण्डकी लाइन सडक–मुख्य बजारभित्रको एक सय २० मिटर सडकको अवस्था पनि उस्तै छ । यसमा एक सय २० मिटर नाला, सब–बेसदेखि बेस राखेर कालोपत्रे गर्ने काम बाँकी छ । यस्तै, महिला छात्रावासदेखि दैलेख रोड चार सय ४० मिटरको सडकमा अहिलेसम्म तीन सय ६६ मिटर नालाको काम मात्रै भएको छ ।

बेस राखेर कालोपत्रे गर्न बाँकी छ । लालुपाते उत्तर दुई सय मिटर, कर्णाली राजमार्ग–सितलनगर एक सय ६० मिटरको सडक हालसम्म निर्माणको काम सुरु नै हुन नसकी अलपत्र परेका छन् ।

पुनःअलपत्र परे सांसद कान्छारामले ठेक्का लिएका वीरेन्द्रनगरका सडक

सम्पादकीय : शक्तिको आडमा उन्मुक्ति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds