एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं, मंसिर २१
एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का खेलहरूमा प्रहार भएका चौकाका आधारमा २,००० भन्दा बढी शैक्षिक सामग्री वितरण हुने पक्का भएको छ। ‘क्रिकेटलाई कक्षाकोठासँग र प्रत्येक चौकालाई उज्ज्वल भविष्यसँग’ जोड्ने उद्देश्यले फाउन्डेसनले सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक किट प्रदान गर्दै आएको छ।
गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरु गरिएको यो प्रभावकारी सामाजिक पहलले देशभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निरन्तर सहयोग गरिरहेको छ। एनपीएल सिजन–२ का प्रत्येक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता अनुसार यस वर्ष पनि विद्यार्थीहरू लाभान्वित हुनेछन्।
मंसिर १८ गते बिहीबारसम्म ९० खेलाडीहरूले कूल ५१० चौका प्रहार गरेका छन्, जसअनुसार २,०४० शैक्षिक सामग्री वितरण सुनिश्चित भएको छ। चौका प्रहार गर्ने शीर्ष खेलाडीमा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौका प्रहार गर्दै १०८ किट सुनिश्चित गराएका छन्। लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ किट सुनिश्चित गरेका छन्। त्यस्तै, काठमाडौं गोर्खाजका बेन चार्ल्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी १७–१७ चौका प्रहार गर्दै ६८–६८ किट वितरण सुनिश्चित गर्ने शीर्ष तीनमा परेका छन्।
विद्यार्थीलाई प्रदान गरिने किटमा झोलासहित कापी, पेन्सिल, इरेजर, शार्पनरलगायत पठन–पाठनका लागि आवश्यक सामग्री रहनेछन्। फाउन्डेसनको विश्वास छ—यी सामग्रीहरूले विद्यार्थीसँग सम्बन्धित आधारभूत अभाव घटाउने र उनीहरूको सिकाइमा सकारात्मक योगदान पुर्याउनेछन्।
“बिहीबारसम्मका खेलहरूमा चौका प्रहार गर्दै यस सामाजिक पहलमा साथ दिने सबै खेलाडीलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं। क्रिकेटप्रतिको उत्साहलाई सामाजिक योगदानसँग जोड्ने हाम्रो प्रयास सफल बन्दै गएको छ। बाँकी खेलहरू अझ रोमाञ्चक हुने विश्वास छ, जसले खेल मात्र होइन, शिक्षा क्षेत्रमा पनि योगदान बढाउनेछ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन्।
गत वर्ष एनपीएलको पहिलो सिजनमा ६५३ चौकाबाट २,६१२ शैक्षिक सामग्री वितरणको प्रतिबद्धतासहित, कुल ९,००० भन्दा बढी सामग्री विद्यार्थीहरूसम्म पुर्याइएको थियो। यसले हजारौँ विद्यार्थीलाई आवश्यक पठन–पाठन सामग्री प्राप्त गर्न सहयोग पुगेको थियो।
यस वर्ष पनि शैक्षिक किटको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा सञ्चालन गरिने फाउन्डेसनले जनाएको छ।






