जेनजी आन्दोलनपछि नेपाल–भारत जमुनाहा नाका अनिश्चितकालका लागि बन्द
बाँके ,२५ भदौ।
जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै भारतले नेपाल–भारत जमुनाहा सीमा नाका अनिश्चितकालका लागि बन्द गरेको छ। बुधबार बिहानैदेखि नाकामा कसैलाई पनि आवतजावत गर्न दिइएको छैन।
भारत रुपैडिहास्थित प्रहरी थानाका प्रमुख रमेशसिंह रावतका अनुसार बिरामी, एम्बुलेन्स तथा आपतकालीन अवस्थामा रहेका नेपाली मात्र भारत प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ। उनले भारतबाट नेपाल प्रवेश गर्ने नेपालीलाई समेत अवस्था हेरेर मात्र जाने अनुमति दिइएको जनाए। तर भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।
यसअघि मङ्गलबारदेखि नै भारतीय सुरक्षाकर्मीहरूले नाकामा कडाइ गरेका थिए। केन्द्रको आदेशपछि एसएसबी र प्रहरी टोलीले यात्रु तथा सवारीसाधन चेकजाँचलाई कडा बनाउँदै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए।
यता, नेपालतर्फ जेनजी विद्यार्थीहरूको आन्दोलन उग्र बन्दै गएको थियो। प्रदर्शनकारीहरूले मंगलबार दिउँसो जमुनाहास्थित प्रहरी चेकपोस्ट र भन्सार यात्रु शाखामा तोडफोड तथा आगजनी गरेपछि त्यहाँका सुरक्षाकर्मीहरू रातभरि हटेका थिए। तर बुधबार बिहान नेपाली सेना र सुरक्षाकर्मीहरू नाकामा पुगी सुरक्षा व्यवस्थामा खटिएपछि अवस्था सामान्य बन्न थालेको स्थानीयले बताएका छन्।
नेपाली सेनाले सुरक्षाको कमान्ड लिएसँगै अहिले नेपालगन्ज बजार र आसपासका क्षेत्रको अवस्था सामान्य बन्दै गएको जनाइएको छ।





