सुरक्षा र स्वतन्त्रता लोकतान्त्रिक शासनको महत्व हुन्ः मुख्यमन्त्री कँडेल


सुर्खेत । सुरक्षा र स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थामा उत्तिकै महत्वका विषय भएको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । कर्णाली प्रदेशका प्रहरी १० वटै जिल्लाका अधिकृतहरुको गोष्ठीमा बोल्दै मुख्यमन्त्री कँडेलले सुरक्षा बेगरको स्वतन्त्रता र स्वतन्त्रता बेगरको सुरक्षा आफैंमा अपूर्ण भएको बताएका हुन् ।

दृष्टिकोणले सुरक्षा संवेदनशीलतालाई ग्रहण गर्नुपर्ने र कुनै पनि रुपको आलोचना वा टिप्पणीले संस्थागत सुधारका लागि मार्गदर्शन नै गर्ने बताए । ‘त्यसका पनि सीमा हुन्छन् । परिधि हुन्छन् । दायरा हुन्छन्,’ उनले भने,‘त्यसलाई कुनै कोणबाट पनि उलंघन गर्ने प्रयास गरिन हुँदैन । राज्य कमजोर बनाएर कोही पनि बलियो हुन सक्दैन ।’

नागरिकको जीउ, धन र वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्नु र विना भेदभाव न्यायको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको मुख्यमन्त्री कँडेलले बताए । ‘फौजदारी न्याय प्रणालीका धेरै उद्देश्यहरुमध्ये अपराधको निष्पक्ष अनुसन्धान, तहकिकात, अभियोजन र स्वच्छ पुर्पक्ष गरी अपराधीलाई दण्ड दिनु र पीडितलाई न्याय प्रदान गर्नु हो,’ उनले भने,‘अपराधको अनुसन्धान र अभियोजन कानूनी विषय मात्र नभएर प्राविधिक र सामाजिक विषय पनि भएको हुनाले यसको लागि अपराध गर्नेले सजाय पाउँछ भन्ने विश्वसनीय वातावरणको सृजना राज्यले गर्नुपर्ने हुन्छ ।’

राज्यले कानून तर्जुमा गर्नु मात्र पयाप्त नभइ कानूनको प्रभावकारी कार्यान्वयन, विद्यमान कानूनी व्यवस्था र उपलब्ध स्रोत साधनले अपराधलाई सम्बोधन, अनुसन्धान, प्रक्रिया तथा प्रविधि बारेमा समय — समयमा अध्ययन र समिक्षा हुनुपर्ने अर्को महत्वपूर्ण पक्ष भएको मुख्यमन्त्री कँडेलले बताए । ‘नेपाल प्रहरीले आयोजना गरेको यस प्रदेशस्तरिय कार्यक्रमले अपराध अनुसन्धानमा भइरहेका कामहरुको समिक्षा गर्दे सहभागी प्रहरी अधिकृतहरुलाई अझ परिस्कृत ढंगले काम सम्पादनमा उत्प्रेरित गर्ने मैले विश्वास लिएको छु,’ उनले भने,‘यस बीचमा भएका संवैधानिक तथा कानूनी विकासक्रमले कतिपय पुराना मान्यता र प्रावधानहरुलाई परिर्वतन गर्दै समयानुकूल बनाउन नयाँ नयाँ कानूनी व्यवस्थाहरु गरिँदै लगिएको छ ।’

प्रहरी अधिकृतहरुको प्रदेशस्तरीय गोष्ठीले अपराध अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरि सुधारका क्षेत्रहरु पहिचान गर्दे अनुसन्धानमा रहेका कानूनी लगायत अन्य समस्याको पहिचान गरिसमाधान गर्न साझा धारणा विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *