सल्यानमा मेयरका भाइ र वडा अध्यक्षद्वारा पत्रकार कुटपिट, उल्टै पीडित पक्राउ

सल्यान ,२५ भदौ।
सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा मंगलबार साँझ भोजन गरिरहेका पत्रकार नोखिराम थापामाथि नगरप्रमुखका भाइ र वडाध्यक्षसहितको समूहले कुटपिट गरेको छ। आक्रमणमा परि थापाको टाउको र आँखामा चोट लागेको छ।

शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकी, मेयर प्रकाश भण्डारीका सहोदर भाइ प्रमोद भण्डारी, दिपेन्द्र विष्टसहित ५–६ जनाको समूहले पत्रकार थापामाथि आक्रमण गरेको पीडित पक्षले बताएको छ। थापाले केही दिनअघि श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेका थिए। बसपार्क निर्माणसँग सम्बन्धित ठेकेदारसँग प्रमोद र वडाध्यक्ष बुढाथोकी निकट सम्बन्ध रहेको आरोप लाग्दै आएको छ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषद् सदस्य तथा प्रेस चौतारी प्रदेश कमिटी सदस्यसमेत रहेका थापाले आक्रमणमा संलग्न समूहविरुद्ध प्रहरीमा निवेदन दिएका छन्। तर कुटपिटमा संलग्न व्यक्तिहरूले उल्टै थापामाथि गालीब्यजती गरेको भन्दै प्रहरीमा निवेदन दिएका कारण प्रहरी नियन्त्रणमा पुगेका थिए।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतका अनुसार दिउँसैदेखि पत्रकार थापाको पछ्याइरहेका व्यक्तिहरूले योजनाबद्ध रूपमा आक्रमण गरेर नाटकीय ढंगले उल्टै पीडितलाई पक्राउ गराएको बताए। पछि महासंघको पहलमा जमानीमा छोडेर थापाको उपचार गराइएको उनले जानकारी दिए।

“समाचार लेखेकै कारण पत्रकारमाथि भएको आक्रमण दुःखद छ। राजनीतिक पहुँच प्रयोग गरेर दोषीलाई उन्मुक्ति दिन मिल्दैन। कानुनअनुसार कारबाही हुनुपर्छ,” अध्यक्ष रावतले भने।

यसैबीच, घटनाबारे बुझ्न वडा अध्यक्ष बुढाथोकीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर ९८५७८४४७१० उठेन।

जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख बाबुराम बस्नेतले दुवै पक्षले निवेदन दिएको कारण छलफलका लागि बोलाइएको बताए। प्रहरीका अनुसार पत्रकार थापा र आफूलाई पनि पीडित बताउने दिपेन्द्र विष्टले गालीब्यजतीको उजुरी दिएका छन्।

 

 

सल्यानमा मेयरका भाइ र वडा अध्यक्षद्वारा पत्रकार कुटपिट, उल्टै पीडित पक्राउ

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०

Leave a comment

Your email address will not be published. Required fields are marked *