कारागारको सुरक्षा व्यवस्थापनमा गम्भीर लापरवाही अझै समातिएनन् जेल ब्रेक गरेर भागेका केदी
ओम शाही
सुर्खेत, १६ कार्तिक ।
जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खोलेर भागेका आठ जना कैदी अझै समातिएका छैनन् । शुक्रबार राति कारागार भवनको सेफ्टी ट्याङकीतर्फको भागबाट सुरुङ खोलेर जबरजस्ती करणी र चोरी मुद्धामा कैद र पुर्पक्षका लागि थुनामा रहेका आठ जना भागेका थिए । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीले फरार कैदीबन्दीको खोजी कार्य व्यापक बनाइएपनि फेला पार्न नसकेको बताए । उनले भने, ‘भागेका कैदीबन्दीको खोजी कार्यलाई व्यापक बनाएका छौं । उनीहरु भागेर जान सक्ने र लुक्न सक्ने सम्भावित क्षेत्रमा उच्च निगरानी गरिरहेका छौं ।’ उनले फरार कैदीको खोजी कार्यका लागि अन्यत्र जिल्लाका प्रहरी कार्यालयहरुसँग समन्वय गरिरहेको समेत बताए । जघन्य अपराधमा संलग्न कैदीहरु २४ सैं घण्टा प्रहरीको सुरक्षा घेरामा रहने भवनमा सुरुङ खनेर भागेपछि डोल्पा प्रहरीमा खैलाबैला मच्चिएको छ । एक सय ५० जना अट्न सक्ने डोल्पा कारागारमा १७ कैदी थिए । त्यस दिन उनीहरुको सुरक्षाका लागि १५ जना प्रहरी खटिएका थिए । तर, चार मिटर लामो सुरुङ खनेर आठ जना कैदीबन्दी भागेको प्रहरीले विहान उज्यालो भइसकेपछि मात्रै पत्तो पायो । कारागारमा रहेका अन्य कैदीले समेत सुरुङ खनिएको सुइको सम्म पाएनन् । बिहान सुरक्षामा खटिएका प्रहरीले नियमित कैदीवन्दीको रखेदेख गर्नेक्रममा फरार कैदीहरु सुत्ने कोठासँग सटिएको सेफ्टी ट्यांकीतर्फबाट प्वाल पारेर भागिसकेका थिए । फरार भएका मध्ये पाँच जना जवरजस्ती करणी मुद्धामा कैदी जीवन बिताइरहेका थिए भने, तीन जना चोरी मुद्धामा पुर्पक्षका लागि थुनामा थिए । कारागारको भौतिक सुरक्षा र निगरानी २४ सैं घण्टा गरिन्छ । कारागारको आन्तरिक सुरक्षाका लागि कारागार प्रशासनका कर्मचारी र नेपाल प्रहरी तथा बाह्य सुरक्षाका लागि सशस्त्र प्रहरी बल वा नेपाल प्रहरी खटिएका हुन्छन् । उनीहरुलाई भार नपरोस भनेर विभिन्न सिफ्टमा ड्यूटी निर्धारण गरिएको हुन्छ । कैदीबन्दीहरूको दैनिक रूपमा (बिहान र बेलुका) हाजिरी वा गणना गरिन्छ । बिहान र बेलुका खाना खाए/नखाएको, सुते/नसुतेको लगायत कैदीबन्दीको क्रियाकलाप र अवस्थाका बारेमा पटक–पटक निगरानी गर्नुपर्ने हुन्छ । कारागारभित्र हतियार, लागुऔषध वा निषेधित वस्तुहरू नछिरून् भन्नका लागि नियमित र आकस्मिक कोठाहरूको तलासी (खानतलासी) लिइएको हुन्छ । साथै, कारागारका संवेदनशील भूभागहरूमा २४ संै घण्टा सीसीटीभी क्यामेराबाट निगरानी राखिन्छ । तर, सुरक्षाको यति बलियो संरचना हुँदा पनि एक रातमै भवनको पक्की संरचना फोडेर कैदी भागेपछि कारागारको सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ । भवनको पक्की संरचना फोड्न प्रयोग भएका वस्तुहरु कारागारभित्र कुन प्रयोजनका लागि राखिएका थिए वा बाहिरबाट प्रवेश गराइएका थिए, त्यो अनुसन्धानबाट खुल्ला । तर, प्रथम दृष्टिमा कारागार व्यवस्थापन र सुरक्षामा खटिएका प्रहरीको लापरवाहीले नै अपराधमा संलग्न भई सुधार गर्न राखिएकाहरु पुनः अर्को अपराधमा संलग्न भएका छन् । स्रोतका अनुसार पछिल्लो केही समययता कारागार कक्षको नियमित निरिक्षण भएको थिएन । यसैको मौका पारी फरार अभियूक्तहरुले जेल ब्रेक गर्ने योजना बनाएको हुनसक्छ ।
कारागारको सुरक्षित घेरा तोडेर भाग्नेहरुमा रुकुम पश्चिमको आठविस्कोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी–४ का २८ वर्षीय धन बुढा भन्ने हरी बहादुर बुढा छन् । उनीहरु सबै जबर्जस्ती करणी मुद्धामा कैद सजाय भोगिरहेका थिए । यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र रुकुम पश्चिमको आठविस्कोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी फरार छन् । उनीहरु चोरी मुद्धामा पुर्पक्षको लागि थुनुवामा थिए ।
छानविन समिति गठन
डोल्पा प्रहरीले सुरुङ खनेर भागेकाहरुको पहिचान सार्वजनिक गरेर खोजीमा सहयोग गर्न आग्रह गरेको छ । ‘शनिबार (१४ कार्तिक) कारागार कार्यालय डोल्पाबाट भागी फरार भएका कैदीबन्दी तथा थुनुवाहरुलाई देखेमा वा निजहरुको बारेमा कुनै पनि किसिमको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा यस कार्यालयको सम्पर्क नंं १००/०८७–५५००५६/९८५८३९०५८६ र ९८५८३०५५५५ मा सम्पर्क गरी सूचना दिन हुन सबैमा हार्दिक अनुरोध गरिन्छ,’ डोल्पा प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भनेको छ । यस्तै, कारागार खोलेर कैदी भागेको घटनाको अनुसन्धान गर्न डोल्पा प्रहरीले छानविन समितिसमेत गठन गरेको छ । डीएसपी गिरीका अनुसार प्रहरी नीरिक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् । समितिले कामसमेत थालिसकेको छ । कारागारको सुरक्षामा खटिएका प्रहरी र नभागेका कैदीसँग समितिले बयान लिने, सीसी टिभी फुटेज विश्लेषण गर्ने लगायतका काम जारी राखेको जनाइएको छ ।





