एमाले–नेकपा एकतामा ओलीको हतारो
काठमाडौं, १६ कार्तिक ।
एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो साता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास पुगे । मानभवनस्थित प्रचण्ड निवास पुगेर ओलीले प्रस्ताव गरे– पार्टी एकता गरौँ । प्रचण्डनिकट स्रोतका अनुसार ओलीले पार्टी एकताका लागि प्रचण्डलाई गरेको प्रस्ताव नयाँ भने होइन । यसबीचमा ओली र प्रचण्डबीच आधा दर्जनभन्दा बढी पटक भेट भएको छ । र, अधिकांश भेटमा ओली प्रचण्डनिवास पुगेका छन् । र, उनीको जोडबल एकतामै रहेको छ । ओलीले एकतामा जोड दिइरहेका बेला प्रचण्ड तत्काल एकता गर्ने वा नगर्ने दुविधामा देखिन्छन् । नेकपा स्रोतहरूको भनाइमा ओलीसँग सहकार्य गरेर जान नसकिने पुरानो तिक्तताका कारण प्रचण्ड तत्काल एकताभन्दा सहकार्यमा जोड दिइरहेका छन् ।
आउँदो स्थानीय तहको चुनावसम्म सहकार्य गर्ने प्रचण्डको लाइन रहेको छ । त्यसमा नेकपाभित्र चुनावअघि नै एकतामा जाँदा पुराना दल र कम्युनिस्टविरुद्धको स्थापित भाष्यमा बल पुग्ने मात्र होइन, चुनावी नतिजा नै कमजोर हुने बुझाइ रहेको छ । शिलापत्रसँगको कुराकानीमा नेकपाका एक नेताले अहिले नै एकता गर्नु प्रत्युत्पादक हुन्छ भन्ने बुझाइ देखिन्छ । त्यसमा एक हदसम्म प्रचण्ड पनि सहमत देखिएका छन् । नेकपाभित्र तीनवटा विषयले एकतामा गइहाल्न नहुने तर्क भइरहेको स्रोतको भनाइ छ । एक, जेन–जी विद्रोहको खलनायकको रूपमा ओली स्थापित भएका कारण चुनावमा त्यसलाई चिर्न सकस पर्नेछ । दुई, दुई कम्युनिस्ट पार्टी मिल्दा चुनावमा कम्युनिस्टविरोधी शक्तिलाई थप सजिलो हुनेछ । तीन, पुराना दलहरूविरुद्धको भाष्य चिर्न पनि सकस पर्नेछ ।
नेकपाका नेताहरूको बुझाइमा पछिल्ला दिनमा एमालेविरुद्धको भाष्य नागरिक तहमा निकै गडेको छ । जसलाई आउने चुनावमा चिर्न नसकिने देखिएको पनि उनीहरूको विश्लेषण छ । त्यसमाथि ओलीको बदनाम बन्दै गएको छवि मात्र होइन, पछिल्ला दिनमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणमा देखिएको अहम्ले पनि रुष्ट मतदाता बढेको विश्लेषण भइरहेको छ ।
त्यसो त, एमालेको वरिष्ठ नेतामा विद्या भण्डारीको आगमनले पनि उत्साह थपेको छैन । उल्टै एमालेको तल्लो तहका कार्यकर्ताहरूमा निराशा थपेको छ । ओलीको अहम्ले कार्यकर्तामा बढ्ता असुरक्षा हुन थालेको बुझाइ पनि नेकपाभित्र विश्लेषण भइरहेको छ । त्यसकारण, एमालेसँगको एकता तत्कालका लागि प्रत्युत्पादक हुने नेकपाका एकथरी नेताहरूको निष्कर्ष रहेको छ ।
नेकपाकाझैँ एकथरी एमाले नेताहरू पनि तत्काल एकता गर्न नहुने पक्षमा छन् । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेतााहरू एकताको पक्षमा छैनन् । नेतृत्व परितर्वनबिना मतदातामा उत्साह नथपिने बुझाइ उनीहरूमा छ । सोहीकारण नेकपासँग सहकार्य र एकताले एमाले बलियो नहुने भन्दै उनीहरू पछिल्ला ओलीका गतिविधिमा मौनजस्तै देखिएका छन् ।
ओलीसहित उपाध्यक्ष रामबहादुर थापा, सचिव महेश बस्नेतलगायतको टिम भने एकताको पक्षमा उभिएको छ । उनीहरूले एकता हुँदा अघिल्लो चुनावका एमालेका १५ लाख मतदाता र नेकपाका ९ लाख मतदाता मात्र सुरक्षित हुँदैनन्, मझदारका थप मतदाताहरू थपिने विश्लेषण गरिरहेका छन् । जसले गर्दा एउटा निर्णायक शक्ति बन्ने भन्दै कार्यकर्ता तहमा सन्देश प्रवाहित गरिरहेका छन् । एमाले स्रोतका अनुसार ओलीले अहिले दुईवटा कुराबाट प्रचण्डलाई सम्झाउने प्रयास गरिरहेका छन् । एक, अन्तर्राष्ट्रिय शक्ति केन्द्रका कारण अस्तित्वकै लागि मिल्नुपर्छ । दुई, राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनका लागि पनि एकता आवश्यक रहेको छ । त्यसो त, एकता गर्दा संसदको दोस्रो दल भइने र संसदीय दलको नेता हुने अवसर प्रचण्डले पाउने तर्क ओलीनिकटबाट भइरहेको छ ।
नेकपा स्रोतका अनुसार त्यसबाट प्रचण्डमा लोभ भने देखिएको छ । त्यसकारण पनि पछिल्ला दिनमा प्रचण्डले ओलीको विगतको धोकालाई बिर्सनुपर्ने तर्क पनि निकटसँग गर्न थालेका छन् । यद्यपि, ओलीलाई नेतृत्व मानेर जान नसकिने पक्षमा भने अहिलेसम्म प्रचण्ड उभिएकै छन् । उनले एमाले नेताहरूसँग पनि विद्या भण्डारीलाई अघि सार्न सकिने संकेत भने पटकपटक गरेका छन् ।
एमालेभित्र भने भण्डारीलाई अघि सार्ने पक्षमा ओली र पोखरेल दुवै समूह देखिएका छैनन् । भण्डारीको पक्षमा उभिन सक्ने ईश्वर पोखरेल समूह कमजोर रहेको छ अनि सुरेन्द्र पाण्डेलगायतका नेताहरू पार्टीबाहिर रहेका छन् । त्यसले गर्दा भण्डारीको बल पार्टीभित्र नपुगेको पनि स्रोतहरूको भनाइ छ । तर, एमालेभित्र एउटा पङ्क्ति भने ‘भण्डारीलाई अन्तरिमकालीन नेतृत्व’ को रूपमा लैजान सकिने पक्षमा रहेको छ । त्यसमा पोखरेलहरू पनि सहमत देखिन्छन् । तर, ओली भने उक्त रणनीतिमा पनि सहमत देखिएका छैनन् ।
त्यसैले, ओली केन्द्रीय कमिटीको बैठकपछि पार्टीभित्र आफ्नो विपक्षमा बढेको असन्तुष्टि र आक्रोशलाई मत्थर र विषयान्तर गर्ने रणनीतिमा सफल भइसकेका छन् । अहिले भने प्रचण्डसँग एकता गरेर शक्ति आर्जन गर्ने रणनीति लिइरहेका छन् । त्यसका लागि ओलीले निरन्तर प्रचण्डनिवास मात्र धाइरहेका छैनन्, अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग अनौपचारिक संवादहरू गर्ने प्रयास पनि गरिरहेका छन् । एमाले स्रोतका अनुसार ओलीले बिगारेको अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि तीव्र बहसहरू हुन थालेका छन् ।





