जनचेतना प्राथमिक विद्यालय ‘नारायण भागीरथी सेवा सम्मान–२०८२’ बाट सम्मानित

सुर्खेत ,२१ मंसिर ।
नारायण भागीरथी सेवा समाज, मूलपानी, सुर्खेतले नारायण भागीरथी सेवा सम्मान २०८२ सानो सुर्खेत स्थित जनचेतना प्राथमिक विद्यालयलाई प्रदान गरेको छ । सम्मान कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ शिक्षासेवी कुलमान शाक्यले रु.२५ हजार नगदसहित सम्मानपत्र उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर बोहोरा तथा प्रधानाध्यापक चन्द्रा अर्याललाई हस्तान्तरण गर्दै भन्नु भयो – समाजसेवाको यो कार्यक्रम उदाहरणीय छ, सेवाकार्यलाई सबै धर्मले महत्त्व दिएको पाइन्छ र यस्ता कार्यलाई समाजमा विस्तार गर्न बृहत् समारोह आयोजनाका साथ विमर्श गरिनु पर्छ ।

उहाॅले सम्मानित विद्यालयका प्रतिभाशाली छात्र गणेश नेपाली र छात्रा सृष्टि कसेरालाई समाजका सचिव सुशील गिरीबाट प्राप्त रु.सात- सात सयका शैक्षिक सामग्री पनि प्रदान गर्दै उत्तंरोत्तर प्रगतिको कामना गर्नु भयो । सहर्ष सम्मान ग्रहण गर्दै बोहोरा र अर्यालले नारायण भागीरथी सेवा समाजप्रति धन्यवाद ज्ञापन गर्नु भयो र समाजबाट सम्मानस्वरूप प्राप्त रकमको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा समाजका संरक्षक प्रा.डा.जीवेन्द्र देव गिरीले पितामाताप्रति श्रद्धा प्रकट गर्न आयोजित यस कार्यक्रमको उद्देश्य सामाजिक जागरण र रूपान्तरण पनि हो भन्ने विचार व्यक्त गर्नु भयो । भेरी साहित्य समाज, सुर्खेतका अध्यक्ष थानेश्वर लामिछानेले नारायण भागीरथी सेवा समाजका कार्यबाट प्रेरित भईआफूहरूले गुर्भाकोटको तोरीबारीमा मातापिताको स्मृतिमा राम-सशीला स्मृति सेवासदन स्थापना गरी समाज सेवाका काम गरिरहेको जानकारी दिनु भयो ।
राष्ट्रिय कलाकार भीमबहादुर कार्कीले मातापिताको महत्ता दर्साउने गीत गायन गर्नु भएको उक्त समारोहमा कवि लक्ष्मण देव गिरीले नारायण भागीरथी र उहाॅका सन्तानको यरिचय गीतका माध्यमबाट प्रस्तुत गर्नु भयो । वडा सदस्य सन्ध्या परियारले कार्यक्रमबाट आफू प्रेरित र उत्साहित रहेको धारणा प्रस्तुत गर्दै वैचारिक दृढताका साथ अघि बढ्न सकेमा जीवन सफल हुने र विचारको सम्वर्द्धनमा यस प्रकारका कार्यक्रम उपयोगी हुने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा समाजका उपाध्यक्ष डिलाराम गिरी, जगदम्बा पुरस्कारबाट सम्मानित राष्ट्रिय प्रतिभा प्रेमदेव गिरी, वरिष्ठ साहित्यकार पृथ्वी बहादुर सिंह, वरिष्ठ राजनीतिकर्मी र समाजसेवी द्वय अमृत बहादुर बी.सी. र इद्र बहादुर के.सी., वडा अध्यक्ष ऋषि गिरी, वडा सदस्य मनोहर आचार्यलगायत विद्यालयका शिक्षक-शिक्षिका, मथ्यपश्चिमाञ्चल विश्वविद्यालय परिवारका सदस्यहरू , अभिभावक, विद्पार्थी, स्थानीय जन समुदाय र नारायण भागीरथी सेवा समाजका सदस्य र आफन्त जनको व्यापक उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा समाजकी सदस्य सङ्गीता योगी गिरीका तर्फबाट आफ्नो जन्मदिनका उपलक्ष्यमा उपलब्ध गराउन विद्यालयका हरेक विद्यार्थीलाई रु.१०० -१०० बराबरका सामग्री प्राप्त भएकामा सबै ६८ जना विद्यार्थीहरूलाई सो सामग्री थनि वितरण गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष गोपाल देव गिरीको अध्यक्षता र समाजका सदस्य अमर बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।







