विद्यालय तहमै वित्तीय ज्ञान : गरिमा विकास बैंकद्वारा बाँकेमा बालज्योतिका ८५ विद्यार्थीलाई साक्षरता तालिम

बाँके,२१ साउन ।
वित्तीय साक्षरता आजको युगमा हरेक व्यक्तिको जीवनमा आवश्यक विषय बनेको सन्देशसहित गरिमा विकास बैंक लिमिटेडद्वारा श्री बाल ज्योती सेकेन्डरी स्कुल, कोहलपुर–११, बाँकेमा एकदिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरिएको छ।

कक्षा १० मा अध्ययनरत छात्रछात्रा गरी ८५ जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा बैंकिङ प्रणाली, बचतको महत्व, ऋणको सदुपयोग र दुरुपयोग, वित्तीय निर्णय क्षमता, सेयर बजारको आधारभूत जानकारी तथा डिजिटल वित्तीय प्रणाली जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गरिमा विकास बैंक, चप्परगौडी शाखाका शाखा प्रबन्धक श्री विष्णु पौडेलले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, “हामीले भोगिरहेका धेरै आर्थिक समस्याको मूल कारण वित्तीय अज्ञानता हो। त्यसैले विद्यालय तहबाटै यस्ता साक्षरता कार्यक्रम आवश्यक छन्, जसले भविष्यको लागि जिम्मेवार नागरिक तयार गर्छ।”
उनले थपे, “बचतको संस्कार बाल्यकालबाटै सुरु हुनुपर्छ। यसले मात्र व्यक्ति र समाजलाई आर्थिक रूपमा सबल बनाउँछ।”

कार्यक्रम विद्यालयका सल्लाहकार श्री मधुसुधन न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन विद्यालयका मावि इन्चार्ज श्री प्रकाश मरासिनीले गरेका थिए। तालिम सहजीकरण गरिमा विकास बैंकका कर्मचारी श्रीमती चन्द्रा कुमारी गुरुङ र श्री हेमन्त लम्सालले गरेका थिए।

तालिममा सहभागी विद्यार्थीहरूले आर्थिक सुरक्षा, दैनिक खर्चको व्यवस्थापन, ऋणको जिम्मेवार प्रयोग र भविष्यमा लगानी गर्ने आधारभूत सीपहरू सिक्ने अवसर पाएका थिए। बैंकिङ सेवाहरू, खाता खोल्ने प्रक्रिया र डिजिटल कारोबारबारे व्यावहारिक जानकारी दिइएको थियो, जसले उनीहरूलाई वित्तीय निर्णय लिने क्षमतामा थप दृढ बनाउने अपेक्षा गरिएको छ।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक शिक्षा र आत्मनिर्भर भविष्य निर्माणको आधार तयार गर्छन्। सहभागीहरूले तालिमबाट सिकेको ज्ञान आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले गरिमा विकास बैंकप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता उपयोगी तालिमको निरन्तरताको अपेक्षा व्यक्त गरेको थियो।

 

विद्यालय तहमै वित्तीय ज्ञान : गरिमा विकास बैंकद्वारा बाँकेमा बालज्योतिका ८५ विद्यार्थीलाई साक्षरता तालिम

आत्महत्या दुरुत्साहनमा श्रीमान्‌सहित सासूससुरा पक्राउ

विद्यालय तहमै वित्तीय ज्ञान : गरिमा विकास बैंकद्वारा बाँकेमा बालज्योतिका ८५ विद्यार्थीलाई साक्षरता तालिम

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

Leave a comment

Your email address will not be published. Required fields are marked *